अस्ट्रेलिया जाने सपना त्यसै तुहियो : नायक प्रदीप खड्का


केही दिन पहिले त्रिभुवन आर्मी अफिसर्स क्लबमा अतिथि बनेर पुगेको थिएँ । मिस्टर नेपाल आयोजकको निम्ता पनि मानिने, प्रतियोगिता पनि हेर्ने मेरो एउटै उद्देश्य थियो । पाकिर्ङमा सवारी राखेर हलतर्फ अगाडि बढ्दै थिएँ । तीन जनाको समूहमा आएकी एक युवतीले मलाई देख्ने बित्तिकै एक्साइटेट हुँदै भनिन्– ‘वाउ प्रेम’ । उनी मेरो नजिक आइन् र सेल्फीका लागि अनुरोधसमेत गरिन् । उनीसँगको सेल्फी नसकिँदै अन्य ३, ४ गु्रप त्यस्तै भेला भए । एक एक गरेर सबै पन्छाएँ । ती सबैको सेल्फी म (प्रदीप खड्का) सँग नभएर प्रेमगीतको प्रेमसँग थियो । उनीहरुले मलाई प्रेम भनेरै उच्चारणसमेत गरे । सबैले चिन्ने हुने सानैदेखिको मेरो एउटै इच्छा थियो । टेलिभिजनको समाचार पढ्ने एङ्कर बनेर सो इच्छा पूरा गर्ने मेरो पहिलो बुझाइ थियो । त्यसैले टेलिभिजन एङ्करका लागि दुई तीन ठाउँमा अडिसन दिएँ । अडिसन दिन जाँदा कतिले मार्केटिङमा हिँडाए त कतिले अन्य काममा दलाए । कुनै कामबाट सन्तुष्ट मिल्न नसकेपछि नेपाल टेलिभिजनतिर छिरेँ । यो टिभीबाट पनि एङ्कर बन्ने रहर पूरा हुन सकेन । उल्टै कार्यक्रम मेनेजर भएर काम गर्नुपर्यो । चलचित्र अभिनय सोच र आइडिया केही पनि थिएन । टिभीको कार्यक्रम मेनेजर भएर काम गर्दै थिएँ । काम गर्ने सिलसिलामा टिभीको एङ्करभन्दा पनि मोडल, चलचित्रको कलाकार बढी चिनिने र चारैतिरबाट सम्मान पनि पाइने मैले बुझेँ । यसपछि मेरो पाइला अभिनयतिर मोडिए ।

अभिनेत्री रिमाको हिरो

अभिनयको केही थाहा नभएको मलाई कसैले चलचित्र खेलाई हाल्दैथे । अनुरोध गरेर खेल्न पनि कसैलाई चिन्दैन थिए । आफ्नो चर्चित हुने रहर पनि मार्नु भएन । त्यसैले प्रदीप मिडिया दर्ता गरेर ‘ठूलो मान्छे’ चलचित्र बनाए । सारै दुःख गरेर ‘ठूलो मान्छे’ बनाए । चलचित्र सफल पनि भएन । आफू हिरो बन्न पनि पाइनँ । त्यसमा हिरोको भूमिका डान्स टिचरको थियो । त्यो मलाई नसुहाउने भएकाले खेल्न पाइनँ । त्यतिबेला म भर्खर २१–२२ वर्षको थिएँ । चलचित्रमा प्रशान्त तामाङले लिड भूमिका निभाए । उनको अपोजिट भूमिकामा केकी अधिकारी थिइन् । सार्वजनिक प्रदर्शनबाट चलचित्र असफल भए पनि स्कुलस्कुलमा च्यारेटी गरेर लगानी सुरक्षित गरेँ । सामाजिक विषयमा निर्माण भएकाले पनि धेरै ठाउँमा च्यारेटी सम्भव भयो । पहिलो चलचित्रको लगानी सुरक्षित भएपछि फेरि लगानी गर्न आँट बढ्यो । आफूसहित अन्य दुई साथी भेला गरेर ‘स्केप’ बनाएँ । ‘स्केप’मा आफै हिरो भए । कुसङ्गतले सिकार भएका युवाको कथामा थियो ‘स्केप’ । साथी, पत्रकार र आफन्तसँग बसेर चलचित्र हेर्दा त मज्जा आयो । तर लगानी भने सबै स्वहा भयो । च्यारेटी गरेर लगानी उठाउन मिल्ने खालको चलचित्र पनि थिएन यो । आफूले आफैलाई पर्दामा हेर्नका लागि घरमा पैसा मागेर चलचित्र बनाएको थिएँ । ३० लाखमा निर्माण सकिएको चलचित्रमा रिमा विश्वकर्मा मुख्य अभिनेत्री थिइन् । व्यावसायिक सफलता नपाएको यो चलचित्रले मेरो अभिनय रहर मात्र पूरा गर्यो ।

