यसरी बने डा. भोला रिजाल स्त्रीरोग विशेषज्ञ


बच्चा जन्मन सकेको थिएन । भित्र पानी फोको फुटेको थियो । उनी मर्ने–बाँच्ने टुंगो थिएन । व्यथाले छटपटाइरहेकी थिइन्, ज्वरो एक सय चार डिग्री थियो । बल्लबल्ल विराटनगर पुर्याइयो । त्यतिबेला उनी छटपटाएको मलाई त सहन गाह्रो भइरहेको थियो, उनलाई कस्तो भयो होला ?’ भोलाले आफ्नी श्रीमतीको प्रसवपीडा महसुस गरेको त्यो समय सम्झिए, जुन पीडादायी समयले उनलाई स्त्रीरोग विशेषज्ञ बन्ने शक्ति दिएको थियो ।

डा. भोला रिजाल, वरिष्ठ स्त्रीरोग विशेषज्ञ, जसले कैयौं आमा र बच्चाका ज्यान जोगाए । स्त्रीरोग विशेषज्ञको यो भव्य परिचयसँगै भोलाको ख्यातिको अर्को पाटो पनि छ, कवि तथा गीतकार । उनका झन्डै दुई सय गीत रेकर्ड छन् । २५–३० वटा चलचित्रमा पनि उनले गीत लेखेका छन् ।

उनको यो लोभलाग्दो सफलताको पछाडि कसको हात होला ? जवाफमा धेरै कुरा आउलान् । तर, एउटा नाम छुटाइयो भने अन्याय नै हुन्छ, त्यो नाम हो— सरला अर्थात् भोलाको जीवनको आधा पाटो । झन्डै महिना दिनअघि जीवन संगिनीबारे कुरा गर्न भोलाले नारायणगोपाल चोकनजिकै बोलाए, जहाँ उनको माहिलो छोराको नाममा घर छ । घरमा पुग्दा भोला र सरला दुई जोडी चखेवाजस्तै सँगै थिए ।
‘दुवै जनासँग कुरा गर्ने हो कि ? मेरो मात्रै ?’ भोलाले सोधे ।

‘होइन, तपाईंले आफ्नी जीवनसंगिनीलाई जोडेर आफ्नो कथा भन्ने हो ।’

‘श्रीमतीलाई हामीले हाम्रो सभ्यतामा अर्धांगिनी पनि भन्छौँ । सृष्टिको सञ्चालन गर्न वा जीवनको रथलाई डोर्याउने दुई पांग्रा हुन्, श्रीमान–श्रीमती,’ भोलाले श्रीमतीको परिभाषा दार्शनिक शैलीमा दिए, ‘भौतिक किसिमले मात्रै होइन, आध्यात्मिक र भावनात्मक रुपमा पनि श्रीमती आधा अंग हुन् ।’

त्यो रिजाल खान्दान

छोरीको चाहना गर्दागर्दै भोलाका हजुरबुवाका आठ भाइ छोरा भए । तर, छोरी जन्माउने उनको रहर पूरा भएन ।जेठा रुद्रप्रसाद हुन् । वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाल उनैका छोरा हुन् । भोलाका बुवा साइँला हुन् । ‘हजुरबुवाले छोरी जन्मियोस् भनेर मेरो बुवाको नाम जननीप्रसाद राख्नुभयो । फेरि पनि छोरा नै जन्मिए, नाम सरस्वतीप्रसाद राख्नुभयो । फेरि पनि छोरा नै भए, नाम राधाप्रसाद राख्नुभयो । यसरी नै महाप्रसाद, रमाप्रसाद, लक्ष्मीप्रसाद नाम राख्नुभयो,’ भोला भन्छन्, ‘मेरी हजुरआमाले ११ छोरा जन्माउनुभयो रे, छोरीको रहरमा, तीनजना हुर्केनन् ।’

आठ भाइ छोराले विभिन्न व्यवसाय गर्थे । भोलाका हजुरबुवाको जमिन प्रशस्त थियो, कति जग्गामा अर्काले खेती गर्थे, अधियाँमा । उब्जनी बेच्न पुग्थ्यो । कुनै भाइले खेतीपाती हेर्थे । कुनै भाइले जुटको व्यवसाय हेर्थे । इटहरीमा तेल मिल, काठ चिर्ने मिल पनि थियो । उनको पुख्र्यौली घर धनकुटा सिबुवा हो । उनको परिवार बसाइँ सरेर धरान आयो । विराटनगर, इटहरीमा जग्गा–जमिन थियो । रिजाल खान्दान भनेपछि गाउँ–समाजले सम्मानित नजरले हेथ्र्यो । भोलाका हजुरबुवा समाजमा सम्मानित हुनुको अर्को कारण थियो, उनको अध्ययन र विद्वता ।

भोला भन्छन्, ‘मेरो हजुरबुवाका संस्कृतभाषाको ज्ञाता नै हुनुहुन्थ्यो । उहाँले वेद र शास्त्रहरुको गहिरो अध्ययन गर्नुभएको थियो । उहाँ समाजमा गन्यमान्य हुनुहुन्थ्यो ।’

बिहेको कथा

भोला र सरलाको बिहे निकै सानै उमेर भएको हो । भोलाका हजुरबुवा दुर्गालाल रिजालले नातिको बिहे हेरेर काशीवास जाने इच्छा गरे । हजुरबुवाका प्यारा नाति थिए, भोला । झन्डै चार बीस टेक्दै गरेका हजुरबुवा हिन्दू परम्पराअनुसारको चार धाम र अन्य धार्मिक स्थलको भ्रमण गर्दै थिए । कहिले घरमा आउने, कहिले जाने गर्थे । काशीवास बस्ने पनि सोच्दै थिए । तर, त्यसअघि नै उनलाई नातिको बिहे हेर्ने इच्छा भयो ।

भोलाले पाँच कक्षासम्म कहिले विराटनगर, कहिले इटहरीमा पढे । धरान पब्लिक हाइस्कुलमा १० कक्षामा थिए । त्यही बेला उनको बिहेको कुरा चल्यो, सरलासँग । धरान पुरानो बजारमा भोलाको घर थियो, नजिकै नयाँ बजारमा सरलाको । सरला एक सम्पन्न घिमिरे परिवारकी छोरी हुन् । हजुरबुवाले नै भोलाको बिहे सरलासँग गर्ने कुरा चलाए । सरला सात कक्षामा पढ्दै थिइन् । उनको परिवारले पनि त्यति छिटै छोरीको बिहे गर्नेबारे सोचेको थिएन । तर, रिजाल खान्दानबाट कुरा आएपछि उनको परिवारले नकार्न सकेन ।

भोलाले सरलालाई देखेकै थिएनन् । तर, बिहे छिनियो । आफूलाई माया गर्ने हजुरबुवाले बिहेको कुरा गरेपछि भोला नाइँनास्ती गर्न सक्दैनथे । उनी सानै थिए, आफ्नो विवेकले काम–कुरा गर्ने भइसकेका थिएनन् । भोला भन्छन्, ‘हजुरबुवाले भनेपछि त्यसलाई नकार्न त झनै सक्दिनथेँ । फेरि त्यो बेला सानैमा बिहे हुनु सामान्य नै मानिन्थ्यो ।’ यसरी नै भोलाको बिहे हजुरबुवाको इच्छाबमोजिम नै भयो, ४ असार २०१९ मा ।

त्यो प्रसवपीडा…

प्रसवपीडा पोथी जातिले मात्रै भोग्छन्, तर यसको महसुस संवेदना भएका पुरुषले मात्रै गर्न सक्छन् । ‘उनले कान्छो छोरालाई जन्म दिँदा नै मैले प्रसवपीडा के हो भनी महसुस गर्ने अवसर पाएँ । त्यो पीडा भयानक थियो,’ भोला सम्झन्छन् ।संयोग पनि त्यस्तै पर्यो, दुई सन्तानलाई सजिलै जन्म दिएकी सरलालाई कान्छो छोरो जन्माउन सजिलो भएन ।

कान्छा छोरा जन्मँदा भोला रिजाल डा. रिजाल भइसकेका थिए । सुन्दर संयोगले भनौं, उनी त्यतिबेला श्रीमतीसँगै थिए । राजविराज हस्पिटलमा उनको पोस्टिङ थियो । जेठा र माहिला जन्मँदा उनी श्रीमतीसँग थिएनन् र उनलाई प्रसूति व्यथाको त्यति हेक्का भएन । तर, कान्छा छोरा गर्भमा हुँदादेखि नै उनी श्रीमतीसँगै थिए । त्यतिखेरै उनले श्रीमतीको प्रसूतिपीडालाई नजिकबाट नियाले, महसुस गरे र त्यो दर्दसँगै आँसु झारे । त्यही आँसुको शक्तिले भोला स्त्रीरोग विशेषज्ञ बने ।

यो सन् १९७५ को कुरा हो, जति बेला भोला राजविराज हस्पिटलमा मेडिकल अफिसर त भइसकेका थिए, तर स्त्रीरोग विशेषज्ञ भएका थिएनन् । प्रसूति व्यथा लागेपछि भोलाले श्रीमतीलाई आफैँले काम गर्ने हस्पिटल लगे । उनलाई अपरेसन गर्नुपर्ने भयो । हस्पिटलमा कोही स्त्रीरोग विशेषज्ञ थिएन, त्यो पद त थियो तर खाली । त्यहाँ सरलाको अप्रेसन नहुने भयो । राजविराज अञ्चल अस्पतालका डाक्टरले आँट गर्न सकेनन्, केस जटिल थियो ।

त्यतिबेलाका अञ्चलाधीश थिए, महेशकुमार उपाध्याय । भोलाले उनकै गाडी मागेर श्रीमतीलाई विराटनगर लिएर गए ।
सरलाको अवस्था गम्भीर थियो । भोला सम्झन्छन्, ‘राजविराजदेखि विराटनगर पुर्याउँदा उनको अवस्था मरेतुल्य थियो । छटपटाइरहेकी थिइन् ।’

विराटनगर हस्पिटलमा डाक्टर कस्तुरी मल्ल, डाक्टर विमला अर्याललगायत थिए । उनीहरुले आँट गरेर सरलाको अपरेसन गरे, अपरेसन सफल भयो, भोलाले कान्छो छोरा पाए । तर, अपरेसनपछि पनि सरलाको अवस्था राम्रो रहेन । सरलालाई ११ दिन हस्पिटलमा राख्नुपर्यो ।
‘धेरै पीडा सहेर उनले छोरालाई जन्म दिइन्,’ भोला भन्छन्, ‘उनी मर्ने र बाँच्ने कुनै भर थिएन, बल्लबल्ल उनलाई बँचाइयो । त्यसपछि नै मैले स्त्रीरोगबारे पढ्ने निधो गरेँ ।’

बिहेपछिको अध्ययन

बिहेपछि सरलाले पढ्न पाइनन् । ‘घरमा पढाउने कुरा त थियो, तर म बाहिर भएँ,’ भोला भन्छन्, ‘घरायसी कामले गर्दा उनको पढाइ अघि बढ्न पाएन ।’ तर, विवाहपछि नै भोलाले ०१८ सालमा एसएलसी गरे, धरानबाट । आइएस्सी बनारसबाट गरे ।
आइएस्सीपछि उनी एमबीबीएस गर्न सन् १९६६ मा ढाका गए । ढाकाबाट सन् १९७२ मा नेपाल फर्कें, एमबीबीएस गरेर । केही समयपछि फेरि उनी पोस्ट ग्राजुयसन गर्न ढाका गए र स्त्रीरोग विशेषज्ञ भएर फर्के । उनी पोस्ट ग्राजुयसनका लागि ढाका जानु पछाडिको कथामा पात्र छिन्– सरला ।

आफ्नो सफलताको सम्पूर्ण श्रेय भोलाले श्रीमतीलाई दिन चाहन्छन् । ‘मलाई उनको अमूल्य साथ र सहयोग रह्यो । एसएलसीपछि म पढ्न बाहिर गएँ । १२ वर्षकी उनले मलाई रोक्न पनि सक्थिन्, मलाई छाडेर नजाऊ भन्न सक्थिन्,’ भोला भन्छन्, ‘तर, उनले कुनै बाधा गरिनन् । छोराछोरी हुर्काइन्, बुहारी बनेर घर हेरिन् । म वर्ष दिन, डेढ वर्षमा घर जान्थें, अहँ उनले कुनै गुनासो व्यक्त गर्दिनथिइन् । उनको यो गुणले गर्दा पनि मैले पढाइमा ध्यान दिन सकेँ ।’

एमबीबीएसपछि भोलाले नेपाल सरकारको जागिर गरे, मेडिकल अफिसरको रुपमा । सुरुमा विराटनगर दुई–तीन महिना बसेँ, कोशी अञ्चल हस्पिटलमा । त्यसपछि उनी तौलिहवा हस्पिटल गए, श्रीमती र छोरालाई लिएर । त्यतिबेला उनका जेठा छोरा दार्जिलिङमा बसेर पढ्थे । माहिला काखमा थिए । योबीचमा उनी तौलिहवा, राजविराज, इलाम, ताप्लेजुङ, सोलु सल्लेरी, संखुवासभा, धनकुटा पुगे ।
आइएस्सी अध्ययनकै बेला उनका एक छोरा भइसकेका थिए । उनका तीन छोरा छन् । कान्छो छोरा जन्म भोलाको जीवनको अर्को टर्निङ प्वाइन्ट भएर आयो । र, उनी गाइनिमा अध्ययन गर्न फेरि ढाका गए, सन् १९७९ मा । र, सन् १९८२ नेपाल फर्के, स्त्रीरोग विशेषज्ञ बनेर । ‘नेपाल फर्कंदा मेरो सरकारी जागिर सकिएको थियो,’ उनी भन्छन्, ‘त्यसपछि टिचिङ हस्पिटलमा आबद्ध भएर काठमाडौंमै बस्न थालेँ ।’

