के गर्ने नेपालको तीन अर्ब भारु ?


पुस ११, काठमाडौं । भारतीय ५ सय र १ हजारको नोट सटहीमा थप अन्यौल देखिएको छ । नोट सटहीका लागि अन्तिम मिति नजिक आउँदै गर्दा समेत कुनै निर्णय नहुँदा अन्योल बढेको छ । नोट सटही सहजीकरणका लागि राष्ट्र बैंकको एक टोली भारत जाने भनिए पनि कहिले जाने भन्ने टुंगो लागेको छैन । पूराना भारतीय नोटमा प्रतिबन्ध लागेको डेढ महिना पुगी सक्दा पनि नेपाल रहेको भारतीय नोट साट्ने विषयमा अहिलेसम्म कुनै पहल भएको छैन ।

राष्ट्र बैंकका प्रवक्ता नारायाण पौडेलले कहिलेस्म्म नेपाली सर्वसाधारणसँग भएको भारु साटिने हो त्यसको कुनै टुंगो नलागेको र राष्ट्र बैंक समेत पर्ख र हेरको अवस्थामा रहेको बताए । भारतीय पक्षसँगको कुराकानीमा आगामी जनवरीसम्म यसबारे टुंगो लाग्ने आश्वासन पाएको बताए । नेपालस्थित भारतीय दूतावासले भारु सहटीको मोडालीटी बनाउन राष्ट्र बैंकलाई आग्रह गरेपछि उत्पन्न समस्याको समाधानका लागि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन भएको थियो ।

उक्त अध्ययन समितिले भारुबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको भए पनि भारतीय पक्षबाट जवाफ नआएसम्म कुनै कदम चाल्न नमिल्ने राष्ट्र बैंकले बताएको छ । भारतल सरकारले पनि नेपालसँगै भुटान तथा अन्य छिमेकी मुलुकमा रहेको भारु रकम के कसरी साट्ने भन्नेबारेमा अध्ययन गर्न एक समिति गठन गरेको थियो । सो समितिले पनि यसअघि नै अध्ययन रिपोर्ट बुझाइकेको छ । तर, भारत सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिन नसक्दा भारुबारेको अन्योलता टुंगोमा पुग्न सकेको छैन ।
-नेपाल समाचारपत्र दैनिक

यसमा तपाइको मत

अन्य समाचार