फूटबल च्यामियन हरुको प्रोफाइल


foot-bal-player

काठमाडौं, मंसिर २- नेपाली फुटबल टोलीले मलेसियामा आयोजना भएको एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउलाई १–० ले पराजित गर्दै ट्रफी चुमेको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले योसहित लगातार तेस्रोपटक उपाधि उचाल्यो। देशको जितमा योगदान दिने खेलाडीबारे खेलकुद ब्युरोले तयार पारेको खेलाडीको प्रोफाइलस्

किरण कुमार लिम्बू (गोलरक्षक)
नेपालका नम्बर एक गोलरक्षक किरण कुमार लिम्बूले एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा सनसनी मच्चाउँदै लाओसका दुई खेलाडीको पेनाल्टी रोकेका थिए। लिम्बू त्यही असाधारण प्रदर्शनका कारण नेपाल पहिलोपटक एएफसीले आयोजना गरेको प्रतियोगिताको फाइनलमा पुग्यो। सन् २००८मा राष्ट्रिय टोलीबाट कम्बोडियाविरुद्ध डेब्यु गरेका लिम्बूले अहिलेसम्म २९ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । लामो समय थ्रीस्टारमा आबद्ध रहेका किरण अहिले मनाङ मस्र्याङ्दी क्लबमा छन्। एन्फा एकेडेमीका उत्पादक लिम्बूले क्लबस्तरीय करिअरको सुरुवात मच्छिन्द्र क्लबबाट गरेका थिए।

विराज महर्जन (कप्तान, डिफेन्डर)
सिनियर टोलीको जिम्मेवारी विराज महर्जनको काँधमा आएपछि नेपालले निरन्तर रूपमा अन्तर्राष्ट्रिय सफलता प्राप्त गरिरहेको छ। उनकै कप्तानीमा नेपालले गत वर्ष बंगलादेशमा भएको बंगबन्धु गोल्डकप जित्दै २२ वर्ष लामो उपाधि खडेरी नेपालले अन्त्य गरेको थियो। त्यसपछि विराजले नेपाली समर्थकलाई थप खुसियाली दिलाउने क्रममा १२औँ सागअन्तर्गत फुटबलमा स्वर्ण दिलाए। सन् २००८ मा विराजले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए। एन्फा ब्याजकै रूपमा चिनिने विराजले सुरुवातदेखि नै राष्ट्रिय लिग च्याम्पियन थ्री स्टारमा आठ वर्ष आबद्ध भए। गत वर्ष मात्र उनी मनाङ मस्र्याङ्दी क्लबमा आबद्ध भएका थिए। विराजले घरेलु फुटबल प्रतियोगितामा ११ गोल गरेका छन्। नेपाली फुटबलमा उनी आक्रमक डिफेन्डरका रूपमा चिनिन्छन्।

रविन श्रेष्ठ (डिफेन्डर)
रविन श्रेष्ठ नेपाली राष्ट्रिय टोलीका निकै भरपर्दा डिफेन्डर हुन्। सन् २००८ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका रविन पनि एन्फा एकेडेमीकै खेलाडी हुन्। सन् २००८ मा एन्फा कोर्स सक्दै उनी संकटा क्लबसँग आबद्ध भए। त्यसपछि उनी नेपाल पुलिसमा गए। पुलिसबाट निरन्तर खेलिरहेका रविनले अहिलेसम्म क्लबस्तरीय खेलमा २३ गोल गरेका छन्। रविन २०१३ को साफ च्याम्पियनसिपमा प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए।

अनन्त तामाङ (डिफेन्डर)
६ फिट अग्ला अनन्त तामाङ नेपाली टोलीका भरपर्दा डिफेन्डर हुन्। १८ वर्षीय अनन्तले दुई वर्षअघि राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन्। २०६७ सालमा यु–१४ टोलीमा छनोट भएपछि अनन्तले निरन्तर राष्ट्रिय टोलीबाट खेलिरहेका छन्। स्थायी घर झापाका अनन्त एन्फा एकेडेमीका उत्पादन हुन्। मलेसियामा सम्पन्न सोलिडारीटी कपमा अनन्तको भूमिका महत्वपूर्ण रह्यो। उनले लाओसविरुद्धको सेमिफाइनलमा गोल गरेका थिए। अनन्तले बंगबन्धु र १२औं सागअन्तर्गत फुटबलतर्फको उपाधि जित्दा नेपाली टोलीका महत्वपूर्ण सदस्य थिए। अनन्तले गत वर्षको लिग सुदूरपश्चिमाञ्चलबाट खेलेका थिए।

आदित्य चौधरी (डिफेन्डर)
आदित्य चौधरी नेपाली डिफेन्स लाइनका खम्बा हुन्। २० वर्षीय आदित्यले सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। फिलिपिन्सको खेलमा भोला सिलवाललाई स्थानन्तरण गर्दै उनले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। एन्फा एकेडेमीका उत्पादन आदित्यले यु–१७ टोलीबाट उत्कृष्ट प्रदर्शन गरेपछि उनी थ्रीस्टार क्लबमा आबद्ध भएका थिए। एक सिजन नेपाल एपिएफ क्लबबाट खेलेपछि आदित्य फेरि थ्रीस्टार क्लबमा फर्किएका छन्। गत वर्ष नेपालले बंगबन्धु गोल्डकप र साग फुटबलको उपाधि जित्दा आदित्य नेपाली टोलीका महत्वपूर्ण सदस्य थिए। सोलिडारिटी कपमा पनि आदित्यले उत्कृष्ट प्रदर्शन गर्दा नेपाल च्याम्पियन बन्यो।

विक्रम लामा (मिडफिल्डर)
२७ वर्षीय मिडफिल्डर विक्रम लामा नेपाली टोलीका मिडफिल्डर हुन्। थ्रीस्टार क्लबबाट व्यावसायिक फुटबल खेल्ने विक्रमले तीन वर्षअघि राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। विक्रम ट्याकल गर्न र छिटो पास दिन माहिर मानिन्छन्। ललितपुरका स्थायी बासिन्दा विक्रमले एएफसी सोलिडारी कपमा नेपाललाई च्याम्पियन बनाउने क्रममा केन्द्रीय प्रदर्शन गरे। गत सिजन थ्रीस्टार क्लबले लिग जित्दा विक्रमले सबै खेलमा पूरा समय खेलेका थिए। गत वर्ष नेपालले बंगबन्धु र साग फुटबलको उपाधि जित्दा विक्रम एक महत्वपूर्ण सदस्य थिए। विक्रमले राष्ट्रिय टोलीका लागि १६ क्याप जितेका छन्।

सुजल श्रेष्ठ (मिडफिल्डर)
नेपालका उदीयमान मिडफिल्डर सुजल श्रेष्ठले राष्ट्रिय टोलीमा स्थान बलियो बनाइसकेका छन्। निरन्तर रूपमा उनले आफ्नो प्रदर्शन र फिटनेस माथिल्लो स्तरमा पु¥याएका छन्। यसैको प्रतिफल हो, सुजलले एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउविरुद्ध निर्णयक एक मात्र विजयी गोल गर्न सफल भए। सन् २०११ मा पोखरामा सम्पन्न भुटानविरुद्धको मैत्रीपूर्ण खेलमा उनले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। त्यसयता उनले पछाडि फर्केर हेर्नुपरेको छैन। सुजलले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल इस्ट टिमोरविरुद्ध विश्वकप छनोटमा गरेका थिए। ५ फिट ११ इन्च अग्ला सुजलले सन् २०११ मा मनाङ मस्र्याङ्दी क्लबबाट क्लबस्तरीय करिअर सुरु गरेका थिए। हाल उनी भुटानको भुटान क्लियरिङ क्लबमा सन् २०१५ देखि खेलिरहेका छन्। सन् २००६ मा एन्फा एकेडेमीको कोर्स पूरा गरेपछि उनी संकटा क्लबसँग आबद्ध भए।

अञ्जन बिष्ट (मिडफिल्डर)
अञ्जन बिष्ट सोलिडारिटी कपमा सुरुवाती खेलमा घाइते हुँदा मैदान उत्रिन पाएनन्। सेमिफाइनदेखि फर्ममा फर्किएका अञ्जन विगत दुई वर्षदेखि राष्ट्रिय टोलीका नियमित सदस्य हुन् । हेटौडा घर भएका अञ्जनले सन् २०१४ मा फिलिपिन्सविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। गत वर्ष भारतमा सम्पन्न साफ फुटबलमा राम्रो छाप छाडेपछि उनी राष्ट्रिय टोलीको नियमित सदस्य बने। नेपालले बंगबन्धु गोल्डकपको उपाधि जित्ने क्रममा अञ्जनले बहराइनविरुद्ध एक गोल गरेका थिए भने गोलका लागि दुईवटा पास उपलब्ध गराए। अञ्जन हाल नेपाल एपिएफ क्लबबाट व्यावसायिक फुटबल खेल्छन्।

