उपत्यकामा पेट्रोल अभाव


काठमाडौं, ८ फागुन । नयाँबजार बस्ने शिव जिसीले शनिबार मोटरसाइकलमा पेट्रोल भर्न चारवटा पम्प चहारे । त्रिपुरेश्वरको जयन्ती आयल स्टोरमा पेट्रोल भर्न लाइन बसेका जिसीले नयाँ बजार, भद्रकाली, सुन्धाराको पम्पमा तेल नपाएपछि त्यहाँ पुगेको बताए । ‘घुम्दाघुम्दा यहाँ आइपुगेको छ,’ शनिबार साँझ जिसीले भने, ‘पैसा तिरेर पेट्रोल हाल्न पनि यस्तो सास्ती ।’

आजको नागरिक दैनिकमा खबर छ– शनिबार पेट्रोल भर्न भौंतारिने जिसी एक्ला होइनन् । उपत्यकाका अधिकांश पेट्रोल पम्पमा तेल नपाएपछि सर्वसाधारणले दुःख पाएका छन् । शुक्रबार ट्यांकरचालक आन्दोलनले पेट्रोलियम पदार्थ ढुवानी भएन ।

शनिबार नेपाल आयल निगमले तेल उपलब्ध नगराउँदा उपत्यकामा डिजेल र पेट्रोल अभाव भएको पम्प सञ्चालक बताउँछन् ।

निगमको थानकोट डिपोमा तेल भएपनि शुक्रबार र शनिबार आपूर्ति नहुँदा बजारमा अभाव देखापरेको हो । निजीमात्र नभएर सरकारी पम्पलेसमेत तेल नदिएपछि उपभोक्तालाई सास्ती भयो ।

एक दिन अवरोध हुनासाथ बजारमा पेट्रोलियम अभाव हुने अवस्थामा निगमको व्यवस्थापन कमजोर हुँदा पटक पटक यस्तो हुने गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार