जीवन भोगाई र राजनीतिक दाउपेचको सम्मिश्रण ‘जित्या पार्क’


पाँचथरे कलाकारहरुले बेसाहरा मजदुरको जीवन र राजनीतिक दाउपेचको केन्द्र बनाइएको सदरमुकामको पार्कलाई जोडेर ‘जित्या पार्क’ नाटक मञ्चन गरे ।

जिल्ला समन्वय समितिको पाँचथरको हलमा तीन पटक मञ्चन गरिएको जित्या पार्कले दर्शकको ठूलो साथ र माया त पायो नै, यस अतिरिक्त ‘स्थानीयता’ र संघीयताको आन्दोलनमा इटा समेत थपेको छ ।

‘जिते’ नामले सुपरिचित २० औँ वर्ष फिदिममा भरियाको रुपमा काम गरेका मजदुर जितबहादुर तावाहाङको मूख्य भूमिका तथा उनकै जीवनलाई मूख्य कथावस्तु बनाई नाटक निर्माण गरिएको थियो ।

जितबहादुरको गत वर्ष निधन भएको थियो । उक्त नाटकले जीतबहादुरको जीवन भोगाई, उनका समस्या र उनीप्रतिका वेवास्ताहरुलाई लामो समय विवादित बनेको जिल्ला समन्वय समितिको कार्यालय अघि निर्माण गरिने पार्कसँग जोडिएको छ ।

 

जितबहादुरले फिदिमवासीलाई ठूलो गुन लगाएपनि उनको जीवनको उत्तरार्धमा सहयोग गर्नेहरु सिमित मात्रै थिए । नाटकले उनको कष्टपूर्ण जीवन त्यहि पार्कमा वितेको, दुःख कष्टमा वेवारिसे महिला ‘भारपेनी माइली’ले मात्रै सहयोग गरेको, आफूले रात विताउँदै आएको पार्कलाई कहिले वीपी पार्क त कहिले इमानसिंह पार्क बनाइएपछि आक्रोशित जितबहादुरले राष्ट्रिय झण्डा फहराउँदै ‘जित्या पार्क’ घोषणा गरेको विषयलार्य मूख्य कथावस्तु बनाइएको छ ।

जितबहादुर र माइलीको ठेट बोलीचाली र व्यवहारलाई प्रस्तुत गरेर हास्यरस भर्न खोजिएको नाटकमा दलहरुको अड्डीका कारण उक्त पार्कको नामाकरणमा समस्या परेको, शारिरीक दुरावस्थाका बावजुत श्रम गर्ने जितबहादुरलाई ठग्ने र श्रमको मूल्य नदिनेमा प्रतिष्ठित व्यक्तित्वहरु रहेको उजागर गर्न खोजियो ।

सागर केरुङको लेखन, राज दिलाञ्जली र नवीन ढुङ्गेलको निर्देशन रहेको उक्त नाटकमा डी.आर. हाङसरुम्बा र अञ्जु आङ्देम्बेको मूख्य भूमिका रहेको छ ।

नाटकमा मधु केरुङ, सुनिता जवेगू, कमल घिमिरे, संघर्ष खतिवडा, कुमार ढकाल लगायत नाट्य क्षेत्रमा काम गरिरहेका कलाकारहरुले अभिनय गरेका छन् ।

‘लिम्बुवान’ पक्षधर तथा अन्य दलहरुले जिल्ला समन्वय समिति पाँचथर अघिको खाली जग्गालाई इमानसिंह पार्क नामाकरण गरेर किरात इतिहासकार इमानसिंह चेम्जोङप्रति सम्मान गर्नुपर्ने, ‘स्थानीयता’मा बल पु¥याउनुपर्ने माग गरेका थिए भने नेपाली काँग्रेसले उक्त जग्गालाई प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृति र सम्मानमा वीपी पार्क बनाउनुपर्ने मत राख्दै आएका थिए ।

पछिल्लो समयभने वीपी पार्ककै नाममा पार्क निर्माण कार्य अघि बढाइएको छ । जितबहादुरले यहि जग्गा आसपासमा धेरै रात कटाएका कारण थिए । पटक–पटक नाम परिवर्तन भएपछि आक्राेशित बनेका जितबहादुरले आफ्नै नाममा पार्क घोषणा गर्दा नाटक समाप्त भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार