माओवादी द्वन्द्वमा घाइते सिपाहीको कारुणिक कहानी : मृत्यु जितेर संगीत अंगले


काठमाडौं, १ फागुन – टिका बोम्जन नेपाली सेनाका लेस नायक हुन् अहिले पनि । सर्लाहीको राजघाटमा जन्मेका टिकाको २०५९ मंसीर १३ गते जीवनको कहालीलाग्दो दिन हो ।

माओवादी जनयुद्ध उत्कर्षमा रहेको त्यसबेला उनी नगरकोटको रिपिटर टावरको सुरक्षार्थ त्यहाँ खटिएका थिए । श्री नयाँ गोरख गणका सिपाही टिका लगायत अन्य सिपाहीहरु त्यसदिन हाई अलर्ट थिए ।
१३ गते राती रोहिणी भञ्ज्याङबाट माओवादीले एकतर्फि रुपमा फायरिङ शुरु गर्याे । टिकाले भने, ‘हामीले पनि जवाफी फायरिङ गर्यौं ।’ त्यो रातभरि उनीहरुले एकअर्कालाई निशाना बनाइराखे । भोलिपल्ट विहान युद्ध स्थगित भयो र केही सेन्ट्रीहरुलाई छोडेर उनीहरु आराम गर्न गए ।
केही क्षण आराम गरेर १४ गते विहान ९ वजे टिका लगायत सिपाहीहरु रातीको आक्रमणबाट विग्रिएको संरचना निर्माणमा जुटे । त्यसैबेला रातभरिको थकाइ र अनिदो रहेका टिका बम्जन एक्कासी चिप्लन पुगे र उनले केही समाएर अडिन खोज्दा हाइ भोल्टेजको करेन्टको तारमा समात्न पुगे । ‘त्यसपछि म बेहोस भएँ, मलाई केही थाह भएन’, टिकाले भने, ‘होस खुल्दा बीरेन्द्र सैनिक अस्पतालमा रहेछु । उपचारको क्रममा उनको होस् खुल्दा देब्रे हात काटिएको थियो ।’

दाहिने हात पनि काटियो

पछि होस खुल्दा मेरो दाहिने हात मात्र बाँकी थियो । टिकाले भने डाक्टरहरुले दाहिने हातको औंला चलाउन लगाउँदा मैले चलाउन सकिन । उनका अनुसार दाहिने हातको माथिल्लो भागसम्मै संक्रमण भएकोले १९ गते उनको दाहिने हात पनि काटियो ।

उनले भने मैले आफैंले हेर्दाहेर्दै दुईवटै हात गुमाएँ । मैले शतप्रतिशत आत्महत्याको बाटो रोजें त्यसपछि । हात काटिंदा उनी मात्र २१ वर्षका थिए । भन्छन् , ‘२१ वर्षको उमेरमा दुवै हात काटिंदा कस्लाई बाच्न मन हुन्छ र ?’ अस्पतालमै रहँदा उनले पटक-पटक हाम फालेर आत्महत्या गर्ने प्रयास गरेको बताए ।

जागिरको ४ वर्ष अवधी मात्र पुगेका उनले मर्नको लागि विभिन्न उपाय रोजे तर उनीसँग एउटा मात्र विकल्प थियो हाम फाल्ने । उनी भन्छन्, ‘ विष खाउँ, मलाई कस्ले विष खुवाउँछ ? पासो लगाउन पनि सक्दिन । त्यसैले ३/४ तलाबाट हाम फाल्छु भन्ने मात्र दिमागमा आउँथ्यो ।’ उनले थपे, ‘अस्पतालबाट निस्कन पाए मर्थें भन्ने लाग्थ्यो ।’

दोस्रो जन्म

जीवन मरणको दोसाँधमा रहेका टिका वम्जनले यसै क्रममा ‘मेरो कथा मेरो गीत’ भन्ने रेडियो कार्यक्रममा आफ्नो कथा व्यथा सार्वजनिक गरे । उनले आफ्ना साथीलाई कथा सुनाए र उनले लेखिदिए टिकाको मार्मिक कथा । हुन त अहिले उनी मुखले नै कलम च्यापेर लेख्न सक्छन् ।
टिकाले सुनाए, त्यो कथा सार्वजनिक भएपछि उनलाई हौसला र प्रेरणाको ओहिरो नै लाग्यो र उनी बाँचेर केही गर्ने उत्साहका साथ कर्ममा होमिए । उनले नेपाल आर्मीका अफिसरहरुसँग आफू संगीतको क्षेत्रमा लाग्ने बताए र स्विकृति पनि पाए । संगै शुभेच्छा पनि ।

उनले भेटेका सबै अपाङ्गहरु उनका प्रेरणाका श्रोत हुन् । उनमा रहेको गायनको सोखलाई यही दुर्घटनाले फक्रने मौका दियो । उनकी जीवनसंगीनी सृष्टी तामाङ उनको लागि सबैभन्दा अग्रणी प्रेरणा हुन् भने झमक कुमारी घिमिरेबाट पनि उनले धेरै कुरा सिकेका छन् ।

आफू जस्तै अपाङ्गहरुलाई उनी हतास नहुन आग्रह गर्छन् अहिले । एउटा चोटले जीवनको अन्त्य नहुने उनको धारणा छ । उनी भन्छन् , ‘मेरा दुबै हात छैनन् तर म प्रविधीलाई साथ लिएर गीतसंगीतको काम गर्छु ।’

बाँच्नको लागि संगीत रोजें

गान्धर्व संगीत विद्यालयमा संगीतकार चन्दन कुमार श्रेष्ठ उनका गुरु हुन् । कुनै बेलामा अहिलेका चर्चित गायक शिव परियारसँगै गाउँदै – बजाउँदै गरेर हुर्केका टिका संगीतकर्मबाट बाँचेका कलाकार हुन् ।

जीवनको नयाँ गोरेटोमा लम्किरहेका यी सिपाहीले संगीत मार्फत युनिक अवार्ड, मिराकल अवार्ड र एभरेष्ट अवार्ड पाइसकेका छन् । गीत गाउने, लेख्ने र संगीत गर्ने थोरै मात्र मान्छेमा यिनी पर्छन् । नेपाल आर्मीको भरपुर सहयोग रहेको बताउने टिकालाई उनको सहयोगको लागि एकजना सिपाही पनि दिएको छ ।

संगीतमा उनलाई सहयोग गर्ने नेपालका तवलाबादक भुवन गन्धर्व र संगीतकार पवन वाङ लामाको एउटा सराहाना गर्न चुक्दैनन् उनी ।  सहयोगी सिपाही कल्याण चौलागाईंको साथमा उनी अहिले काठमाडौंका स्टुडियोहरुमा भेटिन्छन् । उनलाई कपडा लगाइदिने, खाना खुवाइदिने काम उनका सहयोगीले गरिदिन्छन् ।

जीवनलाई सकारात्मक रुपमा बुझेका टिकालाई अहिले देश-विदेशमा हुने सांगीतिक कार्यक्रममा भ्याइनभ्याइ छ । उनको संगीतमा नेपालका प्रायः सबै चर्चित कलाकारले गाइसकेका छन् ।

उनको लेखन, संगीत र स्वरमा झण्डै ५०० गीतहरु रेकर्ड भइसकेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार