सरकार निर्वाचनबाट भाग्न खोजेको छ– उपनेता नेम्वाङ


माघ १५, विराटनगर । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले निर्वाचन गर्न नचाहेको आरोप लगाउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले सोही कारण निर्वाचनसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारले आलटाल गरिरहेको आरोप लगाउनुभयो । सरकारले निर्वाचनको सम्बन्धमा सार्वजनिक प्रतिबद्धता जनाएको भएपनि उहाँले निर्वाचनसम्बन्धी दुईवटा विधेयक ल्याएको भनेर जनतालाई भ्रमित गर्न खोजेको धारणा प्रकट गर्नुभयो ।

पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्नेमा सो नगर्ने काम संविधानविपरीत भएको भन्दै उहाँले सरकारले जिम्मेवारी वहन नगरी निर्वाचनबाट भाग्न खोजेको आरोप लगाउनुभयो । उहाँले २०७४ माघभित्र तीनवटै तहको निर्वाचन हुनुपर्ने उल्लेख गर्दै निर्वाचनको वातावरण विगार्न संविधान संशोधनको विधेयक सरकारले ल्याएको विचार प्रकट गर्नुभयो । असन्तुष्ट पक्षसँग सम्वाद गर्ने पक्ष राम्रो भएपनि कसैको चित्त नबुझेको बहानामा निर्वाचनलाई रोक्नु नहुने उहाँले उल्लेख गर्नुभयो । रासस

यसमा तपाइको मत

अन्य समाचार