छवि सुधार्ने कोसिसमा नेपाल एयरलाइन्स, यस्ता छन् नयाँ प्रयास


माघ ११ , काठमाडौँ । नेपाल एयरलाइन्सले छवि सुधार्दै नेपाल आवतजावत गर्ने यात्रुको विश्वास जित्न जुटेकोे छ । विगतमा व्यवस्थापकीय कमजोरीका कारण अन्तरराष्ट्रिय उडानबाट खुम्चिँदै गएको नेपाल एयरलाइन्सले कमजोरी सच्याउँदै आफूलाई विश्वसनीय एयरलाइन्सका रूपमा स्थापित गराउने प्रयास थालेको हो । नेपालीे झण्डाबाहक यो विमान सेवाप्रति नेपाली यात्रुले देखाएको मायाले हौसला उच्च भएको यसका अधिकारीहरू बताउँछन् ।

नेपाल पत्रकार महासङ्घ युएईको नवनिर्वाचित कार्यसमितिको स्वागत तथा बधाईमा गरिएको कार्यक्रममा विमान सेवाको सेवा सुविधाबारे जानकारी दिँदै नेपाली नागरिकबाट सहयोगको अपेक्षा गरिएको समेत एयरलाइन्सका अधिकारीहरुले बताएका छन् । नेपाल एयरलाइन्सले १८ अगस्ट २०१६ देखि दुबईमा आफ्नो उडान सुचारु गरेको छ । त्यसअघि झन्डै चार वर्ष दुबईमा नेपाल एयरलाइन्सले उडान भर्न सकेको थिएन । विगतमा पटक पटक उडान ढिला र रद्ध हुने लगायतका समस्या देखिएपछि यात्रुले वैकल्पिक विमान सेवाको सुविधा लिन थालेका थिए । ‘विगतका समस्या नदोहोर्याउने र सेवालाई अन्तरराष्ट्रिय मापदण्ड अनुसार प्रतिस्पर्धी बनाएर लैजान हामी खटिएका छौँ’, एयरलाइन्सका युएई कन्ट्री म्यानेजर रमेश पौडेलले भने ।

लगेज व्यवस्थापनमा चुनौती
नेपाल वायुसेवा निगमले दुबईबाट नेपाल जाने यात्रुलाई सहुलियत दरमा ४० किलो सम्मको लगेजको सुविधा दिँदै आएको जनाएको छ । तर, ४० किलोको सुविधा दिएपछि दुई भन्दा धेरै ब्यागको प्रयोग गर्दा व्यवस्थापन गर्न कठिनाइ हुने पौडेलले बताए । एउटै यात्रुले धेरै ब्याग ल्याउँदा विमानले यात्रु बोक्न सक्ने क्षमता भन्दा कम यात्रु बोक्ने गरेको उनले जानकारी दिए ।

‘अहिले उडान गर्ने विमानको क्षमता एक सय ५८ जना यात्रुको हो । तर हामीले एक सय ३० भन्दा बढी टिकट बिक्री गर्दैनौँ’, उनले भने, ‘यात्रुले ल्याएको ब्याग विमानबाट फर्काउन पर्दा विमानस्थललाई प्रतिदिन दुई सय दिराम दिनुपर्छ । यात्रुले गन्तब्यमा पनि सही समयमा सामान पाउँदैनन् ।’ यस्तो समस्या आउन नदिन र विमानको तौल सन्तुलन मिलाउन झन्डै ३० वटा सिट खाली राख्नुपर्ने बाध्यता भएको उनले सुनाए ।

४० किलो लगेजमा दुईवटा मात्र ब्याग प्रयोग गरेर सहयोग गर्न उनले आग्रह गरे । उनले लगेजबाहेक सात किलोसम्म हाते झोलाको प्रयोग गर्न सकिने पनि जानकारी दिए । अहिले दिइरहेको ४० किलोको सुविधा चाडपर्बका बेला भने घट्न सक्ने उनले सङ्केत गरे । यात्रुको चाहनालाई ध्यानमा राखेर छुट्टै कार्गो सुविधा पनि सुरु गरिएको पौडेलले जानकरी दिए ।

अनलाइन बुकिङको गहृकार्य हुँदै
नेपाल एयरलाइन्सले आफ्ना ग्राहकले घरबाटै टिकट बुकिङ तथा खरिद गर्न सक्ने सुविधाका लागि अनलाइन बुकिङको गृहकार्य भइरहेको जानकारी दिएको छ । त्यसका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको युएईका लागि कन्ट्रिम्यानेजरपौडेलले जानकारी दिए । युएईका लागि नेपाल एयरलाइन्सको साझेदार सस्था एन्टाका जनरल म्यानेजर कुमार जगादीशनले विश्वको विमान तथा ट्राभलसेवा अनलाइनमा गइसकेको सन्दर्भमा नेपाल वायुसेवा निगमले पनि त्यो सुविधा दिन सक्ने बताए । अहिले नेपाल वायुसेवा निगमका प्रयोगकर्ताहरु सबैमा डेबिडकार्ड नहुने भएकाले सुविधा सुरु नगरिएको उनले बताए । भविष्यमा यो सम्भव हुने उनले प्रस्ट पारे ।

