यसकारण बढिरहेछ असोजसम्ममा उपत्यकामा मेलम्ची आइपुग्ने सम्भावना


पुस २१, काठमाडौं । तोकिएको समयमा मेलम्चीको पानी काठमाडौँ आइपुग्ने सम्भावना बढेको छ । मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ निर्माणको काम अब ५.४ किमि मात्र बाँकी हुँदा २०७४ असोज महिनाअघि नै पानी ल्याउन सकिने अनुमान गरिएको छ । मेलम्ची खानेपानी विकास समितिले पनि सोहीअनुसार काम भइरहेको जनाएको छ ।

समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले आफूहरू उपलब्धिनजिक रहेको र उत्साहित भएको बताए । उनले भने, ‘२०७४ असारसम्म टनेल (सुरुङ) सम्पन्न गर्ने र बाँकी अवधिमा टनेलको फिनिसिङ गरेर असोज मसान्तसम्ममा पानी ल्याउने योजना छ । ’ उनका अनुसार अब टनेलको काम २० प्रतिशतमात्र बाँकी छ ।

सुन्दरीजल–सिन्धु खण्डको सुरुङ जोडिइसकेको छ । सिन्धु–ग्याल्थुम र ग्याल्थुम–अम्बाथान खण्ड जोडिन बाँकी छ । डिसेम्बर महिनामा दैनिक करिब २० मिटरका दरले सुरुङ खनिएको थियो भने जनवरीबाट गति बढाउने समितिले जनाएको छ । सोही अनुपातमा सुरुङ खन्ने हो भने पनि अब ६ महिनामा सुरुङ खन्ने काम सम्पन्न हुनेछ । यसले निर्धारित समयमा काम सम्पन्न हुने देखाएको छ ।

तोकिएको समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई थप नयाँ उपकरण ल्याउन समितिले निर्देशन दिएको छ । दुवाडी भन्छन्, ‘ठेकेदारलाई पनि हामीले व्यवस्थापकीय क्षमतामा सुधार गर्न निर्देशन दिएको छौँ, उपकरण पुराना भएकाले पटक–पटक बिग्रिने समस्या देखिएको छ, बिग्रेपछि मर्मत गर्न समय लाग्ने र नयाँ किन्न पनि महँगो पर्ने रहेछ, त्यसैले अहिले हामीले मौजुदा (जगेडा) उपकरण पनि लिएर राख्न भनेका छौँ ।’

हाल काम भइरहेको सिन्धु ग्याल्थुम खण्डमा कमजोर पहाड भएकाले ढिलो काम हुने हो कि भन्ने आशङ्का समितिलाई छ । कडाभन्दा कमलो चट्टानमा काम ढिला हुनेगर्छ । विस्फोट गर्दा कम चर्किने र माटो झरिहरने हुँदा काममा ढिलाइ हुनसक्छ । त्यस्तो अवस्था आइहाल्यो भने अलिकति पर सर्न सक्ने आँकलन दुवाडीको छ । उनी भन्छन्, ‘प्राविधिक कठिनाइका कारण केही दिनपछि सर्ला तर हामी समयमै काम सक्दैछौँ र यसमा सबैको सहयोग पनि भइरहेको छ ।’ निर्माण कम्पनीसँग सन् २०१६ सप्टेम्बरसम्मको सम्झौता गरिएको थियो । काम सम्पन्न नभएपछि छ महिना थप गरियो । सुन्दरीजल र सिन्धु जोडिएपछि काममा निकै सहज भएकाले पनि समयमै सकिने बताइएको छ ।

सुरुङ निर्माणको कामसँगै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आइसकेपछि प्रशोधन, भण्डारण तथा घरघरमा वितरणका लागि पाइप लाइनको काम पनि तीव्र पारिएको छ । उपआयोजना–२ अन्तर्गत पहिलो चरणको पाइपलाइन विस्तारको कार्य पनि सोही समय अगावै सम्पन्न गरिने भएको छ । आयोजना कार्यान्वयन निर्देशनालयले पहिलो चरणमा वितरण सञ्जाल सुधारअन्तर्गत ६७० किमि गर्नुपर्नेमा ४७० किमि सम्पन्न भएको छ ।

निर्देशनालयका प्रवक्ता लीला ढकालले भने, ‘पहिलो चरणको पाइपलाइन विस्तारको काम आगामी सात महिनाभित्रै सकिन्छ, हामीले रातदिन गरेर पाइपलाइन विस्तारको काम गरेका छौँ, सबै निकायबाट सहयोग भएको छ समयमै सकिन्छ, हाल दैनिक एक किमि विस्तार भइरहेको छ । ’ निर्देशनालयका अनुसार मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई सोही स्थानमा प्रशोधन गरी उपत्यकाका विभिन्न स्थानमा वितरण गरिने छ । सुन्दरीजलबाट प्रमुख वितरण लाइन हँुदै चक्रपथका विभिन्न स्थानमा पानी ट्याङ्की निर्माणको काम भइरहेको छ ।

काठमाडौँको आरुबारी, महाँकाल चौर, बाँसबारी, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारमा पानी सङ्कलन केन्द्र (ट्याङ्की) को निर्माण अन्तिम चरणमा पुगेको प्रवक्ता ढकालले जानकारी दिनुभयो । ३३ किमि ठूलो पाइप बिछ्याइएको छ । मेलम्ची उपआयोजना २ अन्तर्गत दोस्रो चरणको पाइपलाई विस्तारमा थप सात सय किमि विस्तार गरिने छ ।

मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउने छ । तर दोस्रो चरणको परियोजना सुरु भएपछि याङ्री र लार्के खोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५२ करोड लिटर पानी आउने छ । याङ्री र लार्के खोलाको पानी मेलम्चीको सुरुङ मार्गमा मिसाउन थप ९ किमि सुरुङ खन्नुपर्ने हुन्छ । समितिका अनुसार सन् २०१८ देखि २२ सम्ममा याङ्री र लार्के खोलाको पानी पनि आउने छ ।
-गोरखापत्र दैनिक

यसमा तपाइको मत

अन्य समाचार