किन गन्हाउँछ शरीर?


पुस २५, काठमाडौं ।  मानिसका अनगिन्ति स्वास्थ्य समस्यामध्ये शरीर गन्हाउनु पनि एउटा समस्या हो। दैनिक नुहाउँदा र सफा लुगा लगाउँदा पनि कतिपय मानिसको शरीरबाट नमिठो गन्ध आउँछ। वास्तवमा शरीर गन्हाउनुका विभिन्न कारण हुन सक्छन्। शरीरबाट निरन्तर गन्ध आउने कारण विभिन्न भए पनि यसलाई हटाउन चिकित्सको सल्लाह लिनु उपयुक्त हुन्छ।

दुर्गन्धित पैताला
कतिपय मानिसको पैतालका कारण पनि शरीर गन्हाउँछ। पैतालामा पानी, धुलो, हिलोको कारण शरीरको अन्य भागभन्दा दुर्गन्धित हुन्छ (विशेष गरी मोजा नलगाई हिँड्दा)। विज्ञहरुका अनुसार १० देखि १५ प्रतिशत मानिसमा वंशानुगत कारण पैतालामा पसिना आउँछ। ती पसिनामा माइक्रोकोकस सिडेनटरिअस नामक ब्याक्टेरिया हुन्छ जसले गन्ध उत्पन्न गर्छ।

वंशाणुगत समस्या
कसैको शरीरमा टिमिथाइलामिनुरिअ नामक वंशाणुगत समस्या हुन्छ। जसका कारण मानिसको शरीरबाट माछाको जस्तै गन्ध आउँछ। यस्तो गन्ध मानिसको पसिना, पिसाब र श्वासबाट आउँछ।

कमसल ब्रा
महिलाको शरीर गन्हाउनमा केही हदसम्म उनीहरुले लगाउने ब्रा पनि कारण हुनसक्छ। केही महिलाले लगातार एउटै ब्रा लगाउँछन् र लामो समयसम्म धुँदैनन्, जसका कारण शरीर गन्हाउँछ। अर्कोतर्फ केही ब्रामा दुर्गन्ध आउने कपडा प्रयोग गरिएको हुन्छ। कमसल ब्रा लगाउँदा पनि शरीरबाट दुर्गन्ध आउँछ।

चिन्ता
चिन्ता लिने मानिसको शरीरबाट एक प्रकारको छुट्टै पसिना आउँछ, जुन अति गन्हाउँछ। एपोक्राइन नाम गरेको ग्रन्थीबाट आउने यस्तो पसिना गन्हाउँछ। एप्रोक्राइन ग्रन्थीले तुलनात्मक रुपमा कम पानी भएको पसिना निकाल्छ। यस्तो पसिनामा छिटै ब्याक्टेरिया उत्पन्न हुन्छ। अर्कोतर्फ काम गर्दा वा व्यायाम गर्दा आउने पसिनामा प्रसस्त पानी हुन्छ। पानीयुक्त पसिनाभन्दा पानी नभएको पसिना धेरै गन्हाउँछ।

खानेकुराको गन्धको असर
खानेकुरामा भएको गन्ध शरीरको रक्तनलीमा प्रबाह हुन्छ। यो गन्ध डकार, पसिना, पिसाबबाट शरीर बाहिर निस्कन्छ। ब्रोकाउली, बन्दाजस्ता सब्जीमा सल्फर जस्तै दुर्गन्धित तत्व हुन्छ, जसका कारण पनि मुख र शरीर गन्हाउँछ। विज्ञहरुका अनुसार धेरै पियक्कड मानिसको पसिनाबाट पनि दुर्गन्ध आउँछ।

डायबिटिज
डायबिटिजका कारण शरीर गन्हाउँछ भन्दा अनौठो लाग्न सक्छ। पर्याप्त इन्सुलिनको अभावमा शरीरले ऊर्जाका लागि बोसो उपयोग गर्छ जसका कारण शरीरमा केटोन्स नामक तत्व उत्पादन हुन्छ, जसले शरीरमा दुर्गन्ध उत्पन्न हुन्छ। धेरै मासु र न्यून कार्बोहाइड्रेडयुक्त खानेकुरा खाएमा पनि यस्तो समस्या हुन्छ।

-एजेन्सी

यसमा तपाइको मत

अन्य समाचार