राजनीतिक भर्ति केन्द्र भएको कारण हुन सकेन कर्णाली क्षेत्रको पर्यटन विकाश


जुम्ला, ५ फागुन । राजनीतिक भर्ती केन्द्र बनेकै कारण यहाँको पर्यटन विकास हुन नसकेको कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, जुम्लाका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्यायले बताउनुभएको छ । पर्यटन योजना निर्माणसम्बन्धी पत्रकारसँग बुधबार भएको छलफल कार्यक्रममा कार्यकारी निर्देशक उपाध्यायले यो कुराको खुलासा गर्नुभएको हो । विसं २०६७ सालमा समिति स्थापना भएदेखि करोडौँको बजेट यहाँ आए पनि राजनीतिक आस्थाका आधारमा जनशक्ति भर्ती गरिँदै आएकाले पर्यटन पूर्वाधार विकासमा बाधा पुगेको उहाँको भनाइ थियो ।

“एक÷दुई लाखका टुक्रे योजनाबाट मठमन्दिर बाटोघाटोमा बजेट खर्च गरी जीविकोपार्जन गर्ने काम भयो, तर ठोस योजना बन्नै सकेनन्,” उहाँले भन्नुभयो । आगामी वर्षदेखि पर्यटन पूर्वाधार विकासका लागि योजना निर्माण गर्न र नीतिगतरुपमा यसलाई अघि बढाई कर्णालीलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यले यहाँका राजनीतिक दल, उद्योग वाणिज्य सङ्घ, पर्यटन तथा होटल व्यवसायी र गैसस लगायतका सबै सरोकारवालासँग छलफल चलाइएको उहाँको भनाइ थियो ।

छलफलमा पत्रकारले कर्णालीका पर्यटकीयस्थलको पहिचान नभएको र तिनको अभिलेख पनि समितिले नराखेको औँल्याएका थिए । धुलो उडाएर बजेट सिध्याउन नहुने भन्दै उनीहरुले धार्मिक, कृषि र पर्या–पर्यटनसँग आधारित गुरुयोजना निर्माण गरी अघि बढ्न सुझाए ।

साथै, उनीहरुले पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार कार्यलाई व्यापक बनाउन आग्रह पनि गरे । कार्यकारी निर्देशक उपाध्यायले कर्णालीसँग सम्बन्धित विभिन्न क्षेत्रका पर्यटकीयस्थलको अभिलेखीकरण गर्न सूचना केन्द्रको स्थापना गर्ने बताउनुभयो ।

 

यसमा तपाइको मत

अन्य समाचार