नौ नम्बरमा दोब्बर अगुवा फर्किए एमालेमा


बुटवल । ‘नारा र कुराले केही हुँदैन, जनताले भोगेका खास समस्याको पहिचान र त्यसको समाधानका उपाय चाहिन्छ यो अरु कुनै दलमा देखिएन त्यसैले म एमालेमा आवद्ध भएँ’ पुराना कम्युनिष्ट नेता, समाजसेवी तथा अभियन्ता किशोर ज्ञवालीले सोमबार बुटवल–९ को मिलनचोकमा नेताहरुसित भन्दै थिए । उनी माओवादी केन्द्र परित्याग गरेर सोमबार एमालेमा प्रवेश गरेका छन ।

उनलाई एमाले उप–महासचिव तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मेयरका उम्मेदवार तथा एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीलगायतका नेताहरुले स्वागत गरे । ज्ञवालीसहित त्यस टोलका १८ जना विभिन्न क्षेत्रका अगुवाहरु एमालेमा आवद्ध भएको वडाका इन्चार्ज बाबुराम पन्थीले जानकारी दिए ।

सोही क्रममा नेता ज्ञवालीले भिजन र स्पष्ट खाका बोकेको पार्टी नै एमाले भएकाले आफु एमालेमा आएको बताएका थिए । चुनावी लहर देखेर मात्रै होइन मुलुकको भविष्यप्रति स्पष्ट चिन्तित भएको पार्टी नेतृत्व देखेर एमालेमा आवद्ध भएको हुँ यो मेरो पुरानो घर हो । अब आफ्नै घरमा फर्किएको छु ।

‘चुनावी एजेण्डा, घोषणापत्रका कुरा मात्रै होइन, नेताहरुका भिजन र पार्टी कार्यकर्ताका प्रवृत्तिहरु सबै समाजवाद लक्षित हुनुपर्छ’ नेता ज्ञवालीले भने–‘संविधान निर्माण प्रक्रिया, त्यसको कार्यान्वयनको कुरा र प्रदेश विभाजन षड्यन्त्रका विरुद्धको आन्दोलनलगातका पछिल्ला एजेण्डामा एमालेले नै प्रष्ट देखियो ।’

उनी २०२२ सालदेखि अर्घाखाँचीको बल्कोटमा केशरमणी पोखरेल, मोहनलाल आचार्यजस्ता त्यतिबेलाका गुरुहरुबाट प्रभावित भएका थिए । साथीहरु गोविन्द पन्थी, नेत्रप्रसाद पन्थीजस्ता सहपाठीहरुसितै कम्युनिष्टमा आवद्ध भएका थिएका थिए । माक्र्सवादी, माले हुँदै उनी माओवादी केन्द्रमा आवद्ध भएका थिए ।

२०२६ सालमा बुटवलमा झरेका उनी पुन्यभक्त प्रधानाङ्गलगायतका केही वामपन्थीहरुसित संगत गरे । मोदनाथ प्रश्रितका साथीसमेत रहेका ज्ञवाली समाजसेवीका रुपमा पनि स्थापित भइसकेका थिए । एक लहर माओवादीको चलेकाले उनी केही हुन्छ कि त भनेर उतै लागे ।

पछिल्ला केही समयसम्म उनी माओवादीमै थिए । जिल्ला सल्लाहकार पदमा रहेका उनलाई माओवादीले उम्मेदवार बनाउने पनि चर्चा चलेको थियो । तर, उनी पार्टीका पछिल्ला गतिविधिप्रति विक्षिप्त भएछन र यहीं मौकामा पार्टी नै परित्याग गरे । उनी एमालेका उम्मेदवारलाई जिताउन अब सक्रियाताका साथ लाग्ने प्रतिबद्धता जनाएका छन् ।

उक्त वडाको चुनावी घरदैलो कार्यक्रममा एमाले नेता विष्णुप्रसाद पौडेल, नेत्रप्रसाद पन्थी, मेयरका उम्मेदवार शिवराज सुवेदी, उपमेयरका गोमा आचार्य, एमाले जिल्ला उपसचिव गोपाल राना, समाजसेवी तथा अगुवाहरु मोतिराज ज्ञवाली, सूर्यबहादुर भट्टराई, लक्ष्मण देवकोटा, माधव नेपाल, यमलाल लोहोनी, भोजबहादुर बुढाथोकी, जीवनकुमार बञ्जाडे, समुन्द्र जिसी, माधव खनाललगायतका वडाका अगुवाहरु चुनाव केन्द्रित अभियानमा थिए ।

