‘संविधान संशोधनअघि चुनाव घोषणा भए बहिष्कार’


पुस १६, काठमाडौं । मधेसी मोर्चाले संविधान संशोधन विधेक व्यवस्थापिका संसदबाट पारित नभए चुनाव गर्न नदिने निर्णय गरेको छ ।

बिहीबार र शुक्रबार बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक संशोधन विधेयक व्यवस्थापिका संसदबाट पारित नभएसम्म चुनाव गर्न नदिने निर्णय गरेको हो ।’संविधान संशोधनअघि चुनाव घोषणा भए बहिष्कार’ गर्ने रणनीति मोर्चाले बनाएको छ।

सरकारले विपक्षी दलको निरन्तरको संसद अवरोधपछि स्थानीय तहको निर्वाचनको मिति तोकेर राजनीतिक संकट समाधान गर्ने तयारी गरिराखेका बेला मोर्चाले संविधान संशोधन नभए निर्वाचन हुनै नदिने निर्णय गरेको हो । मोर्चाको बैठकले सरकारलाई चुनावको मिति घोषणा गर्नु अघि नै संशोधन प्रस्ताव पारित गर्नुपर्ने सर्त अघि सारेको हो ।

मोर्चाले शुत्रबार नै सरकारसँग निर्णयाक वार्ता गरेर टुंगोमा पुग्ने तयारी गरेको छ । सरकारले पनि मोर्चालाई वार्ताका लागि निम्ता दिइसकेको छ।

यसअघि नै मोर्चाले संविधान संशोधनबिना चुनाव हुननसक्ने अडान राख्दै आएको थियो । संविधान संशोधन नगरीकन चुनाव घोषणा गरे बहिष्कार गर्न रणनीति मोर्चाले बनाएको छ।

संविधान संशोधनअघि नै चुनाव गर्ने तयारीमा सरकार केही लचिलो देखिएपछि मोर्चाले बैठक बसेर दबाब दिने निर्णय गरेको हो ।
कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बुधबारको बैठकले स्थानीय चुनाव घोषणा गर्ने बारेमा आन्तरिक छलफल गरी एक साताभित्र टुंगोमा पुग्ने निर्णय गरेपछि मोर्चा थप शसंकित भएको हो। संशोधन नगरीकन चुनाव घोषणा गरे मोर्चा पुनः आन्दोलनमा जाने चेतानवी दिएको छ ।

सरकारले मंसिर १४ गते मधेसलाई सम्बोधन गर्न विधेयक दर्ता गराए पनि विपक्षीको अवरोधका कारण अहिलेसम्म संसद् त्यो विधेयक प्रवेश गर्न पाएको छैन। एमालेलगायतका आठ विपक्षीहरुले संविधान संशोधनअघि चुनाव घोषणा हुनुपर्ने अडान राख्दै मंसिर १६ गते संसद्‌मा निरन्तर अवरोध गर्दै आएका छन् ।
-अन्नपूर्ण पोस्ट दैनिक

यसमा तपाइको मत

अन्य समाचार