सुन्दर सिर्जनामा कलिला हात, कसले हेर्ने उनीहरूका दु:ख


माघ १४, काठमाडौँ । जरी, सितारा र पोतेका विभिन्न रङ र डिजाइनले भरेका साडी र ब्लाउज, कुर्ता सलवार वा लेहेँगाले धेरै महिलाले आफूलाई सुन्दर बनाएर हिडेका हुन्छन्। बिहेवारी होस् वा पूजापाठ वा अन्य सामाजिक जमघट त्यस्ता महङ्गा साडीको प्रदर्शन गर्न महिलावीच होडबाजी नै चलेको हुन्छ। तर त्यस्ता आकर्षक कपडा तयार गर्नका लागि कति अवोध बालबालिकाको बालापन नष्ट भैरहेको होला, कतिका हातका औला तिखा सियोले छियाछिया भएका होलान् र जरी बनाएका घाउबाट रगत बगिरहेका होलान् भनेर सोच्ने फूर्सद सायदै कसैलाई होला।

निकै ठूलो बजार हिस्सा ओगटेको साडी, लेहेँगा, कुर्था सलवार, ब्लाउज जस्ता कपडा इम्ब्राइडरीमा प्रयोग हुँदै आएका बालश्रमिकका बारेमा न त सरकारले कुनै जानकारी राखेको छ न त बालअधिकारका वकालत गर्छौँ भन्ने गैरसरकारी संघसंस्थाहरुले चासो देखाएका छन्। सस्ता, इमानदार, छिटा छरिता र सिपालु श्रमिकका रुपमा तराईका विभिन्न क्षेत्रबाट राजधानी ल्याइएका बालबालिका यस्ता कार्यमा संलग्न हुँँदै आएका छन्। काठमाडौँ वरपरका ग्रामीण भेगमा अत्यन्तै अस्वस्थकर वातावरणमा बसेर बालबालिकाले इम्ब्राइडरीको काममा संलग्न हुँदै आएको पाइन्छ।

कागेश्वरी मनहरा नगरपालिकामा पर्ने काँडाघारीस्थित एक कारखानमा विहीबार दिनको १२ बजे पुग्दा अन्दाजी १० वर्षका रोशन पवेश साडीमा पोते र जरी भर्न निकै तल्लिन थिए। उनका साना र चिसोका कारण निला भएका हात साडीको बुट्टामा पोते भर्न मेशिन जस्तै चल्दै थिए। उनी जस्तै अन्य सहकर्मी पनि भर्खर खाना खाएर काम गर्ने सुरसार गर्दै थिए। सर्लाही घर बताउने रोशन विगत दुई वर्षदेखि उक्त कारखानामा काम गर्दै आएको कारखाना सञ्चालक कमल शा बताउन्हुन्छ। १० वर्षीय बालकले दैनिक कति घण्टा काम गर्छन् उनैलाई थाहा छैन। उनका मालिक कमल शा भने काम सिक्दै गरेकाले रोशनलाई मासिक छ हजार रुपियाँ तलब र खाना बस्न दिएको दाबी गर्नुुहुन्छ। रोशन आफूले पाउने मासिक छ हजार रुपियाँ गाउँमा नै रहनु भएको आमाले बुझ्ने गरेको बताउँछन्।

रोशन जस्तै उक्त कारखामा ५५ जना विभिन्न उमेर समूहका बालकहरुले काम गर्दै आएको शा बताउनुहुन्छ। अधिकाँश बालबालिका सर्लाहीका गाउँबाट ल्याएर तालिम दिदै काममा लगाइएको शा को भनाइ छ। गाउँमा गरिबीको कारण खाना लगाउन समस्या परेका परिबारका बालबालिकालाई ल्याएर सिप सिकाउँदै रोजगारी दिएको उहाँको भनाइ छ। मैले तालिम दिएका कालिगढ न्यूरोडका ठूला ब्यापारी भैसके उहाँ गर्वका साथ भन्नुहुन्छ। कुनै समय नेपाली गलैचामा बालश्रमिक प्रयोग भएको समाचार बारम्बार आएपछि र त्यस्ता गलैचा अन्तराष्ट्रिय बजारमा निर्यात हुन नै रोक लागे पछि सरकारले गलैचा कारखानामा बालश्रम प्रयोगमा कडाई गर्दै आएको छ। त्यस्तै इटा भट्टमा पनि सरकारी निकायले बालश्रमिक प्रयोगमा कडाई गर्दै आएको छ।

तर इम्ब्राइडरीको क्षेत्रमा कसैले चासो नदिएका कारण अधिक बालश्रमिक प्रयोग भइरहेका छन्। यस क्षेत्रमा बालश्रमिक प्रयोग भएको बारेमा आफूहरुलाई जानकारी भएसम्म सम्बन्धित निकायलाई रोक्न लगाउने गरेको जवाफ महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय बालबालिका महाशाखाका प्रमुख शंकर पाठक बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ बालश्रमको बारेमा हेर्ने निकाय श्रम मन्त्रालय हो। तर श्रम मन्त्रालयका प्रवक्ता गोेविन्दमणी भूर्तेलले भने आफूहरु श्रमिकले तोकेको पारिश्रमिक पाए पाएनन भनेर मात्र हेर्ने निकाय भएको बताउनुहुन्छ।
-गोरखापत्र दैनिक

यसमा तपाइको मत

अन्य समाचार