यातायात व्यवस्था अनुगमन गर्न समिति


बैतडी, ४ कात्तिक । जिल्ला यातायात व्यवस्थापन तदर्थ समिति बैतडीको बैठक बसी यातायात व्यवस्थापनका लागि भएका निर्णय कार्यान्वयनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मङ्गलबार अनुगमन समिति गठन गरिएको छ ।

समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रतिनिधि, दशरथचन्द नगरपालिकाका प्रतिनिधि, पत्रकार महासङ्घका प्रतिनिधि, महाकाली, पवनदूत तथा उग्रतारा यातायात समितिका प्रतिनिधि सदस्य रहनेछन् ।

अनुगमन समितिले कार्यतालिका बनाएर वा आकस्मिक रुपमा पनि यातायात व्यवस्थापन तदर्थ समितिले गरेका निर्णय कार्यान्वयन भए÷नभएका बारेमा अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जानकारी दिनुभयो ।

साथै, अस्थायी रुट परमिटका लागि सिफारिस गरिएका सडकमा सवारीसाधन सञ्चालन गर्नेलाई अस्थायी रुट परमिट लिनका लागि आग्रह गरिएको उहाँले बताउनुभयो । जिल्ला यातायात व्यवस्थापन तदर्थ समितिले यसअघि जिल्लाका १० वटा कच्ची सडकमा अस्थायी रुट परमिटका लागि महाकाली यातायात व्यवस्था कार्यालय महेन्द्रनगरलाई सिफारिस गरेको छ ।

अस्थायी रुट परमिटका लागि सिफारिस गरिएका सडकमा बित्थड–सुइलेक–दहताल, ढोल्यामोड–श्रीभावर–हाट, दुदिलाखान–गाँजरी, बिप्याकटाल–ढुंगाड, पाटन–मेलौली, देहीमाडौँ–गिरेगडा र सदरमुकाम–सेरा रहेका छन् ।

यस्तै, अस्थायी रुट परमिटका लागि सिल्लेगडा–कटौजपानी, अनारखोली–कैलपाल, गोकुलेश्वर–गणन्ना सडकलाई पनि सिफारिस गरिएको प्रजिअ चौधरीले जानकारी दिनुभयो । यी सडकमा सवारीसाधन सञ्चालन गर्न चाहनेले महाकाली यातायात व्यवस्था कार्यालयबाट अस्थायी रुट परमिट लिनुपर्ने उहाँले बताउनुभयो । रासस

यसमा तपाइको मत

अन्य समाचार