मानवीय सेवामा पनि सक्रिय
युएईका लागि कन्ट्रिम्यानेजर पौडेलले व्यवसायिकसँगै मानवीय सेवामा पनि आफूहरु अग्रसर रहेको जानकारी दिए । लामो समय उपचार सेवापछि नेपाल फर्किएका मोरङका मनबहादुर बिक लगायतको फिर्तिका लागि आफुहरुले सहयोग गरेको उनले जानकारी दिए । नेपाली नागरिकका शव घर पठाउन तथा ह्विलचियरमा बस्न सक्ने बिरामीलाई नेपाल पठाउन पनि आफुहरुले सहयोग गर्ने उनले बताए । तर हाल युएईमा उडान भर्ने विमानमा स्ट्रेचरमा बस्ने बिरामीलाई लैजान नमिल्ने अवस्था छ ।

पर्यटन प्रर्वद्धनमा सक्रियता
नेपाल एयरलाइन्सको सेवा पुगेका मुलुकबाट नेपालमा पर्यटक भित्र्याउन पहल गर्ने नीतिअनुरुप युएईबाट पनि नेपाल पर्यटक भित्र्याउन साझेदार संस्थासँग सहकार्य भएको पौडेलले जानकारी दिए । एक जना पर्यटक नेपाल जाँदा दशवटा क्षेत्रले काम गर्ने मौका पाउने भएकाले विदेशी नागरिकलाई नेपालको भ्रमणका लागि प्रोत्साहन गर्ने गरिएको उनले बताए । युएईको साझेदार संस्था एण्टाले नेपालका टुर अपरेटर्ससंगको सहकार्यमा विदेशी पर्यटक नेपाल लैजान सुरु गरेको पनि उनले जानकारी दिए ।

सम्भावना धेरै
नेपाल एयरलाइन्सले प्रशस्त सम्भावना बोकेको यसको साझेदार संस्था एण्टाका जनरल म्यानेजर कुमार जगादीशनले जानकारी दिए । ‘नेपाल एयरलाइन्स नेपालको राष्ट्रिय विमान सेवा हो’, उनले भने, ‘नेपालीमा राष्ट्रिभक्तिको भावना उच्च भएकाले नेपाल वायुसेवा निगमको भविष्य उज्जवल छ ।’ फ्लाई दुबई र एयर अरेबिया लगायतका सेवाले दिनमै तीन चारवटा उडान सेवा दिईरहेकाले नेपाल वायुसेवाले दैनिक उडान गर्नु कुरा ठुलो नभएको उनको भनाई थियो ।

अहिले युइर्एमा रहेकामध्ये दुई सय ५१ ट्राभल कम्पनीले नेपाल एयरलाइन्सको टिकट विक्री गर्न सक्ने एन्टाले जनाएको छ ।
अहिले सातामा चार दिन नेपाल वायुसेवा निगमले दैनिक एक उडान भर्दै आएको छ । नेपाल वायुसेवा निगमले दुबईबाट हरेक आइतबार, सोमबार, बुधवार र शुक्रवार बिहान साढे चार बजे र नेपालबाट शनिवार, आइतबार, मङ्गलवार र बिहीबार राति साढे ११ बजे उडान सेवा दिँदै आएको छ । युएई सरकारको तथ्याङ्क अनुसार यहाँ दुई लाख नेपालीले रोजगारी गर्दै आएका छन् ।

प्रवर्द्धन र खवरदारीका लागि सहकार्य
नेपाल पत्रकार महासङ्घ युएईले नेपाली झण्डाबाहक विमान सेवाको प्रवद्र्धन तथा यसका कमीकमजोरी सुधारका लागि खबरदारी गर्ने प्रतिबद्धता जनाएको छ । नवनिर्बाचित कार्यसमितिलाई बधाई दिन एयरलाइन्सले आयोजना गरेको कार्यक्रममा अध्यक्ष भुपराज बस्यालले यस्तो प्रतिबद्धता जनाए । नेपाल एयरलाइन्सका सकारात्मक भन्दा नकारात्मक कुरा मिडियामा धेरै आएको भन्ने एयरलाइन्स पदाधिकारीको गुनासोको जवाफ दिँदै बस्यालले नियमित रूपमा सकारात्मक र नयाँ जानकारी दिन एयरलाइन्स व्यवस्थापन आफुपनि सक्रिय हुनुपर्ने सुझाव दिए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ युएईका उपाध्यक्ष लक्ष्मण सापकोटा, कार्यसमिति सदस्य मोहन बस्याल लगायतले जिज्ञासा तथा सुझाव राखेका थिए ।
-कारोबार दैनिक

यसमा तपाइको मत

अन्य समाचार