तराई र पहाडको प्रेम कथालाई समेटेर बन्ने भयो चलचित्र


पुस २७, काठमाडौँ । पहाड र तराईबीचको तिक्तता बढिरहेका बेला नेपाली फिल्ममा त्यसैलाई आधार बनाएर ‘भिलेन’ फिल्म निर्माण हुने भएको छ । फिल्मको कथाले भने तिक्तताहरू मेटाउन भूमिका खेल्ने निर्माण पक्षको दाबी छ । नायक निखिल उप्रेती र नायिका निशा अधिकारीसहितका कलाकारहरूलाई लिएर निर्माता कपिल खत्रीले ‘भिलेन’ फिल्म बनाउन लागेका हुन् ।

खत्रीले निमार्णको बजेट झण्डै असी लाख पुग्न सक्ने अनुमान सुनाए । ‘भिलेन’को निर्माण पक्षले छिट्टै पत्रकार सम्मेलन गरेर आधिकारिक जानकारी दिने पनि जनाएको छ । द ग्लोबल पिक्चर्स प्रालिको ब्यानमा बन्न लागेको यो फिल्मका निर्देशक देवेन्द्र पाण्डे हुन् । ‘भिलेन’को छायाँकन माघ १५ गतेदेखि सुरु हुनेछ । फिल्मका निर्देशक पाण्डेका अनुसार ‘भिलेन’को कथावस्त तराई र पहाडको प्रेम कथालाई समेटेर बनाइएको छ । ‘तराई र पहाडबीचको द्वन्द्व र तिक्ततालाई ध्यानमा राखेर समाजलाई सकारात्मक सन्देश दिने उदेश्यले फिल्मको कथा तयार भएको छ’, पाण्डेले भने, ‘निखिल उप्रेती र निशा अधिकारीलाईअलिक भिन्दै रुपमा देखिने छन् ।

निर्माता कपिल खत्रीले पनि फिल्मले तराई र पहाडबीचको मायाप्रेमलाई सहज रुपमा देखाउन खोजिएको बताए । ‘भिलेन’ मायाप्रेमका साथै एक्शन फिल्म बनाइने निर्माण पक्षको दाबी छ । ‘तराई र पहाडी जिल्लाहरूमा ‘भिलेन’को छायाँकन हुन्छ’, खत्रीले भने, ‘माघको १५ देखि धमाधम छायाँकन हुनेछ । तराई र पहाडका साथै ‘भिलेन’का केही दृश्य जोमसोम लगायतका स्थानमा पनि हुनेछ । ‘भिलेन’को कथा र पटकथा मौनता श्रेष्ठको हो । ‘भिलेन’का संगीतकारमा बसन्त सापकोटा, लालकुमार बराल हुन् । फिल्मका द्वन्द्व निर्देशक शुक्रराज शाह हुन् । क्यामरामा सौरभ लामा छन् भने फिल्मको डिष्ट्रिब्यूशन सुनिल मानन्धरले गर्नेछन् ।

यसमा तपाइको मत

अन्य समाचार