सरलाको सहयोग

पहिले कहिलेकाहीँ भोला होल नाइट पनि काम गर्थे । अहिले पनि उनी दिनमा १८ घन्टा काम गर्छन् । जुन हस्पिलटमा बोलाइन्छ, उनी त्यता कुदिहाल्थे । उनलाई फुर्सदको समय निकै कम हुन्थ्यो । तर, कहिल्यै श्रीमतीले गुनासो गरिनन् । बरु उनी सधैँ श्रीमानको साथमा रहिन् ।
‘काठमाडौं बाहिरका हस्पिटलमा अप्रेसन गर्दागर्दै समस्या आयो भने, मलाई फोन आउँथ्यो, अझै पनि आउँछ । त्यस्तो अवस्थामा पनि मैले गाइड गर्दै आएको छु,’ भोला भन्छन्, ‘उनले कहिल्यै झिजो मानिनन्, कुनै गुनासो गरिनन् ।’

१३ वर्ष त सरलाले सहयोगी भएर क्लिनिकमा भोलालाई सघाइन् । भोलाले टिचिङको सेवासँगै सन् १९८२ देखि सिद्धि पोली क्लिनिक चारखालमा प्राक्टिस गरे । त्यहाँ १३ वर्षसम्म उनलाई सरलाले सघाइन् । उनले बिरामीलाई उपचार, अप्रेसन गरेका बेला कोही सहयोगी चाहिन्छ, सामान दिने, बिरामीलाई सुताउने, उठाउने, यता–उता फर्काउने, यस्ता सबै काम सरलाले गरिदिन्थिन् ।

त्यसपछि भोलाले ०४६ सालमा ओम हस्पिटल खोले, टिचिङ छाडेर । अहिले पनि सरला प्रायः भोलासँगै हुन्छिन् । ओममा सरला बोर्ड मेम्बर र सेयर होल्डर छिन् ।

‘सरलाको नाममा महाराजगन्जमा घर छ । बैंक खाता उनकै नाममा छ । मेरो नाममा त्यति छैन,’ भोला भन्छन्, ‘योसँगै नेपाल मेडिकल कलेज, नेपालगन्ज मेडिकल कलेज, ग्रान्डी इलाइट स्कुल लगायतमा उनको सेयर छ ।’

दुःखसुख

रिजाल खान्दान, भोलाले अभावको जिन्दगी त्यति भोग्नुपरेन । तर, समय यस्तो आयो, भोलाले श्रीमतीलाई भाडाको घरमा राख्नुपर्ने भयो । जब उनी पोस्ट ग्राजुयसन गर्न ढाकामा थिए, त्यहीबीचमा विराटनगरको उनको पुख्र्यौली घर बेच्नुपर्यो । उनका भाइ मदिराको लतमा थिए ।
भोला दुई भाइमध्येका जेठा हुन्, तीन बहिनी छन् । भाइ किशोरको ४० वर्षकै उमेरमा देहान्त भयो, मदिराकै कारण । ‘भाइको लत छुटाउन धेरै कोसिस गर्यौँ तर सकिएन,’ भोला भन्छन्, ‘घर–व्यवहार मिलाउन पुख्र्यौली घर बेच्यौं । त्यतिबेला मैले विराटनगरमा एउटा सामान्य घर भाडामा लिएर उनलाई राखेँ ।’
भोलाले त्यो घर हिउँदमा लिएका थिए । तर, बर्खामा त्यहाँ बसिनसक्नु हुन्थ्यो, वरिपरि पानी भरिएर घरभित्रै पस्न नसकिने । यो कुरा भोला घर आएका बेला अन्यले सुनाउथे । तर, श्रीमती सरलाको यसमा कुनै गुनासो थिएन । भोलाले एउटा घर बनाउन सरलासँग सल्लाह गरे । तर, भोला घरमा बस्न पाउँदैनथे, पढाइ चलिरहेको थियो, कसले घर बनाउने त ? सल्लाह गर्दागर्दै दुईजना सँगै रोए । भोला भन्छन्, ‘रुन त हामी धेरैपटक सँगै रोएका छौँ । तर, परिस्थिति त्यस्तै बनेको थियो । त्यो छोटो समयका लागि त्यो बेला आफन्तबाट सहयोग पाएनौँ कि भन्ने पनि महसुस भयो र रोयौँ ।’
१६ अगस्ट २०१५ मा सरलालाई ग्यास्ट्रिक क्यान्सर देखियो । लन्डनमा उपचार गरेपछि अहिले उनी सामान्य अवस्थामा छिन् ।

 

यसमा तपाइको मत

अन्य समाचार