दमकल स्टेसन निर्माण गरिने


माघ १५, काठमाडौं । लामो समयदेखि निजी शैक्षिक संस्था सञ्चालन गर्दै आएको काठमाडौँ महानगरपालिका–६ मा पर्ने सार्वजनिक जग्गामा महानगरपालिकाले दमकल स्टेसन निर्माण गर्ने भएको छ । कामपाले नापी विभागका कर्मचारीको सहभागितामा आज महानगरको वडा नं ६ बौद्ध रामहिटीस्थित कैलाश बोधी सेकेन्डरी स्कुलले भोगाधिकार गर्दै आएको सार्वजनिक जग्गा कित्ताकाट गरी आज उक्त निर्णय गरेको हो ।

सार्वजनिक रुपमा रहेको जग्गा तीन रोपनी १२ आना एक पैसा क्षेत्रफलसहित विद्यालयले आफ्नो निजी जमिनमा संरचना निर्माण गरी शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ । निजी लगानीमा सञ्चालित विद्यालयले २०५२ सालदेखि सो जग्गा भोगाधिकार गर्दै आएको वडा नं ६ का प्रशासकीय प्रमुख रामप्रसाद पौडेलले बताउनुभयो । विपद् व्यवस्थापनको कार्य प्राथमिकतामा राख्नुपर्ने मान्यताका साथ उक्त स्थानमा आगामी फागुन २२ गतेबाट दमकल स्टेसन निर्माणको कार्य सुरु गरिने जनाइएको छ ।

स्टेसनका लागि नक्सा बनाउने कार्य सम्पन्न भइसकेको बताउँदै जुद्ध वारुणयन्त्र कार्यालयका प्रमुख किशोर भट्टराईले दमकल स्टेसनमा दमकलसहित आवश्यक जनशक्तिका साथ विपद् व्यवस्थापनका सामग्री राखिने जानकारी दिनुभयो ।

जग्गा सीमाङ्कनको विपक्षमा रहेका स्थानीय विद्यालयले सार्वजनिक जग्गा अतिक्रमण हुनबाट बचाएकामा खुसी थिए भने केही स्थानीयवासीले विद्यालय र स्थानीयवासीसँग छलफल नगरी एकतर्फी निर्णयमा विद्यालय नजिकै दमकल स्टेसन राख्न लागेको भन्दै विरोध पनि गरेका थिए । महानगरपालिकाको पूर्वी क्षेत्रका लागि कोटेश्वरमा, पश्चिमका लागि कलङ्कीमा र दक्षिणका लागि बल्खुमा पनि दमकल स्टेसन निर्माण गर्ने योजना बनाएको जनाइएको छ । रासस शर्मिला

यसमा तपाइको मत

अन्य समाचार