लोकमानको म्याद तामेली रोक्न सादा पोसाकमा प्रहरी


कात्तिक ४, काठमाडौं –अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको म्याद तामेली रोक्न सादा पोसाकमा प्रहरी परिचालन भएको खुलासा भएको छ । म्याद तामेली रोक्न प्रयास गर्ने समूहमाथि सर्वोच्च अदालतको प्रारम्भिक अनुसन्धानका क्रममा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट प्रहरी सहायक निरीक्षक (सई) नकुलराज गौतम नेतृत्वको टोली कार्कीको बानेश्वरस्थित घरमा परिचालित भएको हो ।

सर्वोच्चले सम्भवत: बिहीबार अबेरसम्ममा तयार पार्ने प्रतिवेदनमा गौतमलगायत म्याद तामेलीमा अवरोध गर्ने समूहका अन्य सदस्यहरूको विवरण राखी उनीहरूविरुद्ध अदालतको अपहेलनाको कारबाही अघि बढाउने प्रक्रिया सुरु गर्ने जानकारी स्रोतले दिएको छ । ‘तामेलीमा अवरोध गर्नेहरूमाथि अपहेलनाको कारबाही अघि बढ्नेछ,’ सर्वोच्च प्रशासन स्रोतले भन्यो, ‘तामेलीमा अवरोध गर्ने को/को हुन् भन्ने महत्त्वको विषय होइन, तर सार्वजनिक पदमा छन् भने झनै आपत्तिजनक विषय हो ।’

स्रोतबाट कान्तिपुरलाई प्राप्त भिडियो रेकर्डमा म्याद तामेलीमा अवरोध गर्ने भीडकै बीचमा रातो टिसर्ट लगाएका गौतम देखिन्छन् । केही बेरमा उनी छेउतिर लागेर फोनबाट अन्यत्र सम्पर्क गरिरहेको देख्न सकिन्छ । विभिन्न संवाददाताहरूले फोटो र भिडियो खिच्न थालेपछि भने भीडको अघिल्तिर रहेका व्यक्तिको शरीरको पछाडि उनले अनुहार लुकाएका थिए ।

सर्वोच्च स्रोतका अनुसार म्याद तामेलीमा अवरोध गर्नेमा कृषि विकास बैंकका अध्यक्ष एवं पूर्वकानुन सचिव प्रमोद कार्की, लोकमानका कान्छा ज्वाइँ प्रवल थापा एवं काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा नागरिक मञ्चका अध्यक्षलगायत छन् । उनीहरूको पहिचानपछि सर्वोच्च प्रशासनबाट खटिएको तामेलदारको टोलीको प्रतिवेदन तथा टिप्पणीका आधारमा इजलासमा मिसिल पेस हुनेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

यसमा तपाइको मत

अन्य समाचार