आर्यन सिग्देलले फिल्म नपाएका कि नखेलेका ?


वर्ष ०७३ साल नायक आर्यन सिग्देलका लागि फिल्म बिहिन वर्ष हुन जाने भएको छ । केमियो रोल गरेको ब्ल्कबस्टर फिल्म ‘छक्का पञ्जा’ बाहेक आर्यनको यो साल कुनै पनि फिल्म प्रदर्शनमा आउने छैनन् भने उनले कुनै फिल्मको सुटिङ पनि गरेका छैनन् । आर्यनको यो वर्ष विदेश घुमघाम र आराम गर्दैमा बित्ने छाँटकाँट देखिएको छ । त्यसैले पनि फिल्म नगरीमा चर्चा चल्न थालेको छ, आर्यनले फिल्म नपाएका कि नखेलेका ?

उसो त आर्यनले निर्माता सुवास गिरीसँगको साझेदारीमा फिल्म ‘क्लासिक’ निर्माण गर्दा नै होम प्रोडक्सन भन्दा बाहिरका फिल्म अभिनय नगर्ने बताएका थिए । बाहिरी ब्यानरका फिल्ममा अभिनय गर्ने तर आफ्नो ब्यानरसँग साँझेदारी गर्नु पर्ने आर्यनको सर्त थियो । कतै यो सर्त मान्न निर्माता तयार नभएका त होइनन् ? अर्कोतिर गत साल प्रदर्शनमा आएको फिल्म ‘क्लासिक’ ले सोचे जस्तो उत्कृष्ट व्यापार नगरेका कारण पनि आर्यन फिल्म बनाउन र अभिनय गर्नबाट पछि हटेको फिल्मी बजारमा विश्लेषण छ । यो सँगै नयाँ फिल्म बनाउने निर्माता तथा निर्देशक नयाँको खोजीमा लाग्दा आर्यन जस्ता चल्तीका नायक नायिकालाई घाटा पुगेको छ ।

‘पर्व’ पछि निर्देशक दिनेश राउतलाई लिएर फिल्म खिच्न फ्लोर पस्ने योजनामा रहेका आर्यन सञ्चारकर्मी श्याम अर्यालले निर्माण गर्ने ‘मरिना’ को सेटमा उत्रिएला कि नउत्रिएलान् ? त्यो चसोको विषय बनिरहेको छ । जे होस् बर्षमा एउटा पनि फिल्म रिलिज र सुटिङ नहुँदा चाहिं आर्यनले कतै फिल्म नै नपाएका त होइनन् ? भन्ने चर्चा फिल्म नगरीमा चलिरहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार