मेलम्ची खानेपानी आयोजनाको ८५ प्रतिशत पाइप बिछ्याउने काम सम्पन्न


माघ १९ , काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले ८५ प्रतिशत खानेपानीको पाइप बिछ्याउने काम सम्पन्न भएको दाबी गरेको छ। मेलम्ची खानेपानी आयोजना निर्देशनालयका अनुसार मुख्य र सहायक पाइप लाइन तथा धारा जडान प्रक्रिया तीव्ररुप अघि बढिरहेको छ। निर्देशनालयका प्रमुख त्रिरेशप्रसाद खत्रीले असोजमा सबै काम सम्पन्न हुने दाबी गरे। ‘मुख्य पाइप प्रणाली असारमा र सहायक असोजमा वितरण कार्य सकिन्छ,’ उनले भने, ‘त्यसपछि दोस्रो चरणको कामको प्रक्रिया अघि बढ्छ।’ मेलम्ची खानेपानीको सुरुङपछि दोस्रो ठूलो पाइप विछ्याउने काम मानिन्छ।

६ सय ७० मध्ये ५ सय ३० किमि शाखा पाइप बिछ्याउने काम भइसकेको उनले बताए। ‘रात दिन गरेर पाइप विछ्याउने काम गरेका छौं,’ उनले भने, ‘मुख्य ४ किमि र शाखा दैनिक ३० देखि ३५ किमि पाइप विछ्याइ रहेका छौं, दिउँसो यातायात व्यवस्थापनमा समस्या नहोस भनेर निकै सजग छौं।’

यही अनुपातमा काम भए पहिलो चरणको काम अगामी भदौअघि नै सकिने दाबी उनले गरे। पाइप लाइनखन्दा निस्केको माटो उडेर राजधानीको वातावरण धुलाम्मे भएको भन्ने जनगुनासो बढेको भन्दै उनले त्यसका लागि ‘ब्रुमर’ ल्याउन लागेको उनले बताए। ‘सडकमा भएको ठूलो सफा गर्न ब्रुमर ल्याउँदै छौं, सडक विभागसँग कुरा गरिसकेका छौ’ उनले भने, ‘ब्रुमर आयोजनाले ल्याउँदैछ।’

८० हजार खानेपानीको धारामध्ये ३५ हजारभन्दा बढी जडान भइसकेको उनले बताए। ६ वटा पानी पोखरीमध्ये ४ वटाको अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको उनले बताए। खुमलटार, बाँसबारी, महाकाल चौर र बालाजुको पानीपोखरीको निर्माण कार्य अन्तिम चरणमा रहेको उनले बताए। महाराजगंगस्थित पानीपोखरी र आरुबारीको पानी पोखरीहरुको निर्माणधीन रहेको उनले बताए।

लामो समयदेखि राजधानीवासीको प्रतीक्षा बनेको मेलम्चीको पानी उपत्यकामा समानुपातिक वितरणका लागि ४९ हजारभन्दा बढी घनमिटर क्षमताका ९ वटा पानी पोखरी निर्माण हुने खत्रीले बताए। ती पानी पोखरीबाट मुख्य पाइप र त्यसपछि सहायक पाइपमा पानी पठाइने उनले बताए। सहायक पाइप लाइनबाट सामानुपातिक प्रणालीबाट प्रत्येक व्यक्तिको घरमा पानी वितरण गरिने उनले बताए।

रिङरोडभित्रका लागि ६ र बाहिरका लागि ३ वटा पानी पोखरी निर्माण हुनेछन्। रिङरोडभित्रका लागि आरुबारी, महांकालचौर, बाँसबारी, बालाजु, पानीपोखरी र खुमलटारमा तथा बाहिरका लागि कोडकु, सल्लाघारी र धोबीघाट पोखरी निर्माण गरिनेछ।
-कान्तिपुर दैनिक

यसमा तपाइको मत

अन्य समाचार