विमल घर्तीमगर (स्ट्राइकर)
नेपाली टोलीका युवा फरवार्ड हुन् विमल घर्तीमगर। एन्फा एकेडेमीका उत्पादन विमलले सन् २०१३ मा नेपालमा आयोजना भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध बराबरी गोल फर्काउँदै सनसनी मच्चाए। १५ वर्षकै उमेरमा गोल गर्दै विमल राष्ट्रिय टोली तथा साफ च्याम्पियनसिपमा गोल गर्ने कान्छा खेलाडी बने। नवलपरासी स्थायी घर भएका विमल कम उमेरमा गोल गर्ने विश्वकै छैटौँ खेलाडी हुन्। सन् २०१३ मा १४ वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यु गरेका विमलले राष्ट्रिय टोलीका लागि ५ गोल गरिसकेका छन्। विगत दुई वर्षको बीचमा विमलले नेदरल्यान्ड र बेल्जियमका विभिन्न क्लबबाट ट्रायलसमेत दिइसकेका छन्। विमलले सोलिडारिटी कपमा ब्रुनाइ र लाओसविरुद्ध गोल गरे। हाल विमल थ्रीस्टार क्लबमा आबद्ध छन्।

नवयुग श्रेष्ठ (स्ट्राइकर)
नवयुग श्रेष्ठ नेपाली फुटबलमा उदाएको एक वर्ष पनि पूरा भएको छैन। ५ फिट ९ इन्च अग्ला नवयुग नेपाली फरवार्डमध्ये गोल गर्ने उत्कृष्ट शैली भएका खेलाडी मानिन्छन्। त्रिभुवन आर्मी क्लबका फरवार्ड नवयुगले गत वर्ष नेपालले बंगबन्धुु गोल्डकप र साग फुटबलको उपाधि जित्दा सनसनीपूर्ण प्रदर्शन गरे। इलाम घर भएका २६ वर्षीय नवयुगले बंगबन्धुु गोल्डमा र साग फुटबलमा गरी तीन ह्याट्रिक गरे। एक महिनाको बीचमा तीनवटा ह्याट्रिक गरेका नवयुगले सोलिडारिटी कपमा ब्रुनाईविरुद्ध गोल गरेका थिए। राष्ट्रिय टोलीबाट १२ अन्तर्राष्ट्रिय खेल खेलेका नवयुगले अहिलेसम्म १२ गोल नै गरेका छन् ।

भरत खवास (स्ट्राइकर)
एन्फाले उत्पादन गरेको खेलाडीमध्ये भरत खवास अब्बल दर्जाका मानिन्छन्। सन् २०११ मा विश्वकप छनोटअन्तर्गत जोर्डनविरुद्ध बराबरी गोल फर्काएपछि खवासको चर्चा चुलियो। त्यसयता खवासले आफूलाई राष्ट्रिय टोलीमा स्थापित गर्न सकेका थिएनन्। सन् २००८ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका स्ट्राइकर खवासले अहिलेसम्म ९ अन्तर्राष्ट्रिय गोल गरेका छन्। सोलिडारिटी कपअन्तर्गत समूह चरणमा उनले ब्रुनाईविरुद्ध एक गोल गरेका थिए। खवासले करिअरमा अहिलेसम्म दुई क्लब मात्र परिवर्तन गरेका छन्। सन् २००६ मा फ्रेन्ड्स क्लबमा आबद्ध भएका खवास अहिले नेपाली सेनाकै पहिलो रोजाइका स्ट्राइकरका रूपमा स्थापित भएका छन्। सन् २०१२ मा नेपाल पुलिस क्लबसँग सम्बन्ध बिग्रिएपछि उनलाई सेनाले भि¥याएको हो।

ग्योतोकु कोजी (प्रशिक्षक)
एन्फाले ग्योतोकु कोजीलाई सिनियर टोलीको प्रशिक्षक बनाउँदा सबैले आश्चर्य मानेका थिए। त्यसवेलासम्म कोजी ‘हाइप्रोफाइल’ प्रशिक्षक नभएको टिप्पणी गरिएको थियो। तर, कोजीले आफू कुन स्तरको प्रशिक्षक हो भन्ने एएफसी सोलिडारिटी कपमा प्रमाणित गरेका छन्। आधिकारिक रूपमा पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाली टोलीलाई प्रशिक्षण गर्दै उनले एएफसीले आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय उपाधिसमेत नेपाललाई दिएका छन्। ५१ वर्षीय कोजीसँग भुटानको राष्ट्रिय टोली सम्हालेको अनुभव छ। उनले १९८८ मा वेर्डर ब्रेम्यानबाट क्लबस्तरीय करिअर सुरु गरेका थिए। आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ।

यसमा तपाइको मत

अन्य समाचार