सडकको अवस्था अब मोबाइल एप्समा


पुस १६, काठमाडौं । तपाईं आफ्नो गाउँ ठाउँको या आफूले यात्रा गरिरहेको सडकको खराब अवस्थाबारे चिन्तित हुनुहुन्छ र सो बारे सरकारलाई जानकारी गराउन चाहनुहुन्छ भने अब कुनै झन्झट मान्नु पर्दैन । सडकको अवस्थाबारे जानकारी दिन सरकारले मोबाइल एप्स सञ्चालनमा ल्याएको हो ।

आमनागरिकले आफ्नो गाउँ ठाउँको सडकको अवस्थाबारे सरकारलाई सहजै जानकारी गराउन सकून् भन्ने उद्देश्यसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘मोबाइल एप्स’ सञ्चालनमा ल्याएको हो । सडक मर्मत हुने स्थानबारे जानकारी नहुँदा सर्वसाधारणले सास्ती बेहोरिरहनु परेको बेला सडक विकास बोर्डले सोसम्बन्धी जानकारी दिन एप्स सञ्चालनमा ल्याएको हो ।

सडक बोर्ड नेपालले सञ्चालनमा ल्याएको ‘मेरो सडक’ नामको सो एप्सको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले गरे । १४औँ स्थापना दिवसको सडक बोर्ड नेपालद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री लेखकले सो एप्सको शुभारम्भ गरे । शुभारम्भ गर्दै मन्त्री लेखकले यो एप्सको सञ्चालनले मुलुकको सडकको अवस्था तथा त्यसको मर्मत सम्भारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । मन्त्री लेखकले निश्चित लक्ष्य बनाएर काम सुरु गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन समेत दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले चाँडै नै एप्सलाई इन्स्टल गरी कार्यान्वयनमा ल्याइने जानकारी दिए । उनका अनुसार यो एप्सको सम्पूर्ण नियन्त्रण सडक बोर्ड नेपालले गर्नेछन् । सडक विभागका प्रवक्ता दयाकान्त झाले सडकको अवस्थाबारे जानकारी लिन सञ्चालनमा ल्याइएको सो एप्सको प्रयोगले मुलुकभरिको सडकको अवस्था बुझी यथाशीघ्र सोको मर्मत सम्भार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

मोबाइल प्रयोगकर्ताले मोबाइलमा सो एप्सलाई डाउनलोड गरी आफ्नो गाउँ ठाउँको या आफूले यात्रा गरिरहेको सडकको खराब अवस्थाको तस्बिर खिची सो एप्समा राखेपछि सडकको लोकेसन तथा अवस्थाबारे सम्पूर्ण जानकारी सडक बोर्ड नेपाललाई हुन्छ र सो जानकारी अनुसार सम्बन्धित निकायले त्यसको मर्मत सम्भार कार्यलाई अगाडि बढाउँछ ।

उनले यो एप्सको सञ्चालनसँगै विभिन्न समिति बनाई लामो समयसम्म सडकको अवस्थाबारे बुझ्नुपर्ने तथा त्यसपछि मात्र सडकको मर्मत सम्भारको कार्यलाई अगाडि बढाउनुपर्ने अवस्थाबाट मुक्त हुन सकिने बताए ।

मुलुकको आर्थिक विकासको मूल आधारका रूपमा रहेको सडक पूर्वाधारको योजनाबद्ध मर्मत सम्भार तथा संरक्षण गर्ने अनुरूप सडक बोर्ड ऐन, २०५८ बमोजिम सडक बोर्ड नेपालको स्थापना भएको हो ।
-गोरखापत्र दैनिक

यसमा तपाइको मत

अन्य समाचार