नेपाल–भारतमा हुने समस्याको समाधानमा युवा जुटे


माघ १५, काठमाडौं । नेपाल र भारतबीच उत्पन्न समस्याको समाधान गर्न युवा जुटेका छन् । अन्तर्राष्ट्रिय युवा समिति नेपाल शाखाले आज यहाँ आयोजना गरेको ‘प्रथम नेपाल–भारत युवा संवाद’मा नेपाल र भारतमा आइपर्ने समस्या सँगै बसेर समाधान गरिने प्रतिवद्धता जनाइएको छ । दुई देशबीचको गुणस्तरीय शिक्षा, स्वास्थ्य, विविधता जोगाउने, गरिबी न्यूनीकरण, शान्तिका लागि खेलकुद, लोपोन्मुख सांस्कृतिक सम्पदाको सुरक्षा, सामाजिक शान्ति र द्वन्द्वलाई न्यूनीकरण गर्ने विषयमा छलफल भएको हो ।

अन्तर्राष्ट्रिय युवा समितिका अध्यक्ष जयन्त पत्रले सार्क राष्ट्रका युवालाई एकीकृत गरेर यस क्षेत्रमा आइपर्ने समस्याको समाधानका लागि जुट्न यो कार्यक्रमको आयोजना गरिएको बताउनुुभयो । समितिको नेपाल शाखाका संयोजक राजकुमार कट्टेलले सबै युवालाई जुटाएर साझा समस्या समाधानका लागि यो छलफलले सहयोग पुग्ने बताउनुभयो ।

राष्ट्रिय युवा परिषद्का अध्यक्ष माधव ढुङ्गेलले नेपाल र भारतबीच एक अर्कामा विश्वासको वातावरण बनाएर अगाडि बढेमात्र दुई देशलाई फाइदा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो – “यो भेलाले नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउँछ ।” सो अवसरमा राजकुमार कट्टेलको संयोजकत्वमा १३ सदस्यीय ‘अन्तर्राष्ट्रिय युवा समिति नेपाल’ गठन गरिएको छ । जसको सल्लाहकार प्रदीप काफ्ले र सुनिल भेटवाल उपाध्यक्षमा रोचक बोहरा, बाबु इराकी, सचिव अभिषेक पौडेल, सहसचिव प्रभासप्रेम पाण्डे र कोषाध्यक्ष कुश्मा पौडेल रहनुभएको छ । रासस

यसमा तपाइको मत

अन्य समाचार