काठका भाँडा लोप हुँदै


त्रिवेणी नलगाड नगरपालिका–८ का धनबहादुर चँदाराको मृत्युपछि उहाँका छोरा रत्नबहादुरले बाबुको पेसा चुटक्कै छाड्नुभयो । मेहनतअनुसारको कमाइ नहुँदा र काठको अभाव भएपछि उहाँले काष्टकला व्यवसाय छाड्न भएको हो ।

चँदाराको पुख्र्यौली पेसा काष्टकला भए पनि अहिले उनीहरु सो व्यवसाय छोड्दै गएका छन् ।

यस्तै त्रिवेणी नलगाड नगरपालिका–७ दल्लीका नन्दराम चँदाराले साना काष्ठ उद्योग सञ्चालन गर्नुभएको छ । सो उद्योगमा ठेकी, गाबु, कमली, फुरु, कोसीलगायत भाँडा निर्माण गरिन्छ । जङ्गलमा खेर गइरहेको गिठाको काठबाट निर्माण गरेका भाँडा दूध, दही, घिउ, नौनी, अन्न, गेडागुडी राख्न प्रयोग गरिन्छ ।

चँदाराले बाबुबाजेको पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आएका छन् । तर भाँडाको उचित मूल्य भने पाउन सकेका छैनन् । परम्परागत उद्योगबाट उत्पादन भएका काठका सामानको बिक्रीबाट घरपरिवार धान्न मुस्किल परेको उहाँको भनाइ छ । उद्योगबाट दैनिक रु ५०० सम्म मात्र आम्दानी हुने गरेको चँदारा बताउनुहुन्छ ।

“माग धेरै भए पनि मेहनतअनुसारको मूल्य पाइन्न,” उहाँले भन्नुभयो । आजभोलि काठको सट्टा प्लास्टिकका भाँडाकुँडाको प्रयोग बढ्दै गएपछि चँदारा समुदाय मारमा परेको छ ।

यसमा तपाइको मत

अन्य समाचार