अझै धेरै युवाहरु एमालेमा आबद्ध हुन चाहेको र छलफलमा रहेको एमालेबाट उक्त वडामा अध्यक्षका उम्मेदवार बनेका विष्णु थापाले दाबी गरे । सोमबार नेता ज्ञवालीसहित एमालेमा आवद्ध हुनेहरुमा राष्ट्रिय जनमोर्चाबाट शान्ताराम गिरी, माओवादीबाट रेखाकुमारी एमसी, चिन्तुकुमार झा, दलबहादुर थापा, प्रेमबहादुर गुरुङ, सम्झना गुरुङ, चन्द्रशंकर खनाल, अशोक थापा, हेमन्तश्री नेपाली, टेकबहादुर सिंजाली, आशिष बराल, दीपक नेपाली, अभिषेक, आशिष मल्ल, पोमानसिंह मस्रागी, हेमबहादुर मल्ल, रमेश मल्ल, हरिबहादुर मल्ललगायत एमालेमा प्रवेश गरेको शाखा कमिटीका कार्यावाहक अध्यक्ष निर्मला श्रेष्ठले जानकारी दिइन् ।

यसअघि बुटवल–७, (साविकको वडा नं. ९) मा राप्रपाका जिल्ला उपसचिव, कानुन व्यवसायी प्रदिप शेरचन, बुटवल–१८ का कांग्रेसका बुथ सभापति शिवप्रसाद नेपाललगायतका अगुवाहरु एमालेमा प्रवेश गरेका थिए । राप्रपाबाट एमाले प्रवेश गरेका काुनन व्यवसायी शेरचनले आफु एमाले प्रवेश गर्नुका कारणका बारेमा सामाजिक सञ्जालहरुमा उल्लेख गरेका छन । एमालेमा प्रवेश गरेका मध्येका ज्ञवाली, शेरचन र नेपाललगायतको प्रवेशले एमालेलाई अझ बलियो बनाएको छ । धेरै मतदाता प्रभाव पार्न सक्ने र किन प्रवेश गरेको भनेर स्पष्ट उल्लेख गरेका कारणले पनि यिनीहरुको प्रवेशले एमाले अझ बलियो बनेको हो ।

कांग्रेस, माओवादी, जनमुक्ति, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चालगायतका दलका नेता कार्यकर्ता र कतिपय स्वतन्त्र समेत एमालेमा प्रवेश गरेका थिए । जनमोर्चाका केन्द्रीय परिषद् सदस्य गोविन्दबहादुर विक, जनमुक्तिकी सुनिता थारु, राजकुमार थारु, कांग्रेसकी अगुवा कार्यकर्ता सीता नापित, विप्लब माओवादीका साफर मियाँ, बैध माओवादीका हरिलाल भुसाल, नयाँ शक्तिका सुन्दर भट्टराई, सत्यनारायण मानान्धर, नवीन ढुंगाना, सुमन श्रेष्ठ र संगीता पाण्डेलगायत यसअघि एमालेमा प्रवेश गरेका थिए ।

उनीहरुले सामाजिक सद्भाव तथा राष्ट्रिय एकताका पक्षमा दृढ र प्रदेश विभाजनका विरुद्धमा सशक्त आन्दोलन अगाडि सारेका कारण एमालेप्रति आकर्षित भएको बताए । तराई–पहाडलाई अलग गर्ने सत्तारुढ दलहरुको प्रस्तावले उनीहरुलाई ती पार्टीमा बस्दा ग्लनीबोध हुने भएकाले सुरुदेखि नै एमालेमा आकर्षित बनेको बताएका थिए ।

उनीहरु स्वागत गर्दै एमाले नेताहरुले चुनावी नाराका रुपमा मात्रै नभई स्पष्ट एजेण्डा र खाकाका साथ एमाले अगाडि बढेको बताए । सामाजिक सद्भाव, राष्ट्रिय एकता र अखण्डताका पक्षमा एमालेले सुरु गरेको अभियानप्रति जनसाधारणलाई आकर्षण बढाएको एमाले प्रदेश कमिटीका सचिव भूमिश्वर ढकालले बताए ।

एमालेले घोषणापत्रमा विषयहरु प्रष्टसंग उल्लेख गरेको र नगर, गाउँपालिका र वडा तहसम्मै प्रतिबद्धतापत्रहरु तयार पारेको जानकारी दिंदै नेता ढकालले एमालेलाई मत दिएकाहरु कसैलाई पनि शीर निहुराउन नपर्ने प्रतिबद्धता जनाए । एमालेले चुनाव केन्द्रित कार्यक्रमहरु जिल्लाका सबै स्थानीय तहमा तीव्र बनाएको छ । हरेक टोलहरुमा एमालेका उम्मेदवार र नेताहरु चुनावी अभियानमा केन्द्रित छन् ।

 

यसमा तपाइको मत

अन्य समाचार