३७ न्यायाधीश र ७० सरकारी वकिल रिक्त


माघ ७, काठमाडौं । उच्च अदालतमा ८० न्यायाधीश नियुक्तिसँगै जिल्ला अदालतमा ३७ न्यायाधीश पद रिक्त भएको छ । सरकारी वकिल समूहतर्फ ७० दरबन्दी रिक्त छ । उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका जिल्ला न्यायाधीशको पद रिक्त भएको हो । अब न्यायपरिषद्ले न्याय सेवातर्फका न्याय, कानुन र सरकारी वकिल समूहबाट र खुला प्रतिस्पर्धाका आधारमा जिल्ला न्यायाधीश छनोट गर्नुपर्नेछ । जिल्ला अदालतहरूमा दुई सय ३७ न्यायाधीश दरबन्दी छ ।

सरकारी वकिल समूहको रिक्त दरबन्दीमा लोकसेवा आयोगले पदपूर्ति गर्ने गर्छ । तर, आयोगले चासो नदिँदा ७० दरबन्दी रिक्त रहेको महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले बताए । उनका अनुसार उपन्यायाधिवक्ता र जिल्ला न्यायाधिवक्ताको सात दरबन्दीसहित सबै रिक्त पद शाखा अधिकृतका हुन् ।जिल्लामा सातौँ तहका जिल्ला न्यायाधिवक्ता र उच्च अदालतमा उपन्यायाधिवक्ताले बहस गर्ने गर्छन् । सरकारी वकिलतर्फ छैटौँ तहका अधिकृत पनि बहसमा संलग्न हुन्छन् ।

प्रतिस्पर्धाबाट जिल्ला न्यायाधीश छनोट
न्याय प्रशासन ऐनको पछिल्लो संशोधनले ८० प्रतिशत पदपूर्ति प्रतिस्पर्धाबाट गर्नुपर्ने नयाँ व्यवस्था गरेको छ । यसअघि न्याय सेवाका कर्मचारीबाट न्यायपरिषद्ले जिल्ला न्यायाधीश छनोट गर्ने गरेको थियो । नयाँ व्यवस्थाअनुसार जिल्ला न्यायाधीश नियुक्तिमा खुलाबाट ४० र आन्तरिकबाट ४० प्रतिशतका आधारमा प्रतिस्पर्धा गराइनेछ ।

काठमाडौंमा दरबन्दीभन्दा १४ न्यायाधीश बढी
काठमाडौं जिल्ला अदालतमा तोकिएको दरबन्दीभन्दा बढी १४ न्यायाधीश कार्यरत छन् । १९ दरबन्दी रहेकोमा काठमाडौंमा ३३ न्यायाधीश कार्यरत छन् । तत्कालका लागि रिक्त जिल्लामा उनीहरूलाई पठाउने सकिने न्यायपरिषद्का एक सदस्यले बताए ।
-नयाँ पत्रिका

यसमा तपाइको मत

अन्य समाचार