मिर्गौला रोग पीडित सेनलाई उपचारमा समस्या


रामपुर (पाल्पा), २६ पुस । दुुवै मिर्गौलामा खराबी देखिएपछि रामपुर नगरपालिका–५ डाब्राका रेमबहादुर सेनलाई उपचार गर्न समस्या परेको छ ।

दुई महिनादेखि मिर्गौलाको नियमित उपचार गराइरहनु भएका सेनलाई आर्थिक अवस्थाले गर्दा उपचारमा समस्या परेको हो ।

एक वर्षअघि रोजगारीका लागि साउदी अरब पुग्नुभएका सेन उच्च रक्तचापको समस्या देखिएपछि नेपाल फर्किनुभएको थियो । स्वास्थ्यमा समस्या आएपछि काठमाडौँको मेडिकेयर नेसनल हस्पिटलमा परीक्षण गर्दा दुवै मिर्गौलामा समस्या भएको अस्पतालले जानकारी गराएपछि सेन चिन्तित बन्नुभएको छ ।

अस्पतालमा चारपटक परीक्षणपश्चात् मिर्गौलामा समस्या रहेको डाक्टरले बताएपछि डायलाइसिस गर्ने वा मिर्गौला प्रत्यारोपण गर्ने भन्नेमा आफू पुुगेको सेनले बताउनुभयो ।

मिर्गौला प्रत्यारोपणमा रु छ लाख रकम लाग्ने भएपछि उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गर्नुभएको छ । सहयोग गर्न चाहने सङ्घसंस्था र व्यक्तिले राष्ट्रिय वाणिज्य बैंकको खाता नं ३५१०००१६३९१० मा रकम सङ्कलन गरी नयाँ जीवनका लागि उहाँले सबैसँग अनुरोध गर्नुभएको छ ।

उपचारमा अहिलेसम्म रु एक लाखभन्दा बढी खर्च भइसकेको र थप उपचार कसरी गर्ने हो भन्ने चिन्तामा पिरोलिनुभएको छ । सरकारले मिर्गौलाका रोगीलाई उपचार खर्च निःशुल्क गर्ने भनिए पनि वीरअस्पतालमा पुग्दा सहयोगको कोटा नभएको बताएपछि झनै चिन्तित बन्नुभएको छ ।

सरकारको सहयोग पाउनका लागि आफू सामान्य परिवार र पहुँचवाला व्यक्ति नभएकाले समस्या परेको उहाँले गुनासो गर्नुभयो । रासस

यसमा तपाइको मत

अन्य समाचार