गाविस सचिवको तह वृद्धि हुने!


पुस ११, काठमाडौं । गाविस सचिवहरूले १४ वर्षसम्म गाविस अध्यक्षकोसमेत जिम्मेवारी निर्वाह गरेकारले स्थानीय तहमा कर्मचारी समायोजन गर्दा गाविस सचिवलाई एक तह वृद्धि गर्न माग गरेका छन् । गाविस सचिवले विभिन्न चुनौतीमा पनि १४ वर्षसम्म स्थानीय निकायमा दोहोरो जिम्मेवारी निर्वाह गरेको भन्दै अब कर्मचारी समायोजन हुँदा एक तह वृद्धि गर्न सरकारलाई आग्रह गरेका हुन्। कतिपय अवस्थामा गाविस सचिवले ज्यानै बाजी राखेरसमेत स्थानीय निकाय सञ्चालन गरेको र सोको सम्मान स्वरूप सरकारले कर्मचारी समायोजन गर्ने क्रममा एक तह वृद्धि गरेर गाविस सचिवलाई हौसला प्रदान गर्नुपर्ने गाविस सचिवहरूको भनाइ छ ।

गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालका अध्यक्ष दामोर रिजालले भने– ‘‘१४ वर्षसम्म गाउँमा बसेर स्थानीय निकायलाई सञ्चालन गर्न गाविस अध्यक्षकोसमेत भूमिका निर्वाह गरेका गाविस सचिवको एक तह बढुवा गरी सरकारले सम्मान गर्नुपर्छ। ’’ उनका अनुसार द्वन्द्वकालदेखि हालसम्म २८ जना गाविस सचिवले ज्यान गुमाएको, भूकम्पपछि गाविस सचिवले सरकार र भूकम्पपीडितबीच पुलको काम गरेको, कर्मचारीको अभावमा एक गाविस सचिवले तीनदेखि पाँचवटासम्म गाविसको जिम्मेवारी बहन गर्दै आएका छन्। यी सबै कुराको मूल्याङ्कन अब सरकारले गाविस सचिवको एक तह बढुवा गरेर गर्नुपर्छ । अहिले भएका गाविस सचिव खरिदार र नासु स्तरका रहेका छन्। हाल कायम रहेका तहबाट एक स्तर वृद्धि गर्नुपर्ने माग उनीहरूको छ ।

लामो समयसम्म गाविस सचिव सरुवा हुनबाट रोकिएको, गाविस सचिवले नेपालमा भएका सबै मन्त्रालयको काम गर्न बाध्य हुनुपरेको, प्राविधिक, प्रशासनिक, न्यायिक, पञ्जिकाधिकारी र लेखापालकोसमेत काम गाविस सचिवबाटै गर्नु परेको, गाविस सचिवकै हातबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा जोखिम बढ्दै गएको गाविस सचिवहरूको गुनासो छ। गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालका वरिष्ठ उपाध्यक्ष एकनारायण काफ्ले भने ‘‘गाविस सचिवलाई कि त सरुवा हुने बाटो खुला गरिदिनुपर्छ कि त कर्मचारी समायोजन हुँदा एक तह वृद्धि गर्नुपर्छ। ’’ आफ्ना माग सम्बोधन नभएको अवस्थामा भूकम्पसँग सम्बन्धी सम्झौता रोकिन सक्ने, दुई गाविसको जिम्मेवारी नलिने, गाउँ परिषद् नहुने र अध्यक्षको जिम्मेवारी नगर्ने अवस्थामा गाविस सचिव पुगेको उनले स्पष्ट गरे।

यसका लागि गाविस सचिवहरूले सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीलाई समेत ध्यानाकर्षण गराइसकेका छन्। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डे स्थानीय तहमा कर्मचारी समायोजनका लागि एक कार्यदल बनेको र अहिले उक्त कार्यदलले काम गरिरहेकाले कर्मचारीको एक तह बढुवाकाबारेमा अहिले नै केही भन्न नसकिने बताए ।

गाविस सचिवको समस्या र मागप्रति भने मन्त्रालय सकारात्मक रहेको भन्दै उनले अहिले गाविस सचिवले तल्लो निकायमा रहेर काम गर्नुपर्ने हुँदा त्यहाँ राम्रा र नराम्रो दुवै पक्षको गाविस सचिवले समाना गर्नुपर्ने बताए। मन्त्रालयका अनुसार अहिले देशभर गरी करिब ३५० गाविस सचिवको पद रिक्त रहेका र उक्त गाविसमा नजिकै रहेका गाविसमा कार्यरत सचिवले काम गर्दै आएका छन् ।
-गोरखापत्र

यसमा तपाइको मत

अन्य समाचार