अस्ट्रेलिया जाने सपना त्यसै तुहियो
‘स्केप’बाट व्यावसायिक लाभ लिन नसकेपछि सधैँ पैसा हालेर हिरो बन्न मेरा लागि सम्भव थिएन । छिमेकीका छोराछोरी लन्डन, अमेरिका, अस्ट्रेलियालगायत देशमा पुगिसके । फिल्मको चक्करमा बिग्रिस् भन्ने जस्ता अभिव्यक्ति दैनिक परिवारबाट आउँन थाल्यो । त्यो आउनु स्वभाविक पनि थियो । ‘स्केप’ निर्माणदेखि प्रदर्शनसम्म करिब डेढ वर्ष जति म टाइममा घर पुगेको थिइनँ । बिहान चाँडो निस्कन्थे र साँझ अबेर पुग्ने मेरो क्रियाकलापले आमाबाबुलाई छोरा बिग्रियो भन्न लागेछ कि के हो । मलाई विदेश पठाउने सोच बनाउनुभयो । बुबाआमाको इच्छा पूरा गर्न भए पनि अस्ट्रेलिया जाने विचार मेरो पनि भयो । अर्काे कुरो चलचित्रको लगानी डुबेपछि मेरा लागि योभन्दा राम्रो विकल्प पनि थिएन । अस्ट्रेलिया गएर काम गर्ने मनसायले सबै डकुमेन्ट तयार पर्दै थिए । घरजग्गाको बैङ्क भ्यालुएसन मात्र बाँकी थियो । सोही समय देशमा महाभूकम्प आयो । भूकम्पपछि देशमा देखिएको विभिन्न प्रभावले बैङ्कले घरजग्गा भ्यालुएसन गरिदिएन । त्यसैले अस्ट्रेलिया जाने सपना त्यसै तुहियो ।

म फ्लप भइसकेको हिरो

अस्ट्रेलिया जाने तयारी खेर गएपछि त्यसै बसिरहेको थिएँ । ‘प्रेमगीत’ लागि कलाकारको छनौट अडिसन मार्फत भइरहेको मिडियाबाट थाहा पाएँ । अडिसनबाट नयाँ केटा छानिने चर्चा थियो । म नयाँ थिइनँ । सेलेक्ट हुन्न भन्ने जान्दाजान्दै तस्बिर पाठाएँ । के हुँदोरहेछ भनेर जिस्किन । छनौटमा नपरे पनि समाचारमा छाइन्छ भन्ने मेरो अर्काे बुझाइ थियो । अडिसनमा तस्बिर पठाएपछि चिनजानका मिडियाबाट आफ्नो केही प्रचार आफै गरे । म फ्लप भइसकेको हिरो । मलाई लिदैनन् भन्ने थियो । तर मलाई फोन गरेर अडिसनमा बोलाउनुभयो । भेटमा तिमी सेलेक्ट भयौ । तिम्रो कही कतै पहिचान छैन । बाहिरी रुपले हेर्दा नयाँजस्तै पनि भयौ । भित्री रुपमा तिमी क्यामरा फेस गरिसकेको काम गर्न पनि सजिलो हुनेभयो । यसकारण तिमी छानियौ । निर्माण पक्षले यसो भनिरहँदा म प्रेमगीतका लागि सेलेक्ट भए भनेर भित्रभित्र खुसी भए । प्रेमगीत नै मेरो अभिनय जीवनको टर्निङ प्वाइन्ट बन्यो ।

यो दिन सुटिङ त्यतिकै सकियो

‘प्रेम गीत’का लागि हिरोको रुपमा छानिएपछि करिब एक महिना डान्स, अभिनयलगायतको वर्कसप गरेँ । त्यसपछि सुटिङमा सुरु भयो । पहिलो दिनको सुटिङ मेरा लागि निकै कठिन बन्यो । अभिनय गर्दा लगभग म नर्भस जस्तै भएँछु । सिम्पल डाइलगमा अभिनय गर्न पनि चार घन्टा लाग्थ्यो । मैमाथि पूरै चलचित्र बनाउनुपर्ने । पहिलो सट नै राम्रो भएन । युनिटका सबै सदस्यलाई तनाव भएको थियो । यो दिन सुटिङ राम्रो नहुने देखेर त्यतिकै रोकियो । घरगएपछि रातभर म निदाउन सकेको थिइनँ । सन्तोष दाइले (चलचित्रका निर्माता) फोन गरेर आजको कामले तिमी टेन्सन नलेऊ । तिम्ले राम्रो गरेनाँै भने पनि प्रमोसनमा पेलेर हिट गराँैला । तिमीले काम गर्न सक्छौँ । तिमीले पहिले पनि गरेका छौ । कहिले काहीँ यस्तै हुन्छ भनेर हौसला दिनुभयो । निर्माताको हौसला पछि आँट बढेर आयो । त्यसपछिका सुटिङ प्रत्येक झन् झन् राम्रो हुँदै गयो । त्यसरी अभिनय गरेको चलचित्र ‘प्रेमगीत’ यति धेरै चल्छ, यस्तो चारैतिर चर्चा हुन्छ भन्ने अनुमान र कल्पना अलिकति पनि थिएन । चलचित्र त सफल भयो नै । म पनि धेरै चर्चित भए । चारैतिरबाट मेरो चर्चा हुन थाल्यो ।

घरबाट अङ्कुस छैन

‘प्रेमगीत’ चलचित्रले देश विदेशका दर्शकको मन जिते पनि मेरो आमाबुबाको मन जित्न सकेन कि के हो । चलचित्रबाट हिट भइसकेको अवस्थामा बुबाआमाले फेरि भन्नुभयो– ‘तेरो इच्छा पूरा भयो होला हैन । अब बाहिर जाऊ ।’ चलचित्र अभिनयबाट जीवन चलाउन सकिन्न भन्ने उहाँहरुको बुझाइ थियो । ‘सबैभन्दा गाह्रो नाम कमाउन हो । चलचित्रबाट मैले पाएको छु । अब बाँहिर जान्न, देशमै गर्छु । मलाई आँट पनि छ र विश्वास छ ।’ आमाबुलाई जवाफ दिएँ । अहिले मलाई चलचित्रको अफर आएको देख्दा, मैले रकमको डिमान्ड गरेको सुन्दा खुसी नै हुनुहुन्छ । अहिले घरबाट केही अङ्कुस छैन मलाई । छोरा खुसी छ । आफ्नो अगाडि छ । विदेशमा पनि पैसा टिप्ने हैन । गरिरहेको छ, अझ धेरै गर्ने छ भनेर चित्त बुझाउनु भएको छ ।

यसकारण ‘प्रेम गीत–२’ अगाडि अर्काे चलचित्र गरिनँ
हुन त प्रेमगीत अभिनय सकाउने समयसम्म पनि म यो देशमा बस्छु कि बस्दिनँ भन्ने थियो । चलचित्रको सफलताले मलाई केही देश दुई चार महिनामै घुमायो । यो समयमा अन्य चलचित्र अफर पनि धेरै आए । तर मैले स्विकारिन । प्रेमगीत अभिनय गर्ने बेलामा चलचित्र क्षेत्रमा केही गर्छु, भन्ने मानिस तिमी हौ भने लिन्छौ । हौन, रहर पूरा गर्ने, अनि विदेश जाने मनसाय हो भने तिमी नआए राम्रो हुन्छ भन्नुभएको थियो । मेरो पनि भित्री इच्छा अभिनय सफलता मिल्यो भने बाँहिर जान्न भन्ने थियो । निर्माण युनिटसँग पनि त्यस्तै सम्झोता थियो । त्यसैले पनि मलाई एकसाथ दुई चलचित्र एग्रिमेन्ट गराइयो । यसकारण ‘प्रेमगीत–२’ अगाडि बाँहिरको चलचित्रमा काम गरिनँ ।

केटीको प्रिय भएँ म

‘प्रेमगीत’ अभिनय अगाडि मसँग २ चलचित्र र केही म्युजिक भिडियो अभिनय अनुभव थियो । तर अभिनय गरेको चलचित्र कुनै पनि सफल नभएको र म्युजिक भिडियो पनि बाहिर नआएकाले ‘प्रेमगीत’ नै मेरो चौतर्फी चर्चाको कारण बन्यो । यो चलचित्र प्रदर्शन अगाडि फालिएका प्रचार प्रसारका आधारमा मेरो बारेमा विभिन्न अनुमानसमेत लगाइए । कतिले विदेशी जस्तो देखिन्छ समेत भने । चलचित्रको प्रचार व्यापक हुँदै हँुदै जाँदा म केटीको प्रिय भए । प्रदर्शन पछि त झन् केटीहरुबाट विभिन्न प्रस्ताव आउन थाले । डेटिङदेखि प्रेमका अफरसम्म । फेसबुक यस्तै म्यासेजले भरिन थाल्यो । कति फ्यानले त मितीलाई पाऊँ भन्ने खालका टाटु बनाएर खिचिएका तस्बिर मेरै फेसबुकमा ट्याग गर्दिएँ । जीवनमा एउटै इच्छा छ । तपाईंलाई भेट्ने भन्ने फ्यान पनि भेटिए । यस्ता म्यासेज अझै मसँग केही सुरक्षित छन् । चारैतिरबाट आएको प्रतिक्रियाले मलाई लाग्यो ‘मैले चलचित्रमा निर्वाह गरेको भूमिका सफल भयो ।’ दर्शकको यो माया ‘प्रेमगीत’को प्रेम चरित्रका लागि थियो । प्रदीप कस्तो छ, भन्ने उहाँहरुलाई थाहा छैन । प्रदीप पनि त्यो प्रेम जस्तै हो । माया गर्नुहोला । दर्शकलाई भन्न चाहन्छु ।

च्याटमा बसेर कहिलै पनि सकिन्न

फेसबुक र इन्स्टाग्राम नचलाउने कलाकार सायदै नहोलान् । मेरो पनि छ । तर सामाजिक सञ्जालमामा धेरै सक्रिय छैन म । कामको कारणले नभ्याएर हो । प्रशंसक, शुभचिन्तक र फ्यानलाई रेस्पोनस गर्न नपाउँदा मलाई पनि पीडा हुन्छ । सामाजिक सञ्जालमा मलाई नपाउँदा कति फ्यानले नराम्रो सोच्नुभएको होला । यसका लागि म सरी भन्छु । फ्यानसँग च्याटमा कहिलै पनि कुरा सकिन्न । सामाजिक सञ्जालबाट भन्दा पनि कामबाट म तपाईंहरुको मनमा बस्न चाहन्छु । ‘प्रेमगीत’ जस्तो अन्य धेरै चलचित्र दिने सोच छ । भोगाइअनुसार भन्ने हो भने मानिसले खोजेको कुरो पाउँदो रहेछ । कतिपय कक्षा परिश्रम गरेर नपाइने रहेछ । त्यसका लागि समय मिल्नु पनि पर्छ । मेरो बुझाइ, परिश्रम गर्दै जानुपर्दो रहेछ । राइट समय आएपछि सबै पाइँदोरहेछ । कसको समय कतिबेला आउँछ भन्न सकिन्न । मेरो समय ‘प्रेमगीत’ले ल्यायो । मिहिनेत गर्दै जानुपर्छ । भाग्यमा छैन भनेर केही भन्नुपर्दैन । यो मेरो बुझाइ हो ।

मप्रति बुबाआमाको कुनै सपना छैन

नेपाली चलचित्रले स्वतन्त्र रुपमा अन्तराष्ट्रिय मार्केट पाओस् भन्ने मेरो सपना हो । आफूले अभिनय गरेको चलचित्र हिन्दीमा डबिङ भएर भारतमा अङ्ग्रेजीमा डब भएर अमेरिका, विभिन्न भाषामा डब भएर संसारभर पुगोस् भन्ने एउटै इच्छा छ । जसरी विदेशी चलचित्र नेपाल सर्वसुलभ पाइन्छ । त्यस्तै नेपाली चलचित्रले पनि विदेशमा प्रथामिकता पाओस् भन्ने सोच रहेको छ । बुबाआमाले मप्रति खासै सपना देख्नुभएको छैन । छोरा खुसी होस् । केही न केही गरोस् भन्ने उहाँहरुको चाहना हो । राम्रो भनौँ वा नराम्रो । बुबाआमाले जीवनमा कहिलै गाइड पनि गर्नु भएन । उहाँहरुलाई मप्रति विश्वास रहेकाले मेरो निणर्यमा हस्तक्षेप पनि गर्नु भएन ।

यसमा तपाइको मत

अन्य समाचार