ट्रक ड्राइभरको साथमा ७ केजी सुन !


पुस १४, काठमाडौं । प्रहरीले सात केजी अवैध सुनसहित ट्रकचालकलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले बुधबार साँझ रसुवाको नाका हुँदै चीनबाट तस्करी गरी ल्याइएको सुन बरामद गरेको हो ।

करिब साढे तीन करोड रुपैयाँ मूल्यबराबरको सुनको मालिकबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका ट्रकचालक र गिरोहबारे बिहीबार सार्वजनिक गर्दै छ ।

प्रहरीका अनुसार तस्करीमा संलग्न गिरोहले चालकलाई भरियाका रूपमा प्रयोग गरी सुन काठमाडौंमा तस्करी गराएको थियो । स्रोतका अनुसार सो गिरोहले ठूलो संख्यामा काठमाडौंमा सुन तस्करी गर्दै आएको छ । ठूला गिरोहहरू सुन तस्करीमा संलग्न भए पनि भरिया मात्र पक्राउ पर्ने गरेका छन् ।

चीनबाट ठूलो मात्रामा सुन नेपालमा तस्करी भइरहेको छ । पछिल्लो समय बजारमा सुन अभाव भएकाले पनि तस्करी बढेको हो । एक साताअघि मात्र रसुवामा तस्करीको पाँच केजी सुन बरामद भएको थियो ।

तस्करीको बढीमा १० प्रतिशत सुन मात्र बरामद भइरहेको प्रहरी स्रोत बताउँछ । बैंकहरूबाट किन्दा भन्दा तस्करीको एक किलो सुन बिक्री गर्दा करिब पाँच लाख रुपैयाँ नाफा हुने भएकाले पसलेहरूले समेत तस्करीको सुन किन्ने गरेका छन् ।
-नयाँ पत्रिका दैनिक

यसमा तपाइको मत

अन्य समाचार