कसरि बच्ने सर्पको डसाइबाट ?


विभिन्न अध्यनले देखाए अनुसार नेपालमा सर्पको टोकाइबाट बर्सेनि करिब एक हजार मानिसको मृत्यु हुनेगर्छ। तथापि सर्प दंशको विषयमा देशको ध्यान खासै पुगेको पाइँदैन। हुनत संसारभर यो एउटा वास्ता नगरिएको जनस्वास्थ्य समस्या हो। नेपालको परिप्रेक्षमा भने तराईका सबै जिल्ला र केही पहाडी जिल्लामा समेत सर्पको डसाइको प्रकोप पाइन्छ।

 

हुनत सरकारले सर्पको डसाइ विरुद्ध दिइने सुइ (एन्टी स्नेक भेनम) जनतालाई निःशुल्क उपलब्ध गराएको छ। त्यसका लागि नेपाल सरकारले हरेक वर्ष भारतबाट औषधि खरिद गर्दै आएको छ। तथापि, समस्या अनुसारको उपचार व्यवस्थापनमा सरकारी पहल उल्लेख्य मात्रामा पाइँदैन। खासगरी गर्मीको मौसममा तराई क्षेत्रमा सर्पको डसाइबाट धेरै मानिस पीडित हुने गर्छन्, तर त्यसको तुलनामा सरकारले उपचारमा देखाएको तदारुकता अझै कम छ भन्न सकिन्छ।

सरकारले सर्पले टोकिसकेपछि गर्ने उपचारसँगै टोक्नबाट जोगाउने उपायमा ध्यान दिनु जरुरी देखिन्छ। यस्तै, विषालु सर्पको डसाइबाट सुइले मात्र पनि बिरामीको ज्यान जोगाउन पर्याप्त नहुन सक्छ। बिरामीलाई श्वासप्रश्वास प्रणालीमा अप्ठ्यारो परिसकेको अवस्थामा सर्पको डसाइ विरुद्ध दिइने सुइको केही उपयोगिता हुँदैन, अब प्राण जोगाउन चाहिनेकुरा भनेको भेन्टिलेटर हो। भेन्टिलेटरमा राखेर उपचार गर्ने कुरा सबैलाई थाहा भएकै कुरा हो। मान्छे ठिक भएर भेन्टिलेटरबाट निकाल्दासम्म सरकारी अस्पतालमा औसतमा २५ हजार रुपैयाँ खर्च हुन्छ। जुन लागत एउटा गरिब मान्छेका लागि हैसियतभन्दा माथिको विषय बनिदिन्छ।

विडम्बना नै भनौँ धेरैजसो सर्पको डसाइको सिकार गरिब नै हुन्छन्। तिनीहरुलाई सर्पले टोकिसकेपछि अस्पताल जानुपर्छ भन्ने समेत थाहा नहुँदा गाउघरमा झारफुकतिर लाग्दा अकालमै ज्यान जाने गरेका घटना पनि प्रसस्त छन्।

हामीले सर्पको डसाइबाट बच्ने उपायहरु गाउँगाउँका मानिसलाई बुझाउन सके मानवीय क्षति कम गराउन सकिन्छ। जस्तैः अँध्यारोमा हिँड्दा टर्च लिएर हिँड्ने, खाली खुट्टा नहिँड्ने, भुइँमा नसुत्ने, झुल लगाएर मात्र सुत्ने, सुत्नुअघि ओछ्यान राम्रोसँग जाँचेर सुत्ने, घर वरपर सरसफाइ गर्ने जस्ता उपाय गाउँका मानिसहरुलाई सिकाउन जरुरी छ। मुख्य कुरा त, यदि सर्पले टोकिहालेमा झारफुकको पछि नलागी सकेसम्म चाँडो अस्पताल लैजाने बारे ग्रामीण भेगका जनतालाई चेतना दिनु अपरिहार्य छ।

आम मानिसलाई बुझाउनुपर्ने अर्को महत्वपूर्ण कुरा के पनि छ भने, करिब २० प्रतिशत सर्प मात्र विषालु हुन्छन्। ८० प्रतिशत सर्प विषालु हुँदैनन्, तिनले टोकेमा आत्तिनुपर्दैन। खासगरी, विषालु र विष नभएका सर्प चिन्न सक्नु पनि ठूलो उपलब्धि हुन सक्छ। अर्को कुरा ५० प्रतिशत विषालु सर्पले टोक्नेबेला विष नफालेको अवस्था पनि हुन सक्छ। हाम्रो ठाउँमा पाइने विषालु सर्पमा गोमन र करेतले नशामा प्रभाव पारी मांशपेसी कमजोर बनाउने विष फाल्छन् भने ‘भाइपर’ले चाहिँ रगत पातलो बनाउने र रक्तास्राब गराउने विष फाल्ने गर्छ।

प्रायः मानिसको ज्यान लिने सर्प भनेकै करेत र गोमन हुन्। करेत दिनमा लाटो हुने र रातमा चलयमान हुने हुँदा यसले रातिमा सुतेको बेला टोक्ने गर्छ। यसको टोकाइ कहिलेकाहीँ थाहा नहुन पनि सक्छ। त्यसैले कोही सुतेको बेला अबेलासम्म उठेन वा अचानक श्वास लिन गाह्रो भएको भए सर्पले टोकेको शंका गर्नुपर्छ।

सर्पको सिजन भनेको चैतदेखि मंसिरसम्म हो। तर, सबैभन्दा बढी सर्पले टोक्ने महिना साउन र भदौँ हो। नेपालको मध्य तथा सुदुर पश्चिम क्षेत्रमा धेरै विषालु सर्पको डसाइमा करेत १ नम्बरमा पर्छ।

नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा करिब वार्षिक एक सय जना विषालु सर्पले टोकेका बिरामी आउने गर्छन्। त्यसको करिब पाँच गुणा बढी विषरहित सर्पले टोकेका बिरामी आउँछन्। उक्त अस्पतालमा विषालु सर्पको टोकाइबाट प्रभावित बिरामीको उचित उपचार हुने गरको छ।

 

साथै ‘अ प्रस्पेक्टिभ अभ्जर्भेसनल कोहर्ट स्टडी अप स्नेकबाइट इन साउथ वेस्टर्न नेपाल’ शीर्षकमा अनुसन्धान जारी रहेकाले यसले सर्प दंशविरुद्धको अभियान प्रभावकारी बन्दै गएको छ। आगामी दिनमा पनि जनताको तहमा पुग्ने गरी जनचेतनामूलक अभियानसँगै उपचार पद्दतिलाई मजबुत बनाउँदै लैजान सके गरिब नेपालीको अकाल मृत्यु घटाउन सकिन्थ्यो कि।

स्रोत :- डा. आचार्य भेरी अञ्चल अस्पताल, नेपालगन्ज

यसमा तपाइको मत

अन्य समाचार