चेपाङ गाउँमा सुविधायुक्त पुस्तकालय सञ्चालन


रत्ननगर ९चितवन०, ८ कात्तिक । चितवनको अति विकट क्षेत्र लोथर गाविस–९ मा रहेको चेपाङ गाउँ कान्दामा बालबालिकाका लागि सुविधायुक्त पुस्तकालय सञ्चालनमा ल्याइएको छ ।

नेपाल जर्नी युएसएको रु तीन लाख ५० हजार आर्थिक सहयोग र नेपाल लाइब्रेरी फाउन्डेसनकोे प्राविधिक सहयोगमा पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालय निर्माण भएपछि स्थानीय कान्देश्वरी प्राविमा अध्ययनरत विपन्न चेपाङ विद्यार्थीको शैक्षिक विकासमा ठूलो सहयोग पुग्ने स्थानीयवासीले बताएका छन् । विद्यालयमा पढ्ने एक सय २३ विद्यार्थी बसोबास रहेको छात्रावासमा पुस्तकालय सञ्चालन भएको हो ।

पुस्तकालयले आफ्ना बालबालिकाको शैक्षिक विकासका साथै अक्षर चिन्ने अभिभावकमा समेत पढ्ने बानीको विकास हुने स्थानीयवासी सीताबहादुर प्रजाले बताउनुभयो । पुस्तकालयमा खेलौनादेखि विभिन्न चित्र सहितका कथा, कविता र अङ्ग्रेजी तथा नेपाली किताब रहेका छन् ।

पुस्तकालयले शिक्षकलाई पनि विद्यार्थी मैत्री शिक्षण सिकाइ क्रियाकलापमा सहयोग पु¥याउने विद्यालयका प्रधानाध्यापक बालकृष्णले थपलियाले बताउनुभयो ।

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य तथा डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधि सोमनाथ सापकोटाले पुस्तकालयले चेपाङ बालबालिकाको चारित्रिक विकासका साथै नयाँ खोजीमा लाग्ने बानीको विकास गर्ने बताउनुभयो । उक्त क्षेत्रमा अहिले लक्ष्मी प्रतिष्ठानले बालबालिकाको रेखदेखि गरी पठनपाठन गराउँदै आएको छ । रासस

यसमा तपाइको मत

अन्य समाचार