राप्रपामा अध्यक्षको उम्मेदवारी महँगो


काठमाडौं, ८ फागुन । कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति उल्टिएपछि राप्रपा महाधिवेशनमा नेतृत्वको रस्साकस्सी भएको छ ।

आजको नयाँ पत्रिकामा खबर छ– नेताहरूबीच आइतबारसम्म कुनै सहमति नभए अध्यक्षमा पार्टी अध्यक्ष थापा र राष्ट्रिय अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीबीच प्रतिस्पर्धा हुनेछ । आइतबार दिउँसो अध्यक्षसहित केन्द्रीय सदस्यको उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

राप्रपामा उम्मेदवारी दर्ता गराउन मात्र ७ हजारदेखि ५० हजार रुपैयाँ तोकिएको छ । प्रवक्ता राजाराम श्रेष्ठका अनुसार अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउन ५० हजार शुल्क लाग्नेछ ।

केन्द्रीय सदस्यले सात हजार रुपैयाँ बुझाउनुपर्नेछ । शनिबार नै मतदाता नामावली सार्वजनिक गरिएको छ । उम्मेदवारी दर्तासहितका निर्वाचनका प्रक्रिया आइतबार हुने र सोमबार मतदान हुनेछ ।

नेता लोकेन्द्रबहादुर चन्दको निवासमा गत बुधबार भएको बैठकमा अध्यक्ष थापालाई सर्वसम्मत बनाउन चन्द, थापा, पशुपतिशमशेर राणा र डा. लोहनीबीच सहमति भएको थियो । तर, लोहनीले पार्टी एकताको स्पिरिटलाई विलयका अर्थमा बुझिएको भन्दै आफू अघि बढ्ने सार्वजनिक गरेपछि नेतृत्वमा भीडन्त हुने भएको हो । लोहनीले शुक्रबार महाधिवेशन उद्घाटन समारोहमा पनि शक्ति सन्तुलनमा सहमति भए मात्र थापालाई सर्वसम्मत बनाउन सकिने प्रस्ट भनाइ राखेका थिए । ‘दुई पक्ष मिलेर महाधिवेशनमा जाँदै छौँ । त्यसैले दुवैको शक्ति सन्तुलन भएर जाने हो भने सहमति हुन्छ,’ उनको भनाइ थियो । अन्यथा आफूहरूले उम्मेदवारी घोषणा गर्ने जनाउ उनले दिएका थिए ।

लोहनी अध्यक्ष मात्र नभएर पदाधिकारीसमेत प्रतिनिधिले चुन्न पाउनुपर्ने पक्षमा छन् । राप्रपामा पदाधिकारीमा अध्यक्षको मात्र चुनाव हुँदा २३ पदाधिकारी अध्यक्षले मनोनीत गर्ने प्रावधान छ । यस्तो व्यवस्था राख्दा पार्टी एकता गरेकोभन्दा विलय गराएको सन्देश जाने डरका कारण लोहनीको अडान सार्वजनिक भएको निकटस्थले बताएका छन् । स्रोतका अनुसार पूर्वअध्यक्ष राणाले पनि लोहनीलाई मौन समर्थन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार