लोहनीले छाडे राप्रपा थापालाइ अवसरवादीको संज्ञा संगै लगाए १० आरोप


काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी परित्याग गरेका छन् । एकता महाधिवेशनपछि समझदारी लत्याएको र सम्पूर्ण पार्टीलाई अध्यक्ष कमल थापाले राजनीतिक र सत्तामा पुग्ने औजार बनाएको आरोप लगाउँदै लोहनीले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । अध्यक्ष कमल थापालाई ११ बुँदे पत्र लेख्दै लोहनीले २५ वर्षदेखि काम गरेको पार्टी छाड्नुपर्दा दुःख लागेको उल्लेख गरेका छन् । उनी महाधिवेशनमा अध्यक्षमा उठ्ने चर्चा थियो । तर, पछि उठेनन् ।नयाँ पत्रिका दैनिकमा खबर छ ।

अब के गर्छन् लोहनी ?
पार्टी महाधिवेशन भएको तीन सातापछि राप्रपा छाडेको घोषणा गरे पनि अब कसरी सक्रिय हुने भन्ने लोहनीले प्रस्ट खुलाएका छैनन् । तर उनले ‘भविष्यमा देशमा समावेशी राष्ट्रियता, बहुलवादी प्रजातन्त्र, प्रगतिशील उदारवाद, हिन्दू पहिचान र संसद्द्वारा अनुमोदित राजसंस्थाप्रति प्रतिबद्ध रहेर देश र जनताको हकहित अधिकार र स्वाभिमानको संरक्षण गर्दै देश विकासमा निरन्तर सक्रिय रहने’ घोषणा गरेका छन् ।

पशुपतिशमशेर राणासहितका नेताहरू अध्यक्ष कमल थापाप्रति असन्तुष्ट रहेकाले उनीहरूलाई समेत समेट्ने योजनामा लोहनी रहेको बुझिन्छ । तत्काल उनी अर्को पार्टीमा नजाने, बरु चुनाव चिह्न हलोलाई पुनः ब्यूँत्याउने अभियानमा उनी रहेको निकट नेताहरू बताउँछन् । रिपोर्टर्स क्लबमा आइतबार आयोजित कार्यक्रममा राप्रपा परित्यागको घोषणा गर्दै लोहनीले साथीहरूसँग छलफल गरिरहेको बताए । ‘म दालभात खाएर चुप लागेर बस्दिनँ, सक्रिय हुन्छु, के गर्ने भन्नेबारेमा साथीहरूसँग छलफल गर्दै छु, ७५ जिल्लामै साथीभाइ हुनुहुन्छ, छलफल गरेर सबै कुरा सार्वजनिक गर्छु, यसका लागि धैर्य गर्नुपर्छ,’ उनले भने ।

राणा र चन्दको शुभकामना पाएको दाबी
उनले आफूले पार्टी परित्याग गर्नुभन्दा पहिले शीर्ष नेताहरू लोकेन्द्रबहादुर चन्द र पशुपतिशमशेर राणालाई जानकारी दिएको बताए । दुवै नेताले आफूलाई शुभकामना दिएको उनले दाबी गरे । ‘मैले आज मात्रै उहाँहरूलाई फोन गरेर दिउँसो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गर्दै छु भनेर जानकारी दिएको हुँ, उहाँहरूले शुभकामना दिएर अघि बढ्नुहोस् भन्नुभएको छ,’ लोहनीले भने ।

यस्ता छन् १० आरोप
१. महाधिवेशनबाट पारित विधानको उपेक्षा गर्दै राजनीतिक अन्य स्वार्थपूर्तिको औजार बनाएको
२. महाधिवेशनअनुसार केन्द्रीय समितिको पहिलो बैठकले नै पार्टीको नीति निर्माण र महत्वपूर्ण पदमा नियुक्ति गर्न निर्देशन समित गठन गर्नुपर्ने भए पनि नगरेको
३. पार्टी एकीकरणअघि नयाँ पार्टीको झन्डा राप्रपा नेपालको र चुनाव चिह्न राप्रपाको हलो राख्ने समझदारी गरे पनि प्रतिबद्धतालाई अध्यक्षले ठाडै अस्वीकार गरेको
४. संविधान संशोधनको विधेयकमा भारी असन्तोष रहे पनि यसमा छलफल नै नगरी सरकारमा राप्रपा सहभागी भएको टेलिभिजनबाट थाहा पाएको । पार्टी अध्यक्षले मधेसको समस्यालाई आपूm पदमा पुग्ने हतियारको रूपमा प्रयोग गरेकोे
५. नेपालको राष्ट्रियताको जगेर्ना र प्रजातान्त्रिक मूल्यमान्यता स्थापित गर्न, जनताको स्वाभिमान र आत्मसम्मान कायम राख्न मधेसीहरूको बलिदानी रहे पनि मधेसी दलले सरकारलाई दिएको समर्थन फिर्ताको अल्टिमेटम दिँदै गर्दा राजनीतिक सौदा गरी अध्यक्ष सत्तामा थपिन गएको
६. देश अशान्त हुँदा देशभित्रै र सिमानामा नेपाली मारिँदा पार्टीको केन्द्रीय समितिको बैठक नबोलाएको, तर संकटको फाइदा उठाउँदै सरकार टिकाउन अध्यक्षले अवसरवादी चरित्र देखाएको
७. एनसेल कम्पनीको कारोबार, तामाकोसी विद्युत् आयोजनाजस्ता पक्षमा चरम आर्थिक अनियमितता हुन लाग्दा पनि पार्टी नबोलेको र सत्तामै हामफालेको
८. राप्रपा सरकारमा भइरहँदा राजदूत नियुक्तिबारे थाहा नदिएको, भ्रष्टाचारी आरोपितलाई राजदूत बनाउने निर्णय फिर्ता लिँदा पनि अराजकता र अनियमिततामा पार्टीको समर्थन रहेको
९. राप्रपाका तर्फबाट राजदूतमा पठाइएको व्यक्तिबारे पार्टीमा छलफल नै नगरी अध्यक्षले पार्टीलाई घरायसी अड्डा बनाएको
१०. राजसंस्था र हिन्दू धर्मप्रतिको भावनात्मक समर्थनलाई सत्ता स्वार्थका लागि प्रयोग गरेको र भ्रष्टाचारप्रति आँखा चिम्लने संस्कारको जग बसाल्ने प्रयास गरेको

 

यसमा तपाइको मत

अन्य समाचार