नदीनालाको अध्ययनका लागि टोली रोल्पामा


लिबाङ (रोल्पा), २ मङ्सिर । रोल्पाको जलजला क्षेत्रदेखि भारतको गोरखपुरसम्म बग्ने सबै नदीनालाको अध्ययनका लागि एक टोली बुधबार रोल्पा आइपुगेको छ ।

नेपाल वाटर कन्जरभेसन फाउन्डेसन प्राज्ञिक अनुसन्धानका लागि नेपाल पानी नीति सदुपयोग फाउन्डेसन र गोरखपुर वातावरणीय कार्य समूह, उत्तरप्रदेश, भारतका विज्ञ सम्मिलित समूह रोल्पामा आइपुगेको हो । यसरी अध्ययनका लागि आएको टोलीले राप्ती जलाधार क्षेत्रको पानीको अधिकतम उपयोगसम्बन्धी विभिन्न पक्षको अध्ययन गर्ने बुझिएको छ । यसका लागि नेपाल सरकारका पूर्व सिँचाइमन्त्री दीपक ज्ञवाली तथा पूर्वसचिव द्वारिकानाथ ढुङ्गेलको समेत उपस्थिति थियो ।

राप्ती नदीको पानीको उपभोग सम्बन्धमा टोलीले विविध पक्षमा छलफल कार्यक्रम बुधबार सम्पन्न गरेको छ । छलफलमा विज्ञहरुको टोलीसहित जिल्लाका विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवम् प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ, जिल्लाका किसान, खानेपानी तथा सिँचाइ उपभोक्ता समूह, ज्येष्ठ नागरिक, बौद्धिक समूहका व्यक्तित्वको उपस्थिति थियो ।

यसरी सम्पन्न छलफल तथा अध्ययन अनुसन्धानपश्चात उक्त विज्ञको टोलीले रोल्पा जिल्लाको जलजला क्षेत्रदेखि रोल्पा, प्यूठान, दाङ, बाँके हँुदै भारतको गोरखपुरसम्म बग्ने सबै नदीनालाको अध्ययन गरेर प्रतिवेदन नेपाल सरकारमा बुझाउने जानकारी दिएको कार्यक्रमका स्थानीय सहजकर्ता दामु मर्सिफुलले बताउनुभयो । रासस

यसमा तपाइको मत

अन्य समाचार