नेपालीका भारू नोट साटिने


पुस २९, नयाँ दिल्ली । पाँच सय र हजार दरका भारतीय नोट साट्ने सम्बन्धमा तयार पारेको मोडालिटी नेपालले भारतलाई औपचारिक रूपमा बुझाएको छ। पुराना नोट साट्ने सम्बन्धमा दुई देशका उच्च अधिकारीहबका बीचमा बिहीबार नयाँ दिल्लीमा भएको वार्तामा नेपालले आफूले तयार पारेको मोडालिटी बुझाएको हो। सो मोडालिटीमा केही संशोधन गर्नुपर्ने सुझाव भारतीय पक्षले दिएकाले नोट साट्ने ठोस निर्णय हुन अझै केही समय कुनुपर्ने देखिन्छ।

वार्तामा सहभागी नेपाली अधिकारीहरूका अनुसार भारतले नेपालमा रहेका पुराना नोटहरू साट्ने सम्बन्धमा सकारात्मक र संवेदनशील रहेको प्रतिक्रिया दिएको छ। बैठकमा सहभागी एक अधिकारीका अनुसार भारतीय पक्षले दिएको सुझाव समावेश गरेपछि प्राविधिक विषयमा टुंगोमा पुगिनेछ। भारतमा पुराना नोटहरू साट्ने समयसीमा डिसेम्बर ३० मा समाप्त भए पनि नेपाललाई विशेष व्यवस्था गर्न दुई देशका अधिकारीहरूका बीचमा वार्ता भएको हो। बैठकमा नयाँ दिल्लीस्थित नेपाली दूतावासका इकोनोमिक मिनिस्टर कृष्णहरि पुष्करले सो मोडालिटीका बारेमा भारतीय पक्षलाई जानकारी गराइएको बताए । उनले भने, ‘हामीले नोट साट्ने प्राविधिक मोडालिटी हस्तान्तरण गरेका छाैं, त्यसमा भारतीय पक्षले केही फिडब्याक दिएको छ।’ पुष्करले सो मोडालिटीमा परिचयपत्र, आम्दानीको स्रोत लगायतका विषयहरूलाई स्पष्ट खुलाएर मात्र पुराना भारतीय नोटहरू साट्न सकिने लगायतका प्रावधान रहेको बताए। यद्यपि सो मोडालिटीको विषयमा छलफल सुरु भएकाले अधिकारीहरूले स्पष्ट रूपमा जानकारी दिएका छैनन् ।

पुष्करका अनुसार भारतीय पक्षले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि त्यसले नेपालमा परेको समस्या समाधान गर्नका लागि आफूहरू गम्भीर र संवेदनशील रहेको बताएका थिए।’ नेपाल र नेपालीले भोगेका वास्तविक समस्या समाधान गर्न भारतीय पक्ष सकारात्मक देखिन्छ,’ पुष्करले भने। पुराना नोट साट्ने सम्बन्धमा गैरकानुनी रूपमा कमाइएको र कालोधन साट्ने वातावरण नबनोस् भन्ने भारतीय पक्षको चासो रहेको छ। नेपाली पक्षले यस्ता विषयहरूलाई पूर्ण रूपमा सम्बोधन गर्ने आश्वासन दिएको छ। नेपालको बैंकिङ प्रणालीमा रहेका नोटको यकिन भए पनि सर्वसाधारणसँग भएको रकमको यकिन छैन। त्यसैगरी भारु सय रुपैयाँका नोटहरू सुचारु गर्ने विषयमा समेत भारतीय पक्षले सकारात्मक जवाफ दिएको नेपाली अधिकारीहरूको दाबी छ। वार्षिक रूपले भारतले दिँदै आएको ६ अर्ब रुपैयाँको पहिलो किस्ता तत्काल दिन भारत सहमत भएको छ। भारतीय रिजर्भ बैंकले दिँदै आएको भारु केही समययता दिन रोकेपछि विद्यार्थाी तथा औषधि उपचारका लागि भारत आउने नेपालीहरूले समस्या भोगेका थिए। ‘पहिलो किस्ता भारु निकासा गर्न भारतीय पक्ष तयार भएको छ, हामीले छिट्टै त्यो प्राप्त गर्छौं,’ पुष्करले भने।

नयाँ पाँच सय र दुई हजार रुपैयाँका नोट नेपालमा चलनचल्तीमा ल्याउने विषयमा समेत कुराकानी भएको थियो। भारतीय पक्षले नेपालले चाहेमा नयाँ नोट प्रचलनमा ल्याउन आफूहरूलाई कुनै समस्या नहुने बताएको छ। तर यसका लागि नेपाली पक्षले औपचारिक आग्रह भने गरेको छैन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बर ८ मा पाँच सय र हजारका नोटहरू रद्द भएको घोषणा गरेका थिए। भारतमा पुराना नोटहरू साट्ने समयसीमा डिसेम्बर ३० मा सकिएको छ। नेपालमा र भुटानमा त्यसले पारेको समस्या अझै समाधान भएको छैन ।
-कान्तिपुर दैनिक

यसमा तपाइको मत

अन्य समाचार