भरतपुरमा पुन मतदान गरिए परिणाम यस्तो आउन सक्छ


काठमाडौं । भरतपुरमा पुन मतदान गराउने निर्वाचन आयोगको निर्णयले पूरै राष्टिय राजनीति विथोल्ने खतरा देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी उम्मेदवार बनेको र उनलाई जिताउने प्रयास अन्तर्गत पुन मतदानको निर्णय आएको भन्दै एमालेले कडा विरोध गरिरहेको छ ।

निर्वाचन आयोगले भरतपुरको १९ नम्बर वडामा पुन मतदान गराउने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी एमाले तथा तथा भरतपुरमा मेयरको उम्मेदवारका रुपमा अग्रता लिइरहेका देवी ज्ञवालीले पुन मतदानलाई अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री दाहालकी छोरी रेणु दाहाललाई जसरी भए पनि भरतपुर महानगरको मेयर बनाइछाड्ने अभिष्ट सत्तापक्षले देखाएको भन्दै एमालेले संसद वैठक अवरोधलाई निरन्तरता दिने भएको छ । भरतपुरको १९ नम्बर वडामा पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई आयोगकै एक आयुक्त नरेन्द्र दाहालले विरोध गरेका छन् ।

पुन मतदान गराइए त्यसले गम्भीर दुष्परिणाम आउने बताइन थालेको छ । अधिकांशको तर्क छ, हार्ने पक्षले मतपत्र च्यातेको अवस्थामा पुन मतदान गराउने हो भने भविष्यमा चुनावको अर्थ हुने छैन । हार्न आटेमा मतपत्र च्यात्ने प्रवृत्ति व्यापक बन्न सक्छ ।

भरतपुरमा हार्न लागेकी रेणु दाहालको पक्षले मतपत्र च्यातेर पुन मतदानको अवस्था सिर्जना गर्न खोजेको स्पष्ट छ । यो अवस्थामा पुन मतदान गराउनु भनेको हार्ने पक्षलाई सघाउनु हो । हार्ने पक्षलाई निर्वाचन आयोगले सघाउन खोज्नु भनेको निष्पक्ष चुनावको धज्जी उडाउनु हो भन्ने अधिकांशको तर्क छ ।

भरतपुरमा पुन मतदान गराएर मतगणना गराइए के परिणाम आउँछ भन्ने गौण विषय बनेको छ । मुख्य विषयका रुपमा चुनाव हार्ने पक्षले जर्बजस्ती पुन मतदानको अवस्था सिर्जना गर्न पाउने कि नपाउने भन्ने नै भएको छ । हार्ने पक्षले पुन मतदान गराउने अवस्था सिर्जना गर्न सक्छ र त्यस्तो प्रयासलाई निर्वाचन आयोगले पनि वैद्यता दिन्छ भन्ने सन्देश आयोगको यो निर्णयले दिएको छ ।

भरतपुरमा पुन मतदानको मिति तय गर्ने जिम्मा निर्वाचन अधिकृतलाई दिइएको छ । तर, मतगणनामा अग्रता लिइरहेको पक्ष अर्थात नेकपा एमालेले पुन मतदान अस्वीकार गर्दै पुन मतगणनाको माग गरेको छ । अग्रता लिइरहेको पक्षले पुन मतदान गर्न नमानेको अवस्थामा बलमिच्याइँ गरेर मात्र मतदान गराउन सकिन्छ । पुन मतदान गराउन मतपत्र च्यात्ने रेणु दाहालको पक्ष सत्तापक्षमा रहेकाले पुन मतदान कस्तो तरिका र माहौलमा हुन्छ भन्ने अनुमान गर्न गाह्रो छैन ।

जानकार स्रोतहरुका अनुसार प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव पनि पहिले पुन मतदानको पक्षमा थिएनन् । उनले खुलेआम भनेका थिए, मतपत्र च्यात्ने र मतदान माग्ने पद्धति बस्नेमा हामी सचेत छौं ।
आयुक्त यादवको यो भनाईबाट पनि प्रष्ट हुन्छ, उनी पुन मतदानको पक्षमा थिएनन्, चर्काे दवाबपछि यो निर्णयमा पुग्न उनलाई बाध्य बनाइएको हो ।
अब के हुन्छ ?

भरतपुरमा पुन मतदान गराउन सजिलो छैन, न त निर्वाचन आयोगको निर्णय उल्टाउन सजिलो छ । निर्णय उल्टाइएको अवस्थामा निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी प्रसादको साख र विश्वशनियता धरापमा पर्नेछ । मतदान गराउने हो भने स्थानीयवासीका साथै एमाले पनि तयार छैन ।

स्थितिको जटिलतालाई देखेर नै एमाले अध्यक्ष केपी ओलीले भरतपुमा पुन मतदानको निर्णय आउनासाथ प्रतिक्रिया दिए, यस्तै हो भने आयोगले मन लागेकालाई जिताइदिए भयो नि ।
दोस्रो चरणको चुनाव विथोल्ने काममा भरतपुर प्रकरणलाई उपयोग गरिने खतरा बढ्दै गएको छ ।

आफू अन्यायमा परेको ठानिरहेको एमालेले भरतपुरमा मतगणना गर्न माग गर्दै संसद वैठक समेत अवरुद्ध गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नी छोरी रेणुलाई मेयर बनाउन यो सबै जालझेल गरेको भन्ने मान्यता जनसाधारणमा स्थापित भइसकेको छ ।

यो अवस्थामा सत्तापक्ष पनि पछाडि फर्कन तयार देखिन्न, प्रतिपक्षी एमाले पनि पछाडि फर्किएर जितेको चुनावलाई हारेकोमा परिणत गर्न तयार छैन ।

भरतपुरमा पुन मतदान सजिलो छैन, पुन मतदान गरेर रेणुले जित्ने व्यवस्था गरियो भने पनि अवस्था सहज हुने छैन । अर्थात्, भरतपुरको एउटा वडाको कारणले समग्र राष्टिय राजनीतिमा जटिलताको नयाँ अध्याय सुरु हुने खतरा देखिएको छ ।

 

यसमा तपाइको मत

अन्य समाचार