बच्चाले किन गरिरहन्छन् झगडा ? तपाईको घरमा पनि समस्या छ कि !


माघ ५, काठमाडौं । बच्चाले आफ्नो उमेरअनुसार सोच्ने, काम गर्ने तथा कुरा गर्ने गर्छ । उमेर र बौद्धिक विकास हुने कारण उनीहरूले साधारण बानीभन्दा भिन्न खालको व्यवहार देखाउँछन् । सामान्य बालकभन्दा फरक व्यवहार देखाउने अवस्थालाई बाल मनोरोग भनिन्छ । उमेरअनुसार आफ्नो क्षमताले काम गर्न नसक्नु, आवश्यकभन्दा धेरै खुसी हुनु, धेरै रिसाउनु, एउटै कुरालाई पटक–फटक दोहोर्‍याइरहनु, धेरै खुसी हुनु बाल मनोरोगका लक्षण हुन् । आफ्ना बच्चामा यस्तो लक्षण देखिएमा के गर्ने भन्ने विषयमा बाल मनोरोग विशेषज्ञ डा. अरुण कुँवरका सुझाब यस्ता छन्ः

बालबालिकालाई विद्यालयमा बालमैत्री व्यवहार भए÷नभएको परिवारले ख्याल गर्नुपर्छ । परिवारमा कसैलाई डिप्रेसन छ भने बालबालिकालाई बाल मनोरोग हुने सम्भावना धेरै हुन्छ । बच्चा स्कुल जान मान्दैन, झगडा धेरै गरिरहन्छ भने बालबालिकालाई बाल मनोरोग भएको हुन सक्छ । यस्तो अवस्थामा परिवारका सदस्यले बच्चालाई झगडा गरेको भन्दै गाली गर्नु हुँदैन ।

बालबालिकाले उमेरअनुसारको काम गरेको छ÷छैन, अभिभावकले ख्याल गर्नुपर्छ । उमेरअनुसार बालबालिका धेरै रिसाउने, चकचक गरिरहने, रातमा ननिदाउने, धेरै बेरसम्म रोइरहने, घरबाट बाहिर जान नमान्नेजस्ता भिन्नै व्यवहार देखाउन सक्छन् । यस्तोे अवस्थामा बच्चालाई बाल मनोरोग भएको हो कि भनेर अभिभावकले शंका गर्नुपर्ने हुन्छ । मनोरोगको समस्या भएका बच्चाले दिमागले गर्ने काम सही तरिकाले गर्न सक्दैनन् । उमेरअनुसार बालबालिकाको मानसिक र बौद्धिक विकास नहुँदा साधारणभन्दा भिन्न खालको बानी व्यवहार देखिने हुन्छ ।

बाल मनोरोगका कारण

बालबालिकालाई बाल मनोरोग धेरै किसिमले हुने गर्दछ । वंशाणुगत र वातावरणीय प्रभावका कारणले पनि बाल मनोरोग हुन सक्छ । नेपालमा यी दुवै कारणले बालबालिकामा मनोरोगको समस्या देखिएको छ । त्यसैले बालबालिकालाई अभिभावकले जथाभावी खेल्न र प्रदूषणबाट जोगाउनुपर्छ । बाल मनोरोग देखापरेको खण्डमा बच्चालाई साधारण व्यवहार गर्नु राम्रो मानिन्छ । उनीहरूलाई फरक किसिमको व्यवहार गर्नु हुँदैन । यदि शंका लागेको अवस्थामा तत्काल चिकित्सकको परामर्शअनुसार उपचार विधि अपनाउनुपर्छ ।

नयाँ पत्रिकाबाट

डा. अरुण कुँवर
बाल मनोरोग विशेषज्ञ
कान्ति बाल अस्पताल

यसमा तपाइको मत

अन्य समाचार