संविधान कार्यान्वयन अहिलेको चुनौती–नेता पौडेल


पोखरा, २२ कात्तिक । नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन नै अहिलेको चुनौती रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस कास्कीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले मधेसवादी र जनजाति समुदायका गुनासालाई संविधान संशोधनबाट सम्बोधन गरेर संविधान कार्यान्वयनका दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

विसं २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन सम्पन्न भएपछि मात्र संविधान कार्यान्वयन हुनसक्ने धारणा राख्दै उहाँले यतिका उपलब्धि भइसकेपछि पनि सानातिना कुरामा अल्झेर प्राप्त उपलब्धि गुम्न नदिन सबै राजनीतिक दलसँग आग्रह गर्नुभयो ।

संविधान संशोधन हुनै सत्तैmन भन्ने एमालेको अतिवादी सोच र आपूmले भनेका सबै माग पूरा हुनैपर्छ भन्ने मधेसवादी दलले हठ त्यागेर सबै लचक भई एक ठाउँमा आउनुपर्नेमा नेता पौडेलको जोड थियो ।

नेपाली काँग्रेस पद्दति, प्रक्रिया, संस्थागत र समझदारीद्वारा अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले पार्टी कार्यकर्ताको सही मूल्याङ्कन भएमा मात्रै पार्टी एकता हुने राय प्रकट गर्नुभयो ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले स्थानीय तहको निर्वाचन नजिक आइरहेकाले पार्टी कार्यकर्ता गाउँगाउँमा गएर जनताको मन जित्ने गरी काम गर्नु्पर्ने बताउनुभयो ।

यसैबीच नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेस कास्कीका पूर्व सभापति खेमराज पौडेलकी आमा स्व नन्दकली पौडेललाई आज पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

लामो समयदेखि दम रोगबाट पीडित ९६ वर्षीय स्व नन्दकली पौडेलको गएराति कास्कीको पुम्दीभुम्दी लौसीबोटका निधन भएको थियो ।

स्व पौडेललाई नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, पूर्व सभापति एवम् सांसद यज्ञबहादुर थापा, पूर्व सभापति सोभियतबहादुर अधिकारी, सांसदद्वय शारदा पौडेल र विन्दा रानामगरलगायतका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

पाँच छोरा र तीन छोरीकी आमा स्व पौडेलको आजै पोखरास्थित शान्तिघाटमा अन्तिम संस्कार गरिएको छ ।
रासस

यसमा तपाइको मत

अन्य समाचार