‘महिला लेखन कमजोर छैन, बनाइएको हो’


कवि दीपा राई पुन दशकदेखि कविताकर्ममा सक्रिय छिन् । हाल अमेरिका रहँदै आएकी राईको ‘छुटेको बागदाता’ केही समयअघि प्रकाशित कवितासंग्रह हो । यसअघि उनका ‘तिम्रो सपनाको म’ र ‘स्पन्दनका रागहरू’ गरी दुई कवितासंग्रह प्रकाशित छन् । कवि राईसँग गरिएको कुराकानी :

नयाँ कवितासंग्रहबाट के–कस्तो अपेक्षा गर्नुभएको थियो ? के–कति पाउनुभयो ?

मेरा पाठक मेरा लागि पहिलो प्रेरणा हुन् । आजसम्म मैले पाठकको माया पाउँदै आएकी छु, मेरो सधैंको अपेक्षा पनि यही हो । तेस्रो संग्रहपछि मलाई त्यसको अझ गहिरो अनुभूति भएको छ ।

प्रवासमा रहनुहुन्छ, लेखनमा सजिला–अप्ठ्यारा के छन् ?

प्रवासमा कडा श्रम गर्नुपर्छ । घर–व्यवहार पनि चलाउनुपर्छ । त्यसबाट समय उबारेर लेखन–पठन पनि गर्नुपर्छ । सजिला–अप्ठ्याराभन्दा पनि रुचि ठूलो कुरा रहेछ । म बस, ट्रेनमा हिँड्दा, स्टेसनमा रहँदा कविता लेख्छु । मेरो दोस्रो र नयाँ संग्रहका अधिकांश कविता काममा जाँदा–आउँदाको समयमा लेखिएका हुन् । यसरी लेख्दा आनन्द लाग्छ ।

लगातार तेस्रो कृतिसम्म आइपुग्दा नेपाली कविताको अवस्था कस्तो पाउनुभयो ?

मैले नेपाली कवितालाई नजिकबाट मूल्यांकन गर्न अझै सकेकी छुइनँ, समय लाग्छ । म अहिले लेखिरहेकी छु । प्रवासमा आइसकेपछि धेरै कुरा अध्ययन गर्ने मौका मिल्यो । अहिले कवितामा थुप्रै जुझारु प्रतिभाहरू आइरहेका छन् । लेखिँदैछन्, पढिँदैछन् । उहाँहरूको उपस्थितिले हाम्रो कविताको क्षितिज उज्यालो देख्छु ।

हामीकहाँ महिला लेखन कमजोर छ भनिन्छ । तपाईंलाई के लाग्छ ?

महिलालाई कहाँ पछि परिएको छैन ? हेरौं न, लामो समयदेखि महिला सामाजिक, राजनीतिक र आर्थिक रूपमा विभेदमै रहँदै आएका छन् । यसको असर सबै क्षेत्रमा परेको छ । कहीं न कहीं यसको असर लेखनमा पनि देखिन्छ ।

यद्यपि, महिलाले स्वतन्त्र भएर लेख्न पाउने हो भने हामीकहाँ महिला लेखन कमजोर छैन । बरु, कमजोर बनाइएको थियो हिजो । अब त्योक्रम तोडिँदैछ । अबको महिला लेखनले हिजादेखिको त्यो विभेदउपर धावा बोल्छ । अहिले क्षमतावान् महिला आफ्नै बुँताले लेख्दैछन् । उनीहरूले आफ्नो स्पेस लिइरहेका छन् ।

महिला लेखनको खास समस्या के हो ? यसलाई अगाडि ल्याउन के गर्नुपर्छ ?

सामाजिक संरचना र त्यसले निर्माण गरेको मानसिकता मुख्य हो । अवसरको कुरा पनि हो । हामीकहाँ कमै मात्र महिला शिक्षाको पहुँचमा छन् । सामाजिक वातावरण महिलाका पक्षमा छैन । छोरीलाई आत्मनिर्भर बनाउनुभन्दा पनि अर्काको घर जाने भनेर स–साना कुरामै विभेद गरिन्छ, यही सोचले महिलालाई खुम्च्याउने काम गरिरहेको छ । जबसम्म महिला मानसिक र सामाजिक रूपमा स्वतन्त्र हुँदैनन्, तबसम्म उनीहरूभित्रको क्षमता बाहिर आउँदैन ।

हामीकहाँ लेखनमा देखिने प्रवृत्ति पनि यही हो । महिला लेखन स्वतन्त्र छैन, प्रष्टै देखिन्छ । यो घेराबाट माथि उठेर महिला लेखनका लागि सहज वातावरण बनाउन, समान अवसर लिन आवश्यक छ । मिडियाले पनि महिला लेखनलाई अगाडि ल्याउन कन्जुस्याइँ गर्नुहुँदैन ।

 

कविता पढिँदैन, कविताको बजार छैन भनिरहेकै बेला तेस्रो कवितासंग्रह ल्याउनुभयो । हालको बजारलाई कसरी हेर्नुहुन्छ ?

यी हल्ला मात्रै हुन् । यदि हामी राम्रो लेख्छौं भने हामीलाई पाठकको अभाव कहिल्यै हुँदैन । राम्रा पुस्तक पढ्ने पाठक प्रशस्तै छन् । असली पाठक मौन बस्छन् र मूल्यांकन गर्छन् । ती थोरै भए पनि हाम्रा लागि प्रशस्त छन् । त्यस्ता पाठक र कृति दुवैको बजार छ ।

मभित्र कुनै महत्त्वकांक्षा छैन । जे देख्छु, जे भोग्छु, त्यो लेख्छु । कुनै उद्देश्य पूर्तिका लागि म लेखिरहेकी छैन । यद्यपि, समाजमा केही प्रेरणादायी योगदान दिन सकूँ भन्ने लाग्छ ।

तपाईं पछिल्लो समय गीत लेखनमा सक्रिय हुनुहुन्छ, कविताबाट कसरी गीतमा आकर्षित हुनुभयो ?

मलाई सबै विधामा कलम चलाउन मन लाग्छ । अझ कविता र गीत अन्तरसम्बन्धित छन् । मेरो हकमा केही संगीतकारहरूले नै गीत लेख्न आग्रह गरेकाले अहिले गीत लेखनमा समय खर्चिरहेकी छु ।

त्यसो त गीतबाट अभिव्यक्ति र भावना संप्रेषण गर्न सहज हुने भएकाले पनि मलाई गीतले तानेको हो । अहिले गीत श्रव्यसँगै दृश्यको समेत चलन आएको अवस्थामा मलाई केही नयाँ काम गरौं भन्ने पनि लागेको हो ।

कविता लेख्न सजिलो कि गीत ?

लेख्न केही पनि सजिलो हुँदैन । यसनिम्ति समय, चिन्तन र गहिरो अध्ययन चाहिन्छ । मूलतः कविता हृदय र मस्तिष्क दुवैले लेखिन्छ भने गीत हृदयले । प्रायः गीत भावनात्मक हुन्छन्, कविता वैचारिक । मेरा लागि त दुवै गाह्रो कुरा हो । लेख्न बस्दा कुनै सजिलो र कुनै धेरै नै गाह्रो भन्ने मलाई लाग्दैन ।

यसमा तपाइको मत

अन्य समाचार