अध्ययनबिनै वन्यजन्तु सारिन्छ, संरक्षण रणनीति पनि छैन


माघ १६, काठमाडौँ । बर्दिया निकुञ्जका निमित्त वार्डेन रमेशकुमार थापाले शनिबार फेसबुकमा एउटा टिप्पणी पोस्ट गरे– ‘सार्ने बेलामा त राम्रै जमघट, बाजागाजा, भाषणभूषण, तामझाम, प्रचारप्रसार रमाइलो । सारेको भोलिपल्ट जनावर बिरामी भयो, समस्या पर्‍यो भने न औषधि हुने, न उपकरण हुने । भगवान् भरोसा ।’

कोसीटप्पु वन्यजन्तु आरक्षबाट ल्याई शुक्रबार बेलुकी चितवन निकुञ्जको पदमपुरमा वनमन्त्री शंकर भण्डारीको उपस्थितिमा एक जोडी अर्ना छाडदा बाजागाजासहित गरिएको कार्यक्रमलाई लक्षित गरेर थापाले गरेको टिप्पणीले ‘वन्यजन्तु स्थानान्तरण’ माथि केही प्रश्न उब्जाएको छ । एक– बिना अध्ययन र योजना बिना अर्थात् हचुवामा वन्यजन्तु स्थानान्तरण गर्ने गरिएको छ । दोस्रो– स्थानान्तरण गरिएका वन्यजन्तु जोगाउन अलग्गै कार्यक्रम, यथेष्ट मात्रामा बजेट र आवश्यक प्रविधि सरकारसँग छैन ।

निमित्त वार्डेन थापाले वन्यजन्तु स्थानान्तरणको अहिलेको अवस्थालाई अझ प्रस्ट पार्ने कोसिस गर्दै लेखेका छन्, ‘वन्यजन्तु स्थानान्तरण भावनामा बगेर गर्न हुन्न, नत्र फिल्डका कर्मचारी धेरैले आत्महत्या गर्नुपर्ने अवस्था आउन सक्छ ।’ गत वर्षको फागुनमा चितवन निकुञ्जबाट ५ गैंडा बर्दिया निकुञ्जको बबई उपत्यकामा तामझामका साथ स्थानान्तरण गरिएको थियो । त्यतिबेला पनि थापा बर्दिया निकुञ्जमा निमित्त वार्डेन थिए । उनका भनाइमा तिनको संरक्षण गर्न बर्दिया निकुञ्जलाई कम्ती गाह्रो भएको छैन । ‘संख्या बढाउने भनेर ल्याइएकाले जसरी पनि जोगाउनेमै एक वर्ष बित्यो, एक वर्षमा करिब ६० पटक बबई गएँ,’ थापाले भने, ‘सक्दो रेखदेख र अनुगमन गर्दा पनि आठमहिने गैंडाको बच्चा जोगाउन सकिएन ।’ गत वर्ष स्थानान्तरण गरिएको पोथी गैंडाबाट जन्मिएको आठ महिनाको भाले गैंडा (केटो) लाई माघ २ मा बाघले आक्रमण गरेर मारेको थियो ।

थापाको एकवर्षे अनुभवले स्थानान्तरण गरिएका वन्यजन्तु जोगाउन र दिगो संरक्षणका लागि अनुगमन मात्र पर्याप्त हुँदैन/होइन । ‘अनुगमनसँगै आधुनिक प्रविधिको पनि त्यत्तिकै खाँचो छ,’ थापाले भने, ‘पोहोर यहाँ ल्याइएका ५ मध्ये ४ गैंडामा रेडियो स्याटेलाइट कलर जोडिएको थियो र आउजाउ हेर्न सजिलो भएको थियो । अहिले २ वटा बिग्रिएकाले समस्या भएको छ ।’ बबईमा छाडिएका गैंडाको आउजाउ, उसले खाने खानेकुरालगायत अनुगमन गर्न सजिलो होस् भनेर घाँटीमा रेडियो कलर बाँधिएको थियो । विगतमा झन्डै ८० गैंडा स्थानान्तरण गरिएकामा सशस्त्र द्वन्द्वलगायत कारणले शून्यमा झरेका थिए । बबईमा पुन: गैंडा बढाउन गत वर्ष ५ वटा लगेर छाडिएको छ ।

अर्को समस्या भनेको त्यस्ता वन्यजन्तु बिरामी पर्दा आवश्यक पर्ने औषधिको हो । ‘घाइते वन्यजन्तुलाई उपचारका लागि आवश्यक पर्ने औषधि छैन,’ उनले स्टाटसमा प्रश्न तेस्र्याएका छन्, ‘जनावर सार्ने बेलामा औषधि पनि निस्कने, सुई पनि निस्कने, प्लञ्जर पनि निस्कने, काम सकिए पछि जति बिलौना गरे पनि ननिस्कने कस्तो प्वाल रहेछ ?’ रोग, बाढी, आनुवांशिक क्षयीकरणलगायतका पर्यावरणीय संकटबाट बचाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वन्यजन्तु स्थानान्तरणलाई बढावा दिए पनि सार्नुअघि बासस्थान र आहारको अध्ययन/अनुसन्धानको पाटो भुलेको देखिन्छ । सँगै त्यसरी सारिएका वन्यजन्तुको दिगो संरक्षण, तिनको अनुगमन र अनुसन्धानको दीर्घकालीन दृष्टिकोण/नीतितिर ध्यान छैन ।

‘अहिलेसम्म त्यस्तो दीर्घकालिन दृष्टिकोण तयार भएको छैन,’ निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खडकाले भने, ‘अब त्यस्तो रणनीति तयार गर्नुपर्छ ।’ खडकाले स्थानान्तरण गरिएका वन्यजन्तुको संरक्षणका लागि अनुगमन भने गरिएको बताए । वन्यजन्तु संरक्षण तथा अनुसन्धानमा लामो समयदेखि सक्रिय वन्यजन्तु विज्ञ शान्तराज ज्ञवाली प्रजाति स्थानान्तरणअघि सार्न लागिएको बासस्थान, आहार र संभावित चुनौतीबारे अध्ययन हुनुपर्ने तर्क गर्छन् । ‘अहिले जलवायु परिवर्तनका कारण वन्यजन्तुको बासस्थान खलबलिएको छ । धेरै समस्या सिर्जना भएको छ । वन्यजन्तुले खाने आहार पनि फेरिएको छ । वन्यजन्तुले नरुचाउने मिचाहा प्रजाति बाक्लिएको छ,’ ज्ञवालीले भने, ‘त्यसैले समग्र पक्षबारे अध्ययन/अनुसन्धान गर्न सकिए स्थानान्तरण अझ प्रभावकारी र दिगो हुनेछ ।’
-कान्तिपुर दैनिक

यसमा तपाइको मत

अन्य समाचार