‘प्रस्ताव टेबल भएपछि निर्वाचनको मिति घोषणा’


पुस १६, काठमाडौं । संविधान संशोधन प्रस्ताव र निर्वाचनको मिति घोषणाबारे नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच छलफल भएको छ ।

प्रमुख तीन दलले निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहँदा मधेसी मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा गरेपछि शुक्रबार दुई पक्षबीच छलफल भएको हो । बैठकमा मधेसी मोर्चाका नेताले प्रमुख तीन दलले संशोधन प्रस्तावमा सहमति गर्न छाडेर चुनावमा सहमति गरेकोप्रति आपत्ति जनाएका छन् ।

बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाका नेतालाई आश्वासन दिँदै संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसद्मा टेबल भएपछि मात्र चुनावको मिति घोषणा हुने बताएको छलफलमा सहभागी राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए ।

‘संविधान संशोधनको प्रस्ताव टेबल र निर्वाचनको मिति घोषणा दुवै एकैचोटि गरियो भने पहिला संविधान संशोधन नै हुन्छ’, सभापति देउवाले भने, ‘सविधान संशोधनको प्रस्ताव टेबल हुनेबित्तिकै पारित हुन्छ तर मिति घोषणा हुनेबित्तिकै निर्वाचन हुन सक्दैन । त्यही भएर निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गर्नु हुँदैन ।’

उनले चुनावको मिति समयमा घोषणा गरिएन भने तोकिएको समयमा चुनाव हुँदैन र अर्को संवैधानिक समस्या उत्पन्न हुने भएकाले संशोधन प्रस्ताव संसद्मा टेबल भएपछि सबैको सल्लाह र सहमतिमा निर्वाचनको मिति घोषणा हुने धारणासमेत बैठकमा राखेका थिए ।

सभापति देउवाले भने, ‘नेपाली काँग्रेस पनि मधेसी दल हो, हाम्रो पार्टीको जनाधार मधेसमै छ । मधेसका लागि जति चिन्ता तपाईंहरूलाई छ, त्यति चिन्ता हामीलाई पनि छ । त्यसैले तपाईंहरू ढुक्क हुनुस्, संशोधन प्रस्ताव पारित हुन्छ, यसमा माओवादी पनि सकारात्मक छ, एमालेसँग कुराकानी भइरहेको छ ।’

बैठकमा सहभागी तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले आफूहरूले पनि संविधान संशोधन नभएसम्म निर्वाचनको मिति घोषणा नगर्न आग्रह गरेको बताए । संशोधन विधेयक संसद्मा दर्ता भइसकेपछि त्यसलाई छाडेर चुनाव गराउनतिर लाग्नुभयो भने देश द्वन्द्वतिर जाने भएकाले संशोधन प्रस्तावलाई किनारा लगाएर मात्र चुनावको मिति घोषणा गर्न आग्रह गरेको
उनले बताए ।

यसैगरी तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय निकाय पुनःसंरचना आयोगले ल्याउन लागेको प्रतिवेदनले देशको समस्या समाधान हुनुको सट्टा झन् बिग्रिने भएकाले त्यो प्रतिवेदनलाई स्वीकार्न नसक्ने जानकारी सभापति देउवालाई गराए ।

चुनावको मिति घोषणा गर्न छाडेर संशोधन प्रस्ताव पारित गराउन तीन दल एक हुन आग्रह गर्दै उहाँले त्यसपछि मोर्चाले पनि चुनावमा सहयोग गर्ने कुरा बैठकमा राखे । महासचिव झाले पुस १२ गते काँग्रेस र माओवादीसँग भएको छलफलभन्दा शुक्रबारको छलफल निकै सकारात्मक भएको बताए ।

चुनावअघि संशोधन प्रस्ताव पारित हुन्छ भन्ने कुरामा नेपाली काँग्रेस सकारात्मक रहेको बताउँदै सो प्रस्तावबारे केही दिनमै टुङ्गो लगाउने प्रतिबद्धता देउवाले जनाएको बताए ।
-गोरखापत्र दैनिक

यसमा तपाइको मत

अन्य समाचार