उम्मेदवारको प्रतिबद्धता


भद्रपुर, १९ जेठ । झापाको कनकाई नगरपालिकालाई समृद्ध र देशकै नमुना नगरको रुपमा विकास गर्ने प्रतिवद्धता त्यहाँका नगर प्रमुख र उपप्रमुख पदका उम्मेदवारले व्यक्त गरेका छन् ।

मध्य झापामापर्ने सुरुङ्गा र घैलाडुब्बा मिलेर बनेको उक्त नगरपालिकामा अहिलेसम्म चुनावी प्रतिस्पर्धामा देखिएका तीन स्वतन्त्रसहित ११ जना प्रमुख र उपप्रमुख पदका उम्मेदवारले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । नेकपा (माओवादी केन्द्र) ले भने अहिलेसम्म प्रमुख पदका उम्मेदवार तोक्न सकेको छैन ।

संवाद समूहको सचिवालय झापाको संयोजनमा आज शुक्रबार सुरुङ्गामा भएको सबै उम्मेदवारसँगको छलफलमा उनीहरुले कनकाई नगरको विकासका लागि राखेका अधिकांश एजेन्डा साझा देखिएका छन् ।

सबै उम्मेदवारले कनकाई नगरलाई नमुनानगर बनाउन आफ्नो उम्मेदवारी गरेको र सहकार्यका साथ अघि बढ्ने बताएका छन् । उनीहरुले निर्वाचनलाई द्वन्द्वरहित बनाउने लगायतका ६ बुँदे साझा प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

उनीहरुले कनकाई नगरपालिकामा रहेको सुकुम्वासी समस्यालाई यथाशीघ्र समाधान गर्ने, सिङ्गो नगरलाई नै बन्दमुक्त र भ्रष्टाचारमुक्त बनाउने, रोजगारीको सिर्जना गरेर युवाशक्ति पलायनलाई रोक्ने, सडक कालोपत्रे र स्तरोन्नति, विद्युतीकरण, शिक्षाको गुणस्तर वृद्धि, खानेपानीमा पहुँच, व्यावसायिक कृषिका लागि विभिन्न कार्यक्रम, पर्यटन प्रबद्र्धन, सामाजिक सुरक्षाभत्ता घर÷घरमा पु¥याउने, बसपार्क निर्माण र नगर बस सञ्चालन, फोहोर व्यवस्थापन, कनकाई र विरिङ नदीमा तटबन्ध निर्माण, उद्योग व्यवसाय र खेलकुदको विकासलगायत विकासका एजेन्डा अघि सारेका छन् ।

त्यस्तै, ज्येष्ठ नागरिक, गर्भवती महिलासहित नगरवासीको स्वास्थ्यसेवालाई सहज बनाउने एजेन्डा पनि उनीहरुले अघि सारेका छन् ।

कनकाई नगरपालिकामा नेपाली काँग्रेसबाट प्रमुखमा एकराज उप्रेती, उपप्रमुखमा कविता बस्नेत, नेकपा एमालेबाट प्रमुखमा राजेन्द्रकुमार पोखरेल र उपप्रमुखमा मञ्जु प्रसाई, नेकपा (माओवादी केन्द्र)बाट उपप्रमुखमा शान्ता अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखमा केदारप्रसाद गिरी र उपप्रमुखमा चित्रा श्रेष्ठ उम्मेदवार छन् ।

त्यस्तै नेकपा मालेबाट प्रमुखमा प्रेम दाहाल, स्वतन्त्रबाट भीमप्रसाद अधिकारी प्रमुख र धर्मलाल राजवंशीे उपप्रमुख पदका उम्मेदवार छन् भने नेकपा माओवादी क्रान्तिकारी (देशभक्त गणतान्त्रिक मोर्चा) बाट कवि हरिभक्त सङ्ग्रौला उपप्रमुखको उम्मेदवार छन् ।

छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दिपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गर्नुभएको सो कार्यक्रममा उम्मेदवारले व्यक्त गरेको ६ बुँदे साझा प्रतिबद्धतामा निर्वाचन आचारसंहिता पूर्णपालना गर्ने, कुनै पनि चुनावी एवम् राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने, आफ्ना गतिविधिलाई शान्तिपूर्ण, मर्यादित बनाउँदै निर्वाचनलाई द्वन्द्वरहित बनाउने, निर्वाचन प्रचारप्रसारलाई तडक–भडकरहित कम खर्चिलो र मितव्ययी बनाउने, मतदाता शिक्षालाई प्रभावकारी बनाउने उल्लेख गरिएका छन् । रासस

यसमा तपाइको मत

अन्य समाचार