राप्रपा अध्यक्षको उम्मेदवारी दर्ता शुल्क ५० हजार


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क ५० हजार तोकेको छ। सोमबार बिहान ७ बजेबाट सुरु हुने मतदान प्रक्रिंयाका लागि अध्यक्षका उम्मेदवारले उम्मेदवारी दर्ता गर्न ५० हजार शुल्क तोकिएको राप्रपाले जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीचको एकतापछि जारी महाधिवेशनमा सोमबार हुने मतदानका लागि आइतबार प्रक्रिया सुरु हुँदै छ ।

राप्रपाको निर्वाचन समितिले मनोनयन दर्ता बिहान १० बजेपछि सुरु हुने बताएको छ। प्रवक्ता राजाराम श्रेष्ठका अनुसार अध्यक्षका उम्मेदवारले ५० हजार शुल्क बुझाउनु पर्ने छ।

सँगै सदस्यका लागि उम्मेद्वारी दर्ता गराउन ७ हजार रुपैयाँ दस्तुर तिर्नुपर्नेछ । राप्रपाको अध्यक्षमा कमल थापा र प्रकाशचन्द्र लोहनीले उम्मेद्वारी घोषणा गरेका छन्।

आइतबार बिहान १० देखि १२ बजेसम्म उम्मेद्वारका लागि मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ । आइतबार नै उम्मेद्वारीमाथि दाबीविरोध, उम्मेद्वारी फिर्ता र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुने र सोमबार मतदान हुने छ।

राप्रपाको विधान अनुसार ९८ केन्द्रीय सदइका लागि चुनाव हुनेछ भने अध्यक्ष र ६० प्रतिशत केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित हुने र बाँकी सदस्य अध्यक्षले मनोनयन गर्ने प्रवधान सहितको विधान शनिबार मात्र पारित भएको छ।

 

यसमा तपाइको मत

अन्य समाचार