बेगनासतालका एक युवाले मौरीपालन व्यवसाय गरेर बार्षिक १८ लाख आम्दानी


पोखरा । पढाइ सकेपछि जागिर खोज्दा कतै नपाएपछि कास्कीको पोखरा–लेखनाथ महानगरपालिका– ३१ बेगनासतालका एक युवा मौरीपालन व्यवसायमा लागेर उदाहरणीय कृषक बनेका छन् ।

सो ठाउँका कृषक सूर्यप्रसाद लामिछानेले बेगनास मौरीघार उद्योग सञ्चालन गरी मौरीपालन व्यवसायबाट वार्षिक रु १८ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । उनले अहिले ९० वटा घारबाट मह उत्पादन गर्दै आएका छन् ।

मह र मौरीका घार बेचेर ११ वर्षमै कमाएको पैसाले घर खर्च गरेर अहिले बेगनास तालचोकमा करिब रु एक करोड पर्ने घर घडेरी जोडेको लामिछाने बताउँछन् ।

दाजु टंक लामिछानेले मौरीको मह काडी खाँदै गरेको देख्दा मह खाने तथा मौरीपालन व्यवसायमा लाग्ने प्रेरणा जागेको उनको भनाइ छ । दाजुबाट दुई गोला मौरी किनेर उनले मौरीपालन थालेका हुन् ।

विसं २०६३ देखि व्यवसायमा लागेका लामिछानेले अहिले मौरीका घार निर्माण, मौरीजन्य सामग्री, झोला, टोपी, पञ्जा, मह निकाल्ने मदानी बिक्री तथा तालीम दिएबापत सेवा शुल्क लिने गर्छन् । वार्षिक २० किलो मह उत्पादन हुने गरेको लामिछानेले बताउँछन् ।

उत्पादनभन्दा बजारको माग बढी भएकाले बिक्री गर्न समस्या छैन । लामिछानेले पोखरा, लमजुङ, तनहुँ, बागलुङ, स्याङ्जा, काठमाडौँसम्म मह बिक्रीका लागि पठाउने गरेका छन् ।

एक वर्षमा रु ३० लाखदेखि रु ३५ लाखको कारोबार हुन्छ । उनकी श्रीमती लक्ष्मीले रु १५ लाखको लागतमा मौरी किचन कर्नर व्यवसाय सञ्चालन गरेका छन् ।

अध्ययन अवलोकन गर्नका लागि लामिछाने अमेरिका, जर्मनी, नेदरल्याण्ड, बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन, भियतनाम, चीन र भारत पुगिसकेका छन् ।

लामिछानेले आफ्नो अनुहारमा मौरीको गोला राखेर आनन्द लिने गरेका छन् ।

सुरु लेखनाथ उद्योग वाणिज्य संघको सहयोगमा सामान्य तालीम लिएका लामिछानेलाई उत्कृष्ट मौरीपालक कृषकका रुपमा गत वर्ष युवा परिषद्ले रु ५० हजार राशिको राष्ट्रिय पुरस्कारबाट पनि सम्मान गरेको थियो ।

स्नातक तह उत्तीर्ण गरेका ३३ वर्षीय लामिछाने मेहनत र परिश्रम गर्न सके आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने एक उदाहरणीय युवा उद्यमी कृषक बन्न सफल भएका छन् । उनले अहिले पाँचजनालाई रोजगारी दिएका छन् ।

जिल्लामा वार्षिक पाँच मेट्रिक टन मह उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत स्तुति आचार्य बताउँछन् ।

जिल्लामा अहिले चार हजार मौरीका आधुनिक घार रहेका छन् । बाह्य तथा आन्तरिक पर्यटक आउने हुनाले यहाँको उत्पादनले नपुग्ने र करिब २० देखि २५ प्रतिशत मह अन्य जिल्लाबाट आयात गरिँदै आएको उनको भनाइ छ ।

जिल्लाका ढिकुरपोखरी, ल्याङ्घलेल, सैमराङ, भाचोक, भरतपोखरी, बेगनास, थुमाकोडाँडा, पुम्दीभुम्दी, निर्मलपोखरी, किस्तीनाच्नेचौर, भदौरेतमागी, लामाचौर र घाचोक मह उत्पादनका पकेट क्षेत्र हुन् ।

जिल्लामा करिब रु एक करोड २० लाख बराबरको मह उत्पादन हुने गरेको बाली संरक्षण अधिकृत आचार्य बताउँछन् । रासस

यसमा तपाइको मत

अन्य समाचार