चुरे विनाशले दर्जनौं गाउँमा खानेपानीको हाहाकार


चुरे विनाश, प्रचण्ड गर्मी र लामो समयदेखि वर्षा नहुँदा धनुषाको पूर्वपश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौँ गाउँमा खानेपानीको ठूलो समस्या सिर्जना भएको छ ।

लामो समयदेखि वर्षा नहुँदा चुरे क्षेत्रमा पानीको मुहान सुकेपछि यस क्षेत्रमा पानीको समस्या भएको बताउँछन् जानकारहरु ।

नक्टाझिज, ढल्केवर, पुष्पवलपुर, बेंगाडावर, धारापानी, राधापुर, गोदार, लवटोली, दिगम्बरपुरसहित दर्जन बढी गाउँमा पानीको समस्या विकराल बन्दै गएको छ । मुहान धमाधम सुकेका छन् भने वनमा जतासुकै डढेलो देखिन्छ । सर्वसाधारण धारा र कुवामा रातभर लाइन बस्न बाध्य छन् । पानीको सतह भासिएका कारण इनार, बोरिङ, हातेपाइप, पोखरीलगायतका अधिकांश पानीका स्रोत सुकेको स्थानीयवासी बताउँछन् ।

“पिउने पानीको जोहो गर्न पनि मुस्किल पर्न थाल्यो”, पुष्पवलपुर–३ का हिरण लामाले भन्नुभयो – “नुहाउने र सरसफाइ त टाढाको विषय भयो ।” नुहाउनुपरे गाउँले तीन घन्टा टाढासम्म पुग्न बाध्य भएका छन् । लामाका अनुसार पानी अभावकै कारण खुला शौच बढेको छ । लुगा, धुन र नुहाउनका लागि नै भनेर कमला नदी पुग्नुपर्ने बाध्यता रहेको छ ।

कुवा, इनार र पानीको मुहान सुकेकाले पानीको अभाव छ । पानी नपरेकाले यस्तो समस्यामात्र छैन, आलुका बोटसमेत मर्न थालेका छन् । अर्कातिर कृषकले मकै छर्न पाएका छैनन् । “चैतको पहिलो सातामा मकै छर्नुपथ्यो, पानी नपरेकाले मकै छर्न पाएका छैनौँ”, लालगढ–६ का महेश बस्नेतले भन्नुभयो – “यो खडेरीले अनिकालमात्र होइन, रोगव्याधी पनि ल्याउँछ ।”

पानीको अभावले किसानले यसक्षेत्रमा धानको बीउसमेत राख्न पाएका छैनन् ।
मधुवासामा पानीको मुहान सुकेपछि स्थानीय बासिन्दा खोलाखोल्सीको धमिलो दूषित पानी पिउन बाध्य भएका छन् । औरही, जलाद, बसही, चारनाथ खोलामा पूरै सुक्खा बालुुवाबाहेक केही देखिँदैन ।

अलिअलि पानी रहेको कुवामा पानी भर्न स्थानीयवासी घन्टौँसम्म लाम बस्न बाध्य छन् । स्थानीय अम्बिका लामाले भन्नुभयो – “खानेपानी लिन लामो समय लगाएर टाढा जानुपर्छ । दैनिकी निकै कष्टकर बनेको छ ।”

रातु खोलामा वर्षौंदेखि क्रसर व्यवसायीले गर्दै आएको ढुङ्गा, बालुवा र गिट्टीको अवैध उत्खननले खानेपानीको मुहानमा गम्भीर असर परेपछि इनार सुकेको किसाननगरका स्थानीय गोपाल कार्कीले बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ, धनुषाका अध्यक्ष सोमप्रसाद शर्माको अनुसार अत्यधिक चुरे दोहनले चुरे क्षेत्र विनाशका कारण पानीका मुहान सुक्न थालेकाले राजमार्ग आसपासका बस्तीमा पानीको हाहाकार नै मच्चिएको हो । हुनेखानेले त जारको पानी किनेर पनि तिर्खा मेटिरहेका छन्, नहुनेले घन्टौँ हिँडेर, लाममा बसेर पानीको जोहो गर्ने गरेका शर्माले बताउनुभयो ।

ढल्केवरका स्थानीय सञ्चारकर्मी विजय साहका अनुसार खानेपानीको अभावले कतिपय किसानले बाख्रा र गाईगोरुसमेत बेचिदिएका छन् । साहले भन्नुभयो – “दिनभर पिउन र खाना पकाउन आवश्यक पानीको जोहो गर्न हम्मे छ, गाई, बाख्रा पाल्नु कति समस्या होला आफैँ सोच्नुस् न ।”

ग्रामीण क्षेत्रमा मात्र होइन लामो समयदेखि वर्षा नहुँदा चुरे क्षेत्रमा पानीको मुहान सुकेपछि जनकपुर उपमहानगरपालिकामा समेत भूमिगत पानीको लेयर हराउन थालेको छ ।

जनकपुरमा सय देखि २५० फिट मुनिसम्म गाडिएको हाते चापाकल सुक्न थालेको छ । माथिल्लो क्षेत्रमा पानी रिचार्ज हुन नपाउँदा तल्लोभेगमा भूमिगत पानीको लेयर हराउन थालेको राष्ट्रपति तराई मधेस संरक्षण विकास कार्यक्रमका महेन्द्रनगर युनिटका इन्चार्ज रामेश्वर पण्डितले बताउनुभयो ।
जिल्ला विकास समिति र संसदीय निर्वाचन क्षेत्र विकास कोषको अधिकांश रकम खानेपानी व्यवस्थापनमा खर्च हुने गरे पनि समस्याको स्थायी समाधान नदेखिएको उत्तरी भेगका बासिन्दाहरु बताउँछन् । गाउँ गाउँमा ठूला खानेपानी आयोजना निर्माण गरिदिन आमजनसमुदायको माग रहेको छ ।

उजाड बनाइँदै चुरे

अत्यधिक मात्रामा वन फँडानी गरी काठ तस्करी हुन थालेपछि धनुषाको चुरे क्षेत्र अहिले उजाड देखिन थालेको छ ।

एक दशकअघिसम्म हराभरा रहेको धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ मा पर्ने सपही भालुखोला चुरे क्षेत्र अहिले उजाड भएको छ । राजनीतिक सङ्क्रमणकालको फाइदा उठाउँदै प्रहरी र वन रक्षकको मिलेमतोमै काठ तस्करले यहाँबाट बहुमूल्य रुख कटान गरेपछि वन क्षेत्र घट्दै जानुका साथै उजाड भएको स्थानीयवासीले आरोप लगाएका छन् ।

गोदारका भोला साहले कहिलेकाहीँ वन कार्यालयका कर्मचारीहरु आए पनि तस्करको डरले भनाँै वा उनीहरुसँगको मिलेमतोले कसैले पनि रुख कटानमा रोक नलगाउने गरेको बताउनुभयो ।

जैविक विविधताले भरिपूर्ण मानिएको यस क्षेत्रलाई हराभरा बनाउन सरकारले पाँच वर्षयता राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास कार्यक्रम लागू गरेको छ । यस कार्यक्रमअन्तर्गत धनुषामा यस वर्ष रु एक करोड ६८ लाखभन्दा बढी बजेट आए पनि कर्मचारीले कार्यसम्पादन गर्न नसकेपछि अहिलेसम्म झन्डै रु ५९ लाखमात्र खर्च भएको जिल्ला वन कार्यालय, धनुषाले जनाएको छ ।
सरकारले सामुदायिक वन तथा कबुलियत वन, वृक्ष सुधार तथा निजी वन कार्यक्रमलगायत वृक्षरोपणका लागि रु चार करोड ८५ लाखभन्दा बढी बजेट विनियोजन गरेको छ । आव सकिन अब दुई हप्ताको समय रहे पनि कर्मचारीको लापर्बाहीका कारण अहिलेसम्म २८ प्रतिशत रकममात्र खर्च भएको कोष लेखा तथा नियन्त्रण कार्यालय, धनुषाका प्रमुख डा वीरेन्द्रकुमार मिश्रले बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार