सचिवले छेके स्वास्थ्यमन्त्रीको बाटो


काठमाडौं, ८ फागुन । स्वास्थ्यमन्त्री गगन थापाले मंगलबार साँझ ट्विटरमार्फत फागुन १ देखि सबै जिलामा सर्जिकल इमर्जेन्सीसहितको विशेषज्ञ सेवा पु¥याउन गरेको निर्णय कार्यान्वयन डिलासुस्तीबारे घुमाउरो ढंगले असन्तुष्टि जनाए ।

आजको नागरिक दैनिकमा खबर छ– मन्त्री थापाको टिप्पणी थियो, ‘हामीले जिम्मेवार पदाधिकारीसँगको सम्झौतालाई गम्भीरतापूर्वक लिँदा विगतझैं यसपटक पनि मन्त्रालयको कार्यलाई द्वितीय पक्षले हलुका रुपमा लिएको निष्कर्ष निकालेका छौं ।’

मन्त्रीको असन्तुष्टि पछिल्लो सन्दर्भमा बाहिर आए पनि उनको सुधार प्रयासमा मन्त्रालयभित्रै सचिव, अन्य उच्च पदाधिकारीदेखि सरकारी डाक्टर र स्वास्थ्यकर्मीले सुरुदेखि नै अवरोध गरिरहेका छन् ।

फागुन १ देखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का विशेषज्ञ परिचालन गरेर १३ जिल्लामा सर्जिकल इमर्जेन्सीसहितको विशेषज्ञ सेवा विस्तार गर्न माघ २८ मा मन्त्रालयमा सम्झौता भएको थियो ।

सम्झौता कार्यान्वयनमा मन्त्रालयअन्तर्गतकै न्याम्सले समेत ‘सिन्को नभाँचे’पछि मन्त्रीको असन्तुष्टि बाहिर आएको हो । सम्झौता कार्यान्वयनबारे मन्त्रीले चासो दिँदा पदाधिकारीले उल्टै जवाफ दिए, ‘पढाइमा रहेका चिकित्सकलाई कर्मचारीलाई जसरी भन्नेबित्तिकै पठाउन÷खटाउन मिल्दैन ।’

मन्त्रीले थालेका सुधार प्रयासमा साथ दिनुपर्ने सचिव डा. सेनेन्द्र उप्रेती नै अधिकांश निर्णयमा बाधक बन्ने गरेको आरोप स्वास्थ्यकै अधिकारीले लगाएका छन् । अघिल्लो सरकारले प्रशासन समूहका सचिव हटाएर स्वास्थ्य सेवाकै डा. उप्रेतीलाई बढुवा गरेको थियो ।

चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलनमा रहेका बेला उनी मन्त्रीसँग सल्लाह नै नगरिकन बिदा बस्ने वा विदेश हिँड्ने गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार