चीनका कृतिम टापुमा अमेरिकी राष्ट्रपति ट्रम्पले नाकाबन्दी गर्ने


पुस २९, न्युयोर्क/एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सचिवालयका सदस्यका उम्मेदवारमध्ये एक रेक्स टिलरसनले चीनले दक्षिण चीन सागरमा बनाएको मानवनिर्मित टापुमा अमेरिकाले नाकाबन्दी लगाउनुपर्ने बताएका छन् । उनको यो अभिव्यक्तिले बेइजिङसँग अमेरिकाको सम्बन्धलाई चिसो बनाउन सक्ने विश्लेषण गरिएको छ ।

बेइजिङ अन्य देशले दाबी गरिरहेको दक्षिण चीन सागरमा चीनले टापु निर्माण गरिरहेको भन्दै सो क्षेत्रमा अमेरिकाले नाकाबन्दी लगाउनुपर्ने उनले बताएका हुन् । अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उपस्थित टिलरसनले चीनको यो काम रुसले क्रिमियालाई युक्रेनबाट कब्जा गरेको घटनासँग तुलना गरेका छन् ।
‘हामीले चीनलाई यी संकेत पठाउँदै छौं, पहिलो उनीहरूले टापुहरू निर्माण रोक्नु पर्छ र दोस्रो उनीहरूले बनाएका टापुहरूमा उनीहरूलाई प्रवेशमा रोक लगाउनेछौं,’ उनले भनेका छन् ।

चीनले पुरै दक्षिण चीन सागरमा दाबी गर्दै आएको छ । यता फिलिपिन्स, ताइवान, मलेसिया र ब्रुनाईले समेत दक्षिण चीन सागरमाथि दाबी गर्दै आएका छन् । ओबामा प्रशासनले चीनको सो दाबीविरुद्ध प्रतिकार गर्दै आएको छ । टिलरसनले अमेरिकाले कसरी ती टापुमा नाकाबन्दी गर्छ भन्ने खुलाएका छैनन् ।
उनको अभिव्यक्तिलाई लिएर चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले चीनलाई आफ्नो भूभागमा शान्तिपूर्ण गतिविधि गर्न कसैले पनि रोक्न नसक्ने बताएका छन् । यसअघि सो टापुको रक्षाका लागि चीनले जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने चेतावनी दिइसकेको छ ।
-राजधानी दैनिक

यसमा तपाइको मत

अन्य समाचार