नब्बे रुपियाँको औषधि एघार रुपियाँमै


माघ १८, काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालनमा ल्याएको छ ।
गतवर्ष सर्वोच्च अदालतले सरकारी अस्पतालमा आफ्नैै फार्मेसी राख्नुपर्ने आदेश जारी गरेपछि सरकारी अस्पतालले फार्मेसी राख्न सुरु गरेका हुन् । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठले सोमबारबाट विधिवत् रूपमा अस्पतालको छुट्टै फार्मेसी सञ्चालन गरेको जानकारी दिए । उनले सरकारले उपलब्ध गराएको बीउ पुँजीबाट फार्मेसी सञ्चालन गरिएको जानकारी दिँदै बाहिर निजी फार्मेसीले बेच्ने मूल्यभन्दा पाँच गुणासम्म कममा औषधि बिक्री गर्न सकिने बताए ।

अन्य औषधिमा पनि बाहिरभन्दा २० प्रतिशतसम्म छुटमा औषधि बिक्री गर्न सकिने भन्दै डा. श्रेष्ठले सार्वजनिक खरिद ऐन अन्तर्गत टेन्डरमार्फत औषधि लिएको बताए । ‘टेन्डरमार्फत औषधि लिँदा धेरै कम मूल्यमा औषधि बेच्न सकिन्छ,’ निर्देशक डा. श्रेष्ठले अस्पतालको फार्मेसीमा नेपाल सरकारले सूचिकृत गरेका सम्पूर्ण औषधि पाइने बताए ।

आमा सुरक्षा कार्यक्रम अन्तर्गत निःशुल्क गर्नुपर्ने सम्पूर्ण औषधि फार्मेसी अन्तर्गतको छुट्टै शाखाबाट वितरण गरिने जानकारी दिँदै हाललाई छ जना जनशक्तिको व्यवस्था गरेर फार्मेसी सञ्चालनमा ल्याइएको बताए । अहिले निजी औषधि पसलमा ९० रुपियाँ पर्ने आईभी क्यानोलालाई टेन्डरमार्फत् लिँदा अस्पतालले ११ रुपियाँमा बिक्री गर्दा पनि फाइदा हुने उदाहरण दिँदै उनले अन्य सर्जिकलका सामान र औषधि पनि कम मूल्यमा बिक्री गरिने बताए ।
-गोरखापत्र दैनिक

यसमा तपाइको मत

अन्